मेरो नाम कृष्णकुमार पाशवान हो। तर, मेरी आमाले मलाई कन्हैया भनेर बोलाउनुहुन्छ। गाउँलेहरुले पनि त्यहीँ सिको गरेका छन्। त्यसैले कृष्णसँग भन्दा कन्हैयासँग म बढी जोडिएको छु।
मेरो घर कोटहीमाई गाउँपालिकाको वडा नं १ पुर्निहवामा छ। काकाले बनाएको एक तले पक्कीघरको पछाडिको भित्तामै जोडेर मेरा बाले पहिले नै एउटा छाप्रो बनाएका थिए। छाप्रोमा एउटा कोठा छ। कोठाको तीनतिर बाँस, अडहरको सिठा र खरलाई बाँधेर बाहिरबाट माटोले लिपेर बनाएका भित्ता छन्। एकतिर भने काकाको घरको पक्की भित्ता छ। कोठाको ठीक बाहिर खाली ठाउँ छ। बीचमा रहेको अर्को एउटा भित्ताले यो खाली ठाउँलाई दुईतिर पारेको छ। एकातिर खाना पकाउन भान्छा बनाएका छौं। अर्कोलाई पिँढी बनाएका छौं।
म तीन वर्षको हुँदा मेरो बाबाले हामीलाई छाडेर जानुभयो। उहाँले बनाएको छाप्रोमा म, आमा र दाईको परिवार बस्छौं। पिढीँमा रहेका दुई खटियामध्ये एउटामा दाई र भाउजु सुत्छन्। अर्कामा आमा सुत्नुहुन्छ। म दाईका दुई छोरी र दुई छोरालाई लिएर खाना पकाउने ठाउँको भुईँमा सुत्छु। कहिलेकाँही बाबा बाँचिरहेका भए कहाँ सुत्थे होलान् भनेर दाईको सानो छोराले सोध्छ। तर, यस्ता प्रश्नको मसँग जवाफ नै हुदैनन्। म चुपलागेर सुत् भन्छु। उ उता फर्केर सुत्छ।
म सानैदेखि मिर्गीको दीर्घरोगी हुँ। नियमित औषधी खाइरहेको छु। तर, कहिलेकाँही खाइन भने मुर्छा पर्छु। होस्मा आउन कम्तीमा ३ घण्टा लाग्छ। त्यो समयमा मलाई केही थाहा नै हुँदैंन। तर, औषधी भने निकै महंगो छ। कहिलेकाहीँ चाहेर पनि नियमित रुपमा खान सक्दिन।
नियमित औषधी र घरको खर्च चलाउन दाईसँग मिलेर सानैदेखि नै काम गर्नुपर्ने भयो। तीन कक्षासम्म मात्र पढेकाले अन्य कयौं अदक्ष कामदारहरुले जस्तै अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आइरहेको छु।
केही वर्ष अगाडि घरमा आमा र भाउजुलाई छाडेर म पनि दाईसँगै दिल्लीको एउटा पूरानो सिलाईकटाईको दोकानमा काम गर्न गएँ। नयाँ दिल्लीको रेल्वे स्टेशनदेखि ५ किलोमिटर पूर्व सिलमपूरमा रहेको एउटा टेलरमा दाईसँग मैले सिलाई कटाईका धेरै कुरा सिकेँ। अब दोकानमा मैले अरुले भन्दा छोटो समयमा धेरै ‘नाईट गाउन’ सिलाउन सक्ने भएको छु। ‘टेलर’मा नसकिएका कति काम त मैले आफ्नो कोठामा नै लगेर पनि सिध्याउने गर्थेँ। दुकानको नजिकै कोठा ल्याएका थियौं । दाई र म त्यहीँ बस्थ्यौं।
कोरोना भाईरस र लकडाउन
कोरोना भाइरसको गाईँगुईँ हामीले दोकानमा काम गर्दा गर्दै सुनेका थियौं। मैले कुर्थाको लागि कपडा काटिरहेको थिएँ। यत्तिकैमा साहु आएर चीनमा नयाँ भाइरसका कारण मान्छे मरिरहेको सुनायो। उसले भारतमा पनि आउन सक्ने बतायो। कपडा काटिरहेका हामीलाई त्यो समाचारले धेरै तान्न सकेन। केहीबेरमा दिमागबाट त्यो कुरा हराइसकेको थियो। किनभने हामीले यसअघि त्यस्ता केही कुराहरु हुनसक्छन् भन्ने सुनेका थिएनौं।
त्यसको केही हप्तामा साहुले फेरि अर्को समाचार सुनायो। यसपटक उसले दक्षिणमा रहेको केरला प्रान्तमा संक्रमित फेला परेको बतायो। केरला सरकारले मान्छेहरुको आवतजावत नै रोकेर ‘लकडाउन’ गरेको सुनायो। यस विषयमा हामीले केहीबेर कुराकानी गर्यौं। कोरोना भाइरस के रहेछ भन्ने थाहा पायौं । यो पटक हामी केही डराएका थियौं। चीनबाट केरला आइपुगेको भाइरस त्यहाँबाट दिल्ली आईपुग्न कति नै बेर लाग्न सक्थ्यो र!
फेब्रुअरी महिना चलिरहेको थियो। घरबाट भाउजु बिरामी परेको फोन आयो। पेटमा समस्या देखिएकाले अस्पताल लैजान पर्ने भएपछि दाई नेपाल फर्कनु भयो। म त्यहाँ एक्लै भएँ। बिहानैदेखि काममा जान्थेँ। अबेरमात्रै कोठामा फर्कन्थेँ।
मार्च महिना लाग्दासम्म दिल्लीसहित भारतका आधा दर्जन प्रान्तमा कोरोना फैलिसकेको थियो। हामीले काम गरिरहँदा साहुले अब भारत पूरै लकडाउनमा जान सक्ने बताउँथ्यो। लकडाउन भएपछि दोकान बन्द गर्नुपर्ने चिन्ता व्यक्त गथ्र्यो। उसका कुरा सुन्दा पूरै विश्व एउटा ठूलो संकटतर्फ अगाडि बढेको भान हुन्थ्यो। तर, यसमा हाम्रो हिस्सा कति हुन्छ भनेर हामीले बुझ्ने कुरा आएन। त्यसैले खुरुखुरु कपडा काट्न थाल्थ्यौं।
मध्य मार्च तिरको कुरा हो। मैले भर्खर ‘स्टीच’ गरिएका सुटका कपडामा ‘ईन्टरलक’ गर्दै थिए। भित्र अर्को कोठामा काम गरिरहेको साहुले केही चर्को आवाजमा चिच्यायो। उसले अर्को हप्ता एक दिनका लागि सरकारले ‘जनता कफ्र्यु’ लगाएको बतायो। जनता कफ्र्यु के हो? मैले बुझिन।
मेरो छेवैको मेसिनमा बसेको भाईले सोध्यो–‘यो कस्तो कफ्र्यु हो?’
