काठमाडौं-सरकारले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नोभेल कोरोना संक्रमणको जोखिम बढेको काठमाडौंसहित बढी संक्रमण देखिएका स्थान वा जिल्ला र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर ननिस्कन अनुरोध गरेका हुन्।
‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना बस्ति भएका ठाउँहरुमा घरबाट बाहिर ननिस्कनुहुन अनुरोध छ,’डा गौतमले भने, ‘केही दिन यता हाम्रो देशमा कोरोना पोजेटिभ दर बढी भएको छ।’
डा गौतमले कोरोना निको हुनेको संख्या पनि बढ्दै गएको बताए। तर कोरोना संक्रमण हुन नदिन सचेत हुनुपर्ने डा गौतमले बताए।
उनले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ८० प्रतिशतमा कुनै स्वास्थ्य समस्या नभइ निको भएको पनि बताए। उनले स्वास्थ्य समस्या नभएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बसेर पनि निको हुने बताए।
उनले कोरोना संक्रमितलाई भेदभाव नगर्न पनि आग्रह गरे। डा गौतमले कोरोना संक्रमणबाट बच्ने नागरिक आफैको जिम्मेवारी भएको पनि बताए। उनले नाक मुख छोपिने गरी मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन्। घर र कार्यालय भित्र प्रवेश गर्दा वा कुनै सामाग्री छोएपछि साबुनपानीले हात धुनुपर्ने उनले बताए।
उनले घर, कार्यालय, सार्वजनिक स्थलमा चिनेका तथा नचिनेका सबै व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न पनि आग्रह गरे।