काठमाडौं । काठमाडौँमा चारजनामा हैजा पुष्टि भएको छ । बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एकएक जनामा हैजा देखिएको हो ।
हैजा भएका चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेका कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । वागबजारका दुई जना १८ र २३ वर्षिय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एकएकमा मंगलबार हैजा देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताए । उनले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए । रासस