‘खै, त्यो त थाहा छैन’–साहु चिच्यायो।
यो कस्तो कफ्र्यु हो आउँदो हप्तासम्म मलाई थाहा भएन।
२२ मार्चको दिन बिहान ९ बजेदेखि नै दिल्ली एकाएक सुनसान बन्यो। सधैं व्यस्त रहने नयाँ दिल्लीको रेल्वे स्टेशन शुन्य थियो। कोठाबाट निकै पर देखिने बाटोमा स्कुटरको अगाडि पानीका ४÷५ वटा जार बोकेर एउटा केटाले रफ्तारमा स्कुटर चलाइरहेको थियो। त्यो सुनसानमा उसले हाँकेको स्कुटरको आवाज निकै बेर आइरह्यो। त्यसबाहेक त्यहाँ न त गाडीका आवाज, न त मानिसको कोलाहल। रेलका कर्कश आवाज पनि कतै सुनिएनन्। म दिल्ली गएपछि यस्तो सुनसान पहिलोपटक महसुस गरेको थिएँ।
साहुले कफ्र्यु १४ घण्टाको लागि भएकाले कफ्र्यु सकिएपछि भोलि मात्र काममा आउन भनेको थियो। त्यसदिन म काममा गइन। साँझपख रेडियोमा एउटा गीत बज्ने कार्यक्रम सुनेर बसिरहेको थिएँ। कार्यक्रम बिचैमा रोकियो। अनि प्रधानमन्त्री नरेन्द्र मोदी बोल्न लागे। उनले निकै गम्भीर हुँदै २१ दिनको लागि देशभर लकडाउनको घोषणा गरे। प्रधानमन्त्रीले निकै भावुक हुँदै महामारीको गम्भिरतालाई बुझेर लकडाउनको पालना गर्न देशवासीलाई आग्रह गरेका थिए।
साहुले उत्तिखेरै फोन गर्यो। ‘सरकारले लकडाउन गरेको छ, भोलिदेखि काममा नआउनु’–उसले भन्यो ।
‘कहिलेसम्म?’ मेरो प्रश्नमा उसले भन्यो–‘थाहा छैन, काम गर्न मिल्ने भयो भने म आफैं फोन गर्छु।’
उसले फोन राख्यो। कोठामा एक्लै थिएँ। मन बेचैन बनेको थियो। भोलिदेखि लकडाउन हुने भएकाले आजै केही किनेर ल्याउँछु भनेर बाहिर निस्किएँ। बाहिर पसलहरुमा निकै भीड थियो। मानिसहरु तछाडमछाड गरिरहेका थिए। धेरै बेरको तानातान र कोलाहलपछि १० किलो चामल र २ किलो दाल किनेर कोठामा फर्किएँ।
लकडाउनको बीचमा एक दिन फेरि साहुले फोन गर्यो। कोठामा बस्दा दिक्क लागेको भए काममा फर्कन भन्यो। तर, पैसा भने लकडाउन नसकिँदासम्म दिन सक्दिन भन्यो। म भोलिपल्टै काममा गएँ। त्यसपछिका केही दिन दिनभर काम गर्ने र साँझ कोठामा फर्कने गर्न थालेँ।
लकडाउनको समय सकिन लागेको थियो। तर, साहुले भने दिनहुँ कोरोनाका बिरामी थपिदैं गएको सुनाउथ्यो। ‘दिल्लीका अस्पतालमा मानिसहरु मर्न थालेका छन्। त्यहाँका डाक्टर र नर्सहरुलाई पनि कोरोना लाग्यो रे! सहरभरि भाइरस फैलिएको छ। अब हेलिकप्टरबाट औषधी छर्न लागेका छन् रे’–एक दिन साहुले यस्तै अरे अरेका कुरा सुनायो। उसका कुरा सुन्दा अवस्था निकै गम्भीर भइरहेको भान भयो। उसका कुराले मेरो मन निकै अशान्त बनाउथ्यो।
प्रधानमन्त्री मोदीले बताएअनुसार लकडाउन सकिने दिन थियो १४ अप्रील। त्यअघिको दिउँसो मोदीले भाषण गरिरहेको भन्दै भित्रबाट साहु मोबाइलमा रेडियो बजाउँदैं निस्कियो र हामी कामदार भएका कोठामा आयो। एउटा मेसिनको पल्लामा मोबाइल राख्यो। अनि आफू छेवैको कुर्चीमा बस्यो र ध्यान दिएर सुन्न लाग्यो। एकैछिनमा मोदीले मे ३ सम्म लकडाउन बढाएको घोषणा गरे। उनको आवाजमा यसअघि भन्दा थप गम्भीरता थियो।
मोदीको भाषणले मलाई चिन्तित बनायो। कोठामा एक छाकलाई पुग्नेमात्रै खाना थियो। त्यसैले केही दिनदेखि साहुकोमा नै खाइरहेको थिएँ। मैले नियमित खाने औषधी पनि सकिएको थियो। त्यसैले मिर्गीको समस्या दोहोरिने सम्भावना थियो। खानेकुरा र औषधी किन्ने पैसा थिएन। साहुले यो पटक पैसा नदिने भनिसकेको थियो। बाहिर निस्के पुलिसको लठ्ठी खाईने अवस्थामा अरु काम खोज्ने स्थिति थिएन। त्यहाँ बसेर भोकै मर्ने निश्चित थियो। मोदीले भाषण नसक्दै अब जसरी पनि घर जानै पर्छ भनेर मनमा निर्णय गरिसकेको थिएँ।
साँझ कोठातिर फर्कदा घर जानैपर्छ भन्ने सोँच अझैं दरिलो बनेर आयो। घर पुग्न सकिँन भने कोरोना भन्दा पहिले भोकले नै मर्छु जस्तो लाग्यो। त्यसैले मैले आँट गरेँ। बाटोमा जे जति सकस परेपनि अब घर जानैपर्छ भनेर आफैसँग अड्डी कँसेको थिएँ। पुलिसले समातेर जेल हाले भनेपनि बरु त्यहाँ खान त पाइन्छ भन्ने सोँचे।
अनिश्चित यात्राको आरम्भ
लामो यात्रा सुरु गर्ने दिन बिहानभर मैले पटियाला सुट सिलाउने काम गरिरहेको थिएँ। मैले ६० पिस बनाउनु पथ्र्यो। त्यस दिनसम्म ४० पिस बनाइसकेको थिएँ। सिलाउदैं गरेको कपडालाई यत्तिकै छाडेर म कोठामा फर्कें। फर्कनु अघि साहुसँग ५ सय रुपैयाँ मागेको थिएँ।
