बुटवल-प्रदेश ५ का १२ जिल्लामध्ये कोरोना भाईरसको संक्रमण तीब्र रहेका ९ वटा जिल्ला रेड जोनमा परेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार रेड जोनमा परेका देशभरका ३२ जिल्ला मध्ये सबैभन्दा धेरै प्रदेश ५ का १२ जिल्ला मध्ये ९ जिल्ला रेड जोनमा परेका हुन्।
२ सय भन्दा बढी संक्रमित रहेका जिल्लालाई सरकारले रेड जोनको सूचीमा राख्ने गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ७ जिल्ला, प्रदेश २ का ८ जिल्लामध्ये ७ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्लामध्ये ३ जिल्ला, कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला, प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्ला र बाग्मती प्रदेशका १३ जिल्लामध्ये १ जिल्ला रहेका छन्।
प्रदेश ५ मा का १२ जिल्लामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा ७ सय ९८ जना, दाङमा ६ सय ३३ जना, पाल्पामा ५ सय ५९ जना, बाँकेमा ४ सय १३ जना र गुल्मीमा ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै अर्घाखाँचीमा ३ सय २८ जना, रुपन्देहीमा ३ सय ३५ जना, प्युठानमा ३ सय ३५ जना, बर्दियामा २ सय ३२ जना, नवलपरासी पश्चिममा १ सय २१ जना, रोल्पामा ७३ जना र रुकुम पूर्वमा १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश ५ मा बुधबारसम्म ४ हजार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ९ सय ४ जना निको भएर घर फर्किएका छन्।
प्रदेश ५ मा बुधबारसम्म ३ सय १५ जना सक्रिय संक्रमित रहेको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. उमाशंकर चौधरीले जानकारी दिए। उनीहरुको प्रदेश ५ का कोरोना विशेष अस्पतालहरुमा उपचार भइरहेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुका २ जना र रुपन्देहीका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए। पछिल्लो २४ घण्टामा अरु १० जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेका छैनन्।
प्रदेश ५ मा बुधबारसम्म २ जना संक्रमितको आइसीयूमा भर्ना गरेर उपचार भईरहेको छ।
२४ घण्टामा ४५ जना २ हप्ता क्वारेन्टिनमा बसेर घर फर्किएका छन् भने २ हजार २ सय ३८ जना क्वारेन्टिनमा रहेका छन्। प्रदेश ५ मा १ हजार १ सय ५० वटा क्वारेन्टिनमा २८ हजार ७ सय ८६ वटा बेड रहेका छन्।