कोठामा केही चामल बँचेको थियो। खाना बनाएँ। खाना खाईवरी झोला कसेँ। झोलामा मेरा कपडामात्रै राखे। लामो दूरीको यात्रा थियो त्यसैले धेरै समान बोक्दिन भन्ने सोँचेको थिएँ। तर, बाटोमा सुत्नु पर्ला भनेर चालमको बोरा काटेर च्यादरजस्तो बनाएँ। निस्कने बेलामा भान्छामा बँचेको एउटा कागती झोलाको छेउको गोजीमा छिराएँ र झोला बोकेँ। झोलालाई चामलको बोराले माथिबाट ढाकेँ। अनि ढोका लगाएर ठीक ११ बजे आफ्नै देश नेपाल छिर्ने ठूलो आशा बोकेर त्यहाँबाट निस्किएँ।
सडक नै सडकको सञ्जाल भएको दिल्लीमा कुन सडक नेपालतर्फ जान्छ भन्ने थाहा पाउन निकै सकस थियो। त्यसैले मैले रेल्वे ट्रयाक समातेँ किनभने यसभन्दा पहिले दिल्ली आउँदा गाजियावाद हुँदैं रेलले नयाँ दिल्ली ल्याउने थाहा पाएको थिएँ। नयाँदिल्लीदेखि पूर्वतिर सिलमपुरसम्म आएको रेल्वे ट्रयाकलाई त्यहाँबाट पछ्याउदैं साहदरा, बिकेनगर, रामपुरी, साहिबावाद, अमबेड्कर पार्क, माधोपुरा हुँदैं गाजियावादसम्म हिडेँ। त्यहाँ आइपुग्दा साँझको ८ बजिसकेको थियो। शरीर लखतरान परेको थियो। खुट्टा अगाडि बढ्न चाहिरहेका थिएनन्। रात यतै कतै बिताउने मनसायले रेल्वे ट्रयाक छाडेर केहीबेर वस्ती भएतर्फ लागेँ। १० मिनेट अझैं हिडेपछि हाईवेमा एउटा मन्दिर देखेँ। दुर्गामाईको मन्दिर रहेछ। त्यहाँ झलमल्ल बत्ती बलेको थियो। पछाडिपट्टि भित्तामै जोडाएर राखेको धारो पनि रहेछ।
झोलाको तुनाले मेरो कुममा गहिरो घाउ बनाएजस्तै दुखिरहेको थियो। धेरै कपडा बोकेकोमा आफैसँग भाउन्न पनि उठ्यो। मन्दिरको अगाडि चामलको बोरा बिछ्याएँ र त्यसैमाथि झोला गङग्रङ्ग फालेँ।
मन्दिरमा त्यहाँका सडक बालबालिका र केही वृद्धहरु पनि थिए। उनीहरुले आफ्नो सुत्ने ठाउँ सुरक्षित पारिसकेका थिए। मैले भने छोडिएको ठाउँमा बोरा बिछ्याएको थिएँ।
म झोलामा अडेस लगाएर पल्टिरहेको थिएँ। केही बेरपछि उनीहरुलाई खाना बाढ्न केही मानिसहरु आए। उनिहरुका हातमा पहेँलो प्लास्टिकका पोकाहरु थिए। उनीहरुले टाढैबाट मन्दिरमा सुत्ने तरखर गरिरहेका व्यक्तिहरु छेउ ती पोकाहरु फालिरहेका थिए। खाना बाँड्ने को हुन् ? मैले भेउ पाउन सकिँन। तर, खाना पाइरहेका व्यक्तिहरुको प्रतिक्रिया देख्दा यहाँ पहिलोपटक खाना बाँडिएको भने होइन भन्ने बुझेँ।
एउटा पोको मेरो छेउमा आयो। बाहिरदेखि पहेँलो देखिएपनि वास्तवमा प्लास्टिक सेतो रहेछ। त्यहाँ राखिएको खिचडीले त्यसलाई पहेँलो बनाएको रहेछ। मैले मिठो मानी–मानी खिचडी खाएँ। थोरै पानी पिएँ अनि झोलालाई टाउकामा राखेर फेरि पल्टिएँ।
मेरो छेवैमा एउटा बुढो मान्छे सुतिरहेको थियो। हेर्दा निकै झुत्रे देखिन्थ्यो। कुमसम्मै कपालका लट्टा झरेका थिए। दारी छातीसम्मै आइपुगेको थियो। काला भन्दा सेता रौं बढी देखिन्थे। शरीर मैलो न मैलो थियो। उसबाट दुर्गन्ध आइरहेको थियो। ऊतर्फ ढाड फर्काएर मैले सुत्ने कोसिस गरेँ।
राती ठूलो र लगातारको खोकीले मलाई ब्युँझायो। अघिकै बुढो एउटा हातले छाती च्यापेर लगातार खोकिरहेको थियो। सुत्नेबेलामा भन्दा अहिले उसको कपाल झनै बिग्रिएको थियो। मैले पानी खान भनेँ। तर उसले मानेन। अनि म फेरि पहिलेकै अवस्थामा सुत्ने कोशिश गरेँ।
लामखुट्टेको टोकाई र बुढाको खोकाईले मलाई यो रात निकै लामो बनाइदिएका थिए। त्यसैमाथि भोलि आफ्नो बाटो कसरी पहिल्याउने भन्ने चिन्ताले मन भारी भइरहेको थियो। त्यै पनि थाकेको शरीर! बिहानपख भने आँखा लागे।
बिहान ४ बजे नै उठेँ। मन्दिरकै धारामा मुख धोएँ। अनि त्यहाँबाट बाटो लागेँ। गन्तव्य निकै लामो थियो। हिँड्दै हिँड्दै मन्दिरबाट १२ किलोमिटर टाढा मसुरी भन्ने ठाउँमा आएँ। गाजियावाद भन्दा अझैं पूर्वमा पर्छ यो ठाउँ।
त्यहाँ मैले एउटा ट्रली देखेँ। ड्राईभर सिटमा ४५ वर्ष जति देखिने अधबैंशे बसेको थियो। हेर्दा गुजराती जस्तो देखिन्थ्यो। मैले उसलाई चढाउन आग्रह गरेँ। धेरै आनाकानी नगरीकनै उसले मान्यो। तर, धेरै अगाडिसम्म जाने रहेनछ। ८ किलोमिटर जति हिडेपछि मलाई उतारिदियो। ‘यहाँबाट मलाई अर्को बाटो जानुपर्छ। तिमीले अरु सवारीको व्यवस्था गर’–उसले भन्यो।
त्यहाँ उत्रेपछि थप एक किलोमिटर हिडेपछि तीन वटा ट्रक उभिइरहेको देखेँ। तीमध्ये दुईवटामा प्याज ‘लोड’ थियो। ती ट्रकका ड्राइभरले मलाई लैजान माननेन्। उनीहरुले ट्रकमा ठाउँ छैन भने। तर अर्को भने खाली थियो। त्यसमा एक बोरा मात्रै प्याज थियो। ड्राइभरले लैजान त सक्ने तर पैसा भने दिनुपर्ने शर्त राख्यो। ‘हुन्छ मैले तपाईलाई पैसा दिन्छु। तर, सय रुपैयाँ भन्दा दिन सक्दिन। तपाईँ जहाँसम्म्म जानुहुन्छ मलाई लगिदिनुहोस्’–मैले उसको शर्तमाथि शर्त राख्दै भनेँ। त्यसपछि बल्ल उसले म कहाँबाट आएको र कहाँसम्म जाने भनेर बुझ्न खोज्यो। आवेग र पीडा मिश्रित स्वरमा मैले मेरो जिद्दि नछाडेकाले ऊ मेरो कुरामा गम्भीर बनेको थियो। अन्तिममा भन्यो–‘बरेलीसम्म जादैं छु, हिँड जाउँ।’
ड्राइभरलाई सुनेर म निकै खुसी भएँ। बरेली अर्थात् मैले धेरैपटक सुनेको ठाउँ। नेपालदेखि दिल्ली जाँदा आउँदा गाडीबाट झरेर खाना खाने ठाउँ। नेपालको करीब तर मेरो घर देखि अझैं टाढा।
ट्रकमा चढेपछि मनमा राहत पलायो। पछाडि राखेको प्याजको बोरामा अडेस लगाएर बसेँ। गाडी हिड्यो। रातभरको ट्रक यात्रामा मलाई निन्द्रा लागेन। अस्ती राती मन्दिरको खिचडीबाहेक पेटमा केही परेको थिएन। त्यसैले भोक निकै लागेको थियो। भोको मान्छेलाई कहाँ निन्द्रा पर्छ र! तरपनि गन्तव्यतर्फ अघि बढिरहेको थिएँ। भोकका कारण घर पुग्ने उत्साहलाई मर्न दिन हुन्थेन। त्यसैले सुतेँ, निन्द्रा नलागेपनि।
बिहान ११ बज्दा म बरेली आइपुगेँ। भोक लागिरहेको थियो। तर, पनि सुर्ता थिएन। त्यहाँसम्म आईपुग्नुको उत्साहले अझैं टाढा पुग्नसक्छु भन्ने जाँगर पलाएको थियो। त्यसैले म हतारिदोँ थिएँ। जसरी भएपनि गोरखपुर पुग्नु थियो। त्यहाँ पुगियो भने त हिँडेरै भएपनि घर पुग्छु भन्ने लागेको थियो। गोरखपुर पुग्ने चाहनाले मेरो भोकलाई समेत जितेको थियो।
बरेलीमा तीन घण्टा म गाडीको खोजीमा भौतारिएँ। ट्रक, ट्याङ्कर, ट्रिपर, साना निजी गाडीहरु जे–जे भेटेँ सबैसँग आफ्नो दुःख देखाएँ। हात जोडेँ। २ सय रुपैयाँसम्म दिन्छु पनि भने। तर, अस्वीकृत भएँ। अब हिड्नुको विकल्प रहेन जस्तो लागेर झोला बोकेँ र हिड्न थालेँ।
हिँडेको केही बेरमा सडकको किनारमा रोकिराखेको एउटा ट्रक अलिक परैबाट देखेँ। चालकको सिटबाट धुँवाको मुस्लो गुजुल्टिएर झ्यालबाट बाहिर निस्कइरहेको थियो। बरेलीमा मरिसकेको आशा त्यो ट्रक देखेपछि फेरि ब्यूँतियो। आशा न हो पलाउन बेरै नलाग्ने रहेछ! म ट्रक नजिक गएँ। औषधी बोक्ने ट्रक रहेछ।
ड्राईभरले ट्रकमै गाँजा खाइरहेको थियो। उ एक्लै थियो। झट्ट हेर्दा २८÷२९ वर्षको जस्तो देखिन्थ्यो। उसलाई मैले आफू कहाँबाट कसरी आएको र अब कहाँ जाने भनेर सबै बेलीविस्तार लगाएँ। मैले कुरा सक्नासाथै उसले केही भन्न मुख खोलिसकेको थियो। उसलाई मैले रोकेँ र भने–‘मसँग दुईसय मात्रै छ पकेटमा, यतिले जहाँसम्म लगिदिन सक्नुहुन्छ लगिदिनुस्।’
गाँजाको असर हो कि उसको स्वाभाव नै त्यस्तो हो छुट्याउन सकिँन तर, मप्रति निकै नरमभावमा प्रस्तुत भयो उ। उसले भन्यो–‘म बिहारसम्म जाँदैं छु हिँड गोरखपुरसम्म लगिदिउला, पैसा दिनु पर्दैन।’
म बुरुक्कै उफ्रिएँ। उसले कुरा सक्न नपाउँदैं ट्रकको अगाडिको सिटमा बसिसकेको थिएँ। एकै छिनमा गाडी स्टार्ट भयो। ड्राइभरले बाटोमा गाँजा खाँदै ट्रक चलाइरहेको थियो। उ बरेली कै रहेछ। ध्यान भने मेरो कुरामा भन्दा गाँजामा नै धेरै दिइरहेको थियो।
१२ किलोमिटर जती हिडेँपछि ड्राइभरले एउटा चिया दोकान अगाडि गाडी रोक्यो र चिया खान जाउँ भन्यो। गाडी नै नरोकी एकै झोक्कामा गोरखपुर पुर्याइदिए हुन्थ्यो जस्तो लागेको भएनपनि मैले नाई भनिन। माटोको चुलोमा बलिरहेको दाउराको लप्कामा दुध चिया उमालीरहेको साहुजीले दुई वटा प्लास्टिकका गिलासमा चिया छान्यो र हामी भएको ठाउँमा ल्याइदियो। ड्राइभरलाई चिनीको मात्रा चित्त बुझेन। दुई चम्चा चिनी फेरि थप्न पठायो। गुलियो चिया आएपछि सुर्की तान्यो र हुन्छको भावमा चिया पसलेलाई २० रुपैंया हातमा थमाईदियो।
दोस्रो सुर्की चिया तानेपछि ड्राइरले मतिर फर्केर भन्यो–‘साहुले मलाई आज बिहार नजान भनेको छ। तिमी जाउँ यहाँबाट म फर्कनु पर्ने भयो।’
केहीबेर अगाडि गाडी चलिरहेकै बेला ड्राइभरलाई एउटा फोन आएको थियो। गाडीको चर्को आवाजले गर्दा उसले के के बोल्यो मैले मेसो पाएको थिइनँ। कति–कति बेला गहुँ, फसल, बिहार, जस्ता शब्द मेरा कानमा परेपनि गाडीको घ्यार..घ्यारमा बिलाएर गएका थिए।
ड्राइभरले फेरि अर्को सुर्की चिया खायो र हातमा भर्खरै सल्काएको चुरोट तान्यो। धुँवा फाल्दै उसले विस्तारमा भन्यो–‘साहुले आज घरमा गएर गहुँ र अरु फसल स्याहार्न भनेको छ। पर्सी बल्ल उता जाने रे!’
गोरखपुर पुग्ने मेरो उत्साह क्षमणभरमै मर्यो। मैले भने–‘दाई अब मेरो के हुन्छ ? कसरी घर पुग्छु ? रात पर्न लाग्यो, कहाँसम्म हिडौं ? कहाँ गएर बसौं ?’
उ एकछिन मौन रह्यो। आफूलाई चिया र चुरोटमा केन्द्रित गरायो। केहीबेर पछि उसले भन्यो–‘यहाँ एउटा प्रहरी चौकी छ। त्यहाँ गएर उनीहरुलाई समस्या सबै समस्या भन। उनीहरुले केही न केही उपाय लगाइदिन्छन्।’
मैले उसलाई चौकी देखाइदिन अनुरोध गरेँ। उसले जाउँ म छाडिदिन्छु भन्दै गाडि स्टार्ट गर्यो । चौकीभन्दा केही वर मलाई छाडिदियो र फर्किहाल्यो। गाडीमा गाँजा भएकाले चौकीको छेवैमा रोक्न डराएको थियो।
गाडीबाट झरेपछि एकैछिनमा अनिश्चित बनेको गन्तव्यबारे सोँच्दै चौकीसम्म पुगेँ। तर, सिधै भित्र जान मनले मानेन। लकडाउनमा हिड्दा पुलिसले केही गर्ने हुन् कि भनेर डराएको थिएँ। चौकीको साटो त्यहीँ अगाडि रहेको ढावामा पुगेँ।
होटेलको अगाडि उसले केही परिकारहरु सजाएर राखेको थियो। माटोको ठूलो चुलोमा जोरेका दाउराबाट आगोका लामा लामा लप्का उठिरहेका थिए। मैले मैलो गञ्जी र धोती लगाएको ढावाको साहुसँग केही खान दिनुहोस् न भने। उसले के खाने भनेर सोध्न नपाउँदैं मैले आफूसँग पैसा नभएको बताएँ ताकी खाएर सकेपछि उसको मन खिन्न नहोस्। तर, पैसा नभएको थाहा पाएपछि उसले मलाई त्यहाँबाट धपाउन खोज्यो। पुलीसलाई ल्याएर कुटाई खुवाउछु भनेर धम्की दियो। धेरै नबोली म त्यहाँबाट निस्के।
अब मसँग पुलिसलाई गुहार्नुबाहेक अरु उपाय थिएन। रात छिप्पीदो थियो। बाहिरैबाट चौकीमा दुई जना पुलिस देखेको थिएँ। त्यतैतिर लम्किएँ। पुलिसहरु ३० र ३५ बर्षका जस्ता देखिन्थे। उनीहरुसमक्ष मेरा तीन दिनका बारेमा वेलीविस्तार लगाएँ। त्यसपछि केही बढाइचढाई गरेर ढावाको साहुले मप्रति गरेको दुर्व्यवहारको पनि पोल लगाएँ।
पुलिसलाई दया लागेछ क्यारे। मेरो पाखुरामा समाउँदैं ढावातिर लगे र एउटा टेवलमा बस्न भने। साहुले आगोबाट दाउरा निकाल्दै थियो। पुलिसहरु त्यहीँ पुगेर उसलाई अपशब्दमा झपारे। केहीबेर चर्को आवाजमा कराएपछि ‘चार वटा राम्रो रोटी र एक कटौरा दाल’ बनाएर मलाई दिन साहुलाई निर्देशन दिए।
साहुले ४ वटा तन्दुरी रोटी र एक कटौरा दाल ल्याएर म बसेको टेवलमा ल्याइदियो। पलभरका लागि उसका ठूला आँखा मेरा आँखामा गाड्यो र त्यहाँबाट फर्कियो।
चारवटा तन्दुरीले मेरो पेट भरियो। गएर हात धोएँ। मैले रोटी नसकुञ्जेल पुलिसहरु ढावामा नै बसे। केहीबेरमा पुलिसको इसारामा सडकमा राखेको ‘ब्यारियर’मा आएर एउटा ट्रक रोकियो। ५० वर्षको जस्तो देखिने ड्राइभरले ट्रकमा औषधी बोकेर बिहार जादै रहेछ। पुलिसले बिहारसम्म मलाई पनि छाडिदिन ड्राइभरसँग अनुरोध गरे। नरम भाषामा भनेकाले होला सुरुमा ड्राइभरले मानेन।
‘म बिहार जान्छु सर। रुट फरक पर्छ। उसलाई लैजान मिल्दैन’- ड्राइभरले भन्यो।
तर, पुलिसले उसको कुरा सुनेनन्। मलाई गाडीमा बस्न भने। मलाई गोरखपुर लगेर छोडेपछि मात्रै बिहार जान ड्राइभरलाई निर्देशन दिए। आफूहरुले ट्रकको नम्बर लेखेर राखेको भन्दै उसलाई धम्क्याए पनि। निर्देशन पाएपछि ड्राइभरले गाडी स्टार्ट गर्यो। मैले हात जोडेर पुलिसलाई धन्यवाद दिदैं थिएँ। ड्राइभरले गाडी घुइँक्याई हाल्यो।
अब गोरखपुर जान पाइने भइयो भनेर मेरो मन चङ्गा भइरहेको थियो। मैले गोरखपुरसम्म पुग्नुलाई नै आफ्नो मुख्य गन्तव्य बनाएको थिएँ। किनभने त्यहाँबाट हिडेरै भएपनि घरसम्म पुग्छु भन्ने आँट आएको थियो।
गोरखपुरसम्म पुगिने बलियो आशा र अघि भर्खर पेटभर खाएको तन्दुरी रोटीले मलाई निन्द्रा लाग्ने बनाएका थिए। ड्राइभरसँग धेरै कुरा गर्न पनि नपाई म भुसुक्कै निदाएछु।
भोलिपल्ट बिहान ११ बजे मलाई ट्रकवालाले गोरखपुरको स्टेशनभन्दा ५ किलोमिटर वरै झर्न भन्यो। म झरेँ। त्यहाँबाट हिडेर मुख्य बजारमा पुगेँ। त्यहाँ बजार सबै सुनसान थियो। पुलिसहरु भने जताततै देखिन्थे। पुलिसहरुसँग सकेसम्म भेट नहोस् भनेर म भित्री गल्लीको बाटो छिचोलिरहेको थिएँ। केहीबेरमा फेरी मुख्य सडकमा नै निस्किएँ।
त्यहाँ एउटा ट्रक आउँदैं गरेको देखेँ। ब्रान ‘अनलोड’ गरेर आउँदै रहेछ। ट्रक अगाडि नै गएर रोकेँ र ‘लिफ्ट’ दिन हात जोडेँ। बस्न इसारा गर्दै मलाई पछाडिको ढाला खोलिदियो। त्यहाँबाट उसले आनन्दनगरसम्म ल्याइदियो। आफूभने अर्कै जिल्ला जाने भनेर बेपत्ता भइहाल्यो।
पुलिसलाई छल्दै हिड्दासमेत आनन्दनगरमा तीन जनासँग जम्काभेट भइहाल्यो। पिटाइ खाइने भइयो भनेर खुट्टा लुला भए। एउटाले थर्काइहाल्यो–‘कता जान हिँडेको?’ मेरो सातो गयो। नेपाल जान हिँडेको भनौं भने झन् पिटाइ खानसक्थेँ। त्यसैले ढाटेँ।
‘सर म कुल्हुई जान्छु’–मैले भने।
‘पैदल हो ?’–अर्काले अघि सर्दै सोध्यो।
सिधै पिट्न छाडेर प्रश्नोत्तर गर्न लागेपछि मेरो डर मथ्थर भयो। थोरै आँट निकालेर भने–‘हो सर, दिल्लीबाट आएको।’
‘कोल्हुई कता हो तिम्रो घर ?’ उनीहरुले मैले ढाँटेको हो कि होईन भनेर जाँच्न खोज्दै थिए।
मैले भने–‘त्यहाँ एउटा सागर स्टुडियो छ। सागर स्टुडियोको पछाडि मेरो घर छ।’
मलाई कोल्हुईको बारेमा धेरै थाहा थिएन। तर, मेरो मामाको छोरीको घर त्यहीँ हो। भिनाजुले त्यहाँ सागर स्टुडियो चलाउँछन्। मलाई त्यति मात्रै थाहा थियो। त्यसैले मैले ढाटेँर उनीहरुलाई सागर स्टुडियो आफ्नो भएको र त्यहीँ पछाडि मेरो घर भएको बताएको थिएँ।
‘तिम्रो बाउको नाम के हो ?’ उनीहरु सहजै मान्नेवाला थिएनन्।
मैले बाबुको साँचो नाम बताए।
त्यसपछि लगातार दाईको, मेरो र आमाको नाम सोधे। मैले सबैको साँचो नाम बताएँ। आफ्नै मान्छेको नाम झुटो बोल्न आउँदैन रहेछ।
मैले सबैको उत्तर फटाफट भनेपछि उनीहरु मेरो घर कोल्हुईमा नै रहेकोमा विश्वस्त देखिए। कोल्हुई मर्चवार क्षेत्रसँगै जोडिएको भारतीय गाउँ हो। त्यहाँ र मर्चवार क्षेत्रमा बोलीने भाषामा फरक छुट्याउन गाह्रो हुन्छ। त्यही भएर होला पुलीसले म नेपाल हिडेँको भेउ पाउन सकेनन्।
सबै सोधिसकेपछि उनीहरुले केहीबेर त्यहाँ रोकिन भने । कुनै सवारी आएमा त्यसमा पठाइदिने आसा देखाए। डरले लुला भएका मेरा खुट्टाले फेरी जमिन टेक्न थाले।
एकैछिनमा एउटा पेट्रोल ट्यांकर आयो। पुलिसले रोके। ट्याङ्कर बिहारको बेतिया जिल्लाबाट आएको थियो। मेरो अनुभवमा पेट्रोल ट्याङ्कर वालाले कसैलाई पनि बसाल्दैनन्। तर, पुलिसको आग्रहमा उक्त ट्यांकरले मलाई लैजान तयार भयो। त्यहाँ ड्राइभरसँग खलाँसी पनि थियो। म पनि बसेपछि तीन जना भयौं। उनीहरुले मलाई कोल्हुईसम्म ल्याइदिए।
कोल्हुई आएपछि मलाई धेरै राहत महसुस भयो। घरको सामिप्यमा छु भन्ने अनुभूत भएकाले हुनसक्छ डर निकै कम भएको थियो। भलै हिड्न भने अझै धेरै थियो।
त्यहाँ पनि एउटा पुलिससँग भेट भयो। तर, आनन्दनगरमा जस्तो डर लागेन। उसले सोधेका सबै प्रश्नको साँचो उत्तर दिएँ।
‘कसरी जान्छौं नेपाल ?’ उसले सोध्यो।
‘म बर्डरहुँदैं हिँडेर जान्छु’-म डराइन।
उ केही नबोली बस्यो। जा पनि भनेन। नजा पनि भनेन। म बाटो लागेँ। बर्डरमा रहेका पुलिसहरुले जसरी भएपनि रोक्छन् भन्ने सोँचेर होला उसले सजिलै जान दिएको।
म त्यहाँबाट चन्दनपुर आएँ। यो कोल्हुईबाट पश्चिममा पर्छ। त्यहाँ एउटा चौधरी आफ्नो घर अगाडिको आँपको रुखमा उभिइरहेको थियो। कोल्हुईबाट हिँडेर त्यहाँ आउँदासम्म म लखतरान थिएँ। आँपको रुखमा केहीबेर बिसाउने विचार गरेँ।
आँपको रुखमुनि चौधरीले टाढैबाट मेरो बारेमा सोध्यो। मैले सबैकुरा भनेँ। त्यसमा पनि अन्तिममा आज जसरी पनि घर पुग्छु भन्ने कुरालाई अलिक जोड दिएर भनेको थिएँ। उसले ममाथि सहानुभूति देखायो।
उसले भन्यो–‘घरमा पुरी र सब्जी पाकेको छ, खाएर जाउ।’
मलाई भोक लागेको थिएन। पानी मात्रै खान्छु भनेँ। उसले मेरो हालत देखेर केही नखाई नहिँड्न आग्रह गरिरहेको थियो। घरमा पुरी सब्जी पाकेको छ भनेर तीन पटक दोहोर्यायो।
मलाई केही खान मन लागेको थिएन। तर, तिर्खा भने निकै लागेको थियो। मैले उसलाई पानी ल्याइदिन आग्रह गरेँ। उसले लोटामा पानी ल्याएर म भन्दा निकै पर राखिदियो। मैले त्यसमा चिनी पनि मिसाइदिन आग्रह गरेँ। उसले एक पसर चिनी ल्यायो र पानीमा राखेर घोल्यो। एउटा प्लास्टिकको गिलासमा पानी राखेर टाढैबाट म भए छेउ राखिदियो। मैले दिल्लीबाट निस्कदाँ झोलामा राखेको कागती निकालेर पानीमा निचोरेँ। निकै तिर्खाएको थिएँ क्यार एकैसासमा डेढ लिटर सर्वत पिएँ। अनि एक पटक पुरा सास फेरे।
चौधरीले बोर्डरसम्म पुग्ने बाटो देखाइदियो। म हतार हतार उसले भनेकै दिशातिर बाटो लागेँ।
साँझको साढे ३ बजे तीर म नौतनवाको ठोठरी बोर्डर आएँ। त्यहाँ मलाई पुलिसले रोक्यो र सोधखोज गर्न लाग्यो।
‘कहाँ जाने ?’ थर्काउँदैं उसले भन्यो।
‘नेपाल हो सर’ मैले भनेँ,‘मर्चवारमा मेरो घर छ त्यहीँ जाने हो।’
‘कहाँबाट आएको ?’ उसैगरी फेरि सोध्यो।
‘कोल्हुईमा मेरो फूपुको घर छ, त्यहाँबाट फर्कदैं छु’-मैले उसँग झुट बोलेँ–‘लकडाउनले गर्दा त्यहाँ फसेँको थिएँ, तर, आज घर नफर्की हुँदैन भनेर निस्किएको हुँ, घरमा आमा बिमार हुनुहुन्छ।’
त्यहाँसम्मको यात्रामा पुलिससँग अभ्यस्त भएर हो या घर जाने दृढ सोँच मैले ठम्याउन सकिनँ। तर, ममा उसलाई मनाउन सक्छु भनेर आँट आएको थियो।
‘तँलाई केही समस्या त छैन ? जुखाम, बुखार, केही ?’-उसले सोध्यो।
मैले भने– ‘म यहीँ उभिएको छु, तपाईले चेक गर्नुस्, केही समस्या देखिन्छ भने थानामा नै राखिदिनुस्, नत्र भने छाडिदिनुस् घर पुग्नु छ, आमालाई अस्पताल लैजाने भनेर मलाई घरमा कुरिरहेका छन्।’
आमाको कुरालाई उसले विश्वास गरेन या त थप सवाल जवाफ गर्न चाहेन त्यो बारेमा उसले सोधेन।
उसले भन्यो–‘कस्तो कुरा गरेको ? बोर्डर सिल छ भन्ने थाहा छैन ?’
मैले केही आवेग र केही पिडा मिसिएको स्वरमा भनेँ–‘मलाई एक घण्टा यहीँ राखेर हेर्नुहोस्, एक पटकमात्रै पनि खोकी लाग्यो भने जेलमा राखिदिनु।’
उसले एक घण्टा राखेन। मलाई जान दियो।
त्यहाँबाट हिँडेँ। अरु पुलिसले रोक्छन् कि भन्ने लागेर मेरा पाइलाको रफ्तार निकै बढाएको थिएँ। बोर्डर पार गरेँ। नेपाल छिरेँ। वर्षैदेखि खुट्टामा चिलिरहेको काँडा एकैपटकमा निकालेर फालेको जस्तो भयो। अब भने मेरो झोला त्यति गर्हौ लागेन। पीडाभित्र पनि छुट्टै स्वतन्त्रता हुदोँ रहेछ!
कचरीहवामा मेरो मौसी (सानीमा)को घर छ। त्यहाँ म ५ बजे आइपुगेँ। पुग्नासाथै उनीहरुले मेरो लागि बाख्राको खोरमा एउटा खटिया राखिदिएँ। म त्यहीँ बसेँ। खाना पनि त्यहीँ खाएँ। भोलिपल्ट ४ बजे नै उठेँ र घर जान्छु भने।
मौसीले रोक्न चाहिनन्। ‘ठीक छ बाबु जाउ, घरमा नै तिमीलाई राम्रो हुन्छ’-उनले भनिन्। मैले नमस्कार गरेँ र बाटो लागेँ।
त्यसपछि म गैडहवा ताल आएँ। त्यहाँ मेरो दिदीको घर छ। म त्यहाँ आइपुग्दा सात बजेको थियो। दिदीलाई बाटोबाटै बोलाएँ। उनी मलाई देखेर छक्क पर्दै नजिक आउन खोजिन्। तर मैले रोकेँ र टाढै बस्न भनेँ। त्यहीँबाटै उनलाई मैले सबै कुरा सुनाएँ।
दिदिले मलाई खाना खाएर मात्रै हिड्न भनेकी थिइन्। तर, मलाई कतैपनि रोकिन मन लागेको थिएन। घरमा कतिखेर पाइला टेकौं भइरहेको थियो। त्यसैले मैले दिदीलाई खाना खान्न भनेँ। बरु बीचमा कतै सडक नपर्ने खेतै खेतको बाटो बताइदिन आग्रह गरेँ। मैले पुलिससँग फेरि भेट होस् भन्ने चाहेको थिइनँ। यहाँ उनीहरुले मान्छे कुटिरहेका थिए।
दिदीले बाटो देखाइदिइन्। केहीबेर खेतैखेत हिडेँपछि बिजगौरी आए। बिजगौरीमा मेरो पुरानो साथी अखिलेश हरिजनको ससुराली छ। उसको बिहेमा दुलही लिन उ र म मात्रै यहाँ आएका थियौं। हाम्रो रिवाजमा मारुती लिएर ७/८ जना जाने चलन छ। तर हामी भने साइकल लिएर आएका थियौं। त्यसबेला त्यहाँ राम्रोसँग चिनजान भएको थियो। म उसको ससुराल पुगेँ।
त्यहाँ साथीको सासुले खाना खाएर मात्रै जान कर गरिन्। मनले नमान्दा नमान्दै पनि एउटा रोटी र केही भात खाएँ। अनि अखिलेशको कान्छो सालोलाई साइकलमा मलाई छोडिदिन भनेँ। उसले मलाई मर्चवारको बेतकुईयाँसम्म ल्याइदियो।
म त्यहाँबाट हिडेँपछि अखिलेशलाई सासुले फोन गरेकी रहिछन्। मलाई लिन भनेर साथी बेतकुईयाँ आएको थियो। बेतकुइयाँदेखि अलिक वरको वोग्दिया घाटसम्म म साथीसँग आएँ। त्यहाँ मेरो दाई साइकल लिएर उभिइरहनु भएको थियो। पहिलो भेटमा नै उहाँले भन्नुभयो–‘हिड् म तलाई सिधै मझगावाँको स्कुलमा लिएर जान्छु।’
दाईलाई मैले गुरु मान्दै आएको छु। आजसम्म उनले भनेका कुरा नकारेको छैन। सिधै घर जान मनलाग्दा लाग्दै पनि यस पटक पनि उनलाई नकार्न सकिनँ। साईकलको पछाडिको सिटमा बसेँ र क्वारेण्टिन बनाइएको मर्चवार आदर्श माध्यमिक विद्यालय तर्फ हिँडे। साथी हात हल्लाउँदै घरतर्फ हिँडिसकेको थियो।
क्वारेण्टिन बसाई
तीन किलोमिटर साइकलमा हिँडेपछि म क्वारेण्टिनमा आइपुगे। त्यहाँ नाम दर्ता गरेर नास्ता खाएँ र अब १४ दिन यहीँ बिताउने भनेर मानसिकरुपमा आफूलाई तयार गरिरहेको थिएँ। घरमा आमालाई नभेटी सिधैं त्यहाँ आउनु पर्दा मलाई त्यति ठीक लागेको थिएन।
क्वारेण्टिनमा तुनिहवाको, हर्दी, सानो मझगावाँ, नौडिहवालगायतका क्षेत्रका मानिसहरु थिए। उनीहरुलाई निश्चित घेराभित्र एउटा समय तालिकामा बाँधेर राखिएको थियो। म पनि त्यसैमा अभ्यस्त हुँदै थिएँ। घर जाने दिन कुरिरहेको थिएँ।
क्वारेण्टिनमा बसेको १४ दिन पछि मेरो स्वाब लिइयो। त्यहाँ रहेका अन्य सबैको आरडिटी गरिएको थियो। तर, मेरो भने ‘ट्रभल हिस्ट्री’को कारण देखाउँदै पिसिआर गरिने भयो।
मलाई कुनै पनि किसिमको लक्षण देखिएको थिएन । तर, क्वारेण्टिनमा आएको एक दिनपछि एकपटक मेरो शरीर ज्यादै दुखेको थियो। मैले क्वारेण्टिनका स्वास्थ्य कर्मीलाई यो कुरा भनेको थिएँ। तर, लामो दूरीको हिडाई र थकानका कारणले त्यसो भएको हुनसक्ने भनियो। तरपनि दुखाई कम गर्न मलाई पारासिटामोल दिइएको थियो।
स्वाब दिएको अर्को दिन अर्थात् १५ औं दिनमा मलाई फेरि दौरा पर्यो। मिर्गीको औषधी दिल्ली हुँदा नै सकिएकाले नखाएको धेरै दिन भएको थियो। त्यसैको असर देखिन थालेको थियो। स्वास्थ्यकर्मीले प्लास्टिकले मेरो मुख र नाक ढाकिने गरी छोपिदिए। ३–४ घण्टापछि मेरो होस् आयो। त्यहाँ कोरोनाका कारण यस्तो भएको भनि सबै अत्तालिए। तर, मलाई के भइरहेको छ भनेर थाहा थियो।
भोलिपल्ट सोह्रौ दिन म छतमा बसिरहेको थिएँ। घडीँमा ४ बजिरहेको थियो। तलबाट एउटा भाई हस्याङ् फस्याङ गर्दै म छेउ आयो। उसलाई मैले त्यहीँ बस्दा साथी बनाएको थिएँ। उसले ईन्जिनियर नुरु खानले मलाई बोलाएको भन्दै झट्टै तल आउन भन्यो। नुरु खानको घर भैरहवा हो। उसले त्यहाँ क्वारेण्टाइनको व्यवस्थापन गर्थ्यो। हामी सबैले उसलाई इन्जिनियर भन्थ्यौं।
म तल आएँ। ईन्जिनियरले फेरि सोध्यो–‘कृष्ण कुमार पाशवान कसको नाम हो ?’
मैले हात उठाएर केही अगाडि बढेँ।
‘तिम्रो स्याम्पल अस्पतालले मानिरहेको छैन। तिमी आफैं बुटवल गएर स्याम्पल दिएर आउ’–ईन्जिनियरले उभन्दा केही पछाडि उभिइरहेको एम्बुलेन्सतिर ईसारा गर्दै भन्यो।
मैले त्यति मेसो पाइन। आज रिपोर्ट आउने दिन तर, उनीहरुले स्याम्पल मिलेन भनिरहेका थिए। कतै मलाई कोरोना संक्रमण भएको त होइन भन्ने शंका नलागेको होइन। तर, १५ दिनसम्म क्वारेण्टाइनमा बस्दा कुनै पनि लक्षण नदेखिएकाले कोरोना होइन भन्नेमा करीब करीब ढुक्क थिएँ। त्यसैले मैले ईन्जिनियरलाई पत्याएँ।
म जान तयार भएँ। एम्बुलेन्स अगाडि चालकले हेलमेट, मास्क र पञ्जा पहिरिएको थियो। उसले गाउन लगाउने तरखर गर्दै थियो। मैले सोँचे–‘ड्राइभरले किन यस्तो सुरक्षा किन लगाएको होला!’
मलाई केही रहस्यमय लाग्यो।
म जंगिए–‘कुरा के हो भन्नुहोस् न। रिपोर्ट पोजिटिभ आएको हो भने सिधैं भन्नुहोस्।’
तर, उसले स्याम्पल नमिलेको भएर म आफै जानु परेको भन्ने कुरा दोहोर्याइरहेको थियो। उ मसँग कुरा गरुञ्जेल अरु दिनभन्दा निकै पर बसिरहेको थियो। उसको अनुहारमा डरको भाव झल्किरहेको थियो। उसले केही सानो आवाजमा मेरा सबै कपडाहरु लिएर जान भन्यो।
यो रहस्यमयी समयमा मनमा शंका र केही भय लिएर एम्बुलेन्समा बसेँ। एम्बुलेन्स बिस्तारै अगाडि बढ्दै गयो। तर, अचम्म बाटोमा कोही मान्छे देखिएनन्। मझगावाँ चौराहा त झन् पुरै सुनसान थियो। लकडाउनमा समेत भिँड हुने ठाउँमा आज एउटै मान्छे नदेख्दा म झनै डराएँ।
एम्बुलेन्सको पछाडिको शिशाबाट हेरिरहेको थिएँ। बाटोमा त के घरको आँगनमा समेत मान्छेहरु देखिन। मैले सोँचे–‘यो के भइरहेछ ? मान्छे कता गए ?’ मेरो मन डराइरहेको थियो। तर, आफूलाई केही पनि नभएको भन्नेमा ढुक्क पनि थिएँ।
आइसोलेसनको बसाई
मलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो। त्यहाँ एउटा एक्सरे गरियो। पीपीई लगाएकी नर्शले थप जाँचको लागि भन्दै एक सुई रगत पनि लिइन्।
त्यहाँबाट मलाई धागो कारखानामा रहेको आईसोलेसन अस्पतालमा लिएर गइयो। सुरुमै डा. सुदर्शन थापा भेट्न आउनुभयो। उहाँले भन्नुभयो–‘बाबु अब तिमी यहीँ बस्छौं। तिम्रो औषधी यहीँ हुन्छ। हामीले निको बनाएरै पठाउँछौं।’
मलाई रहस्यमा राखेकोमा झनक्क रिस उठ्यो।
मैले भने–‘के को औषधी हुन्छ ?’
‘तिमी नडराउ। तिमीलाई हामी निको गरेर पठाइदिन्छौं।’ उनले फेरी त्यहीँ दोहोर्याए।
‘निको बनाउने चाहिँ के हो ?’ मलाई धेरै नै रिस उठेको थियो।
बल्ल उनले भने–‘तिमीलाई कोरोना पोजिटिभ देखिएको छ। लक्षण भने देखिएको छैन। आत्तिन पर्ने अवस्था छैन। त्यति सारो लक्षण देखिएको छैन।’
अहिलेसम्म मलाई लागेको शंका सबै सत्य सावित भएको थियो।
‘कति दिन लाग्छ ?’–मैले सोधेँ।
‘आठ–दश दिन लाग्न सक्छ’-जवाफ आयो। झट्टै आमालाई सम्झिएँ। घर सम्झिएँ। अनि एकाएक निराश भएँ। मलाई आइसोलेसनमा लगियो।
आइसोलेसनमा पहिलो दिन मलाई चना र अण्डाको नास्ता दिइएको थियो। तर, म शाकाहारी त्यसैले खान्न भने। बरु बिस्कुट र चिया ल्याइदिन भने। त्यसपछि बिहानै बेलुका मेरो नास्ता बिस्कुट र चिया हुन थाल्यो। १२ बजे खान दिन्थे। खानामा दाल, भात, तरकारी, चटनी र काटेको काँक्रो हुन्थ्यो।
मैले मेरो तापक्रम, शरीरमा अक्सिजनको मात्रा र रक्तचाप आफैले नाप्नु पर्थ्यो। दिनमा ४ पटकसम्म यस्तो गर्नु पर्थ्यो। यसका लागि नर्सहरु शुरु र रियाले मलाई सिकाइदिएका थिए। भित्तामा एउटा माइक र स्पिकर राखेको थियो। त्यहीँबाट उनीहरुले सबै कुरा सिकाइदिन्थे।
पाँचौं दिनका डा. सुदर्शन थापाले एउटा किप्याड मोबाइल दिनुभयो। त्यसमा एउटा सिम थियो। ब्यालेन्स पनि राखेर दिएका थिए। मैले घरमा दाईलाई फोन गरेँ। दाईले मलाई सुरुमा नै गाली गर्नुभयो। दिल्लीदेखि नआउनु पर्नेमा दुख पाउन आईस् भन्दै झपार्नु भयो।
मलाई बुटवल ल्याएपछि मेरो घरका सबैजनालाई क्वारेण्टिनमा ल्याइएको रहेछ। ५५ वर्षकी आमालाई समेत क्वारेण्टिनमा ल्याएको दाईलाई चित्त बुझेको थिएन। त्यसैको आक्रोश ममाथि पोखिरहनु भएको थियो। त्यसैमाथि आमालाई क्वारेण्टिनमै छँदा पाठेघरबाट रगत बगेको रहेछ। त्यसले त्यहाँ झनै अन्यौल थपेको थियो।
‘दिल्लीमा बस्न निकै सकस थियो। त्यसैमाथि घरमा आमाको मुख भएपनि हेरौंला भनेर आएको। त्यहाँ के खाएर बाँच्ने ?’- दाईलाई भनेँ।
दाईले आमालाई फोन दिनुभयो। आमा बोल्न नसक्ने गरी रुनुभयो। त्यो सुनेर म आफैं बोल्न नसक्ने भएँ। घाँटीमा अनौठो चाप महसुस गरेँ। यदि बोलेको भए हिक्कामात्रै छुट्न सक्थ्यो।
केहीबेरपछि स्वर दवाउँदै आमालाई नरुन भने। ‘म छिट्टै आउँछु। मलाई केही भएको छैन। परीक्षणमा मात्रै पोजेटिभ देखाएको हो। म एकदमै ठीक छु’-मैले भने।
‘कहिले फर्कन्छौं ?’ उस्तै दवेको स्वरमा सोध्नुभयो।
मैले भने–‘थाहा छैन आमा। तर छिट्टै फर्कन्छु।’
यति भनेर फोन राखेँ। तर, बोल्न अझैं मन थियो।
नाचेर चर्चामा
रिया र शुरु निकै फरासिला थिए। उनीहरु २०-२२ वर्षका देखिन्थे। उमेर भने सोधेको थिइनँ। मैले उनीहरुलाई साथी बनाइसकेको थिएँ। धागो कारखानाको विशाल हलमा एक्लै बस्दासमेत उनीहरुले मलाई एक्लो हुन दिएका थिएनन्।
एक दिन सुरुले भनिन्–‘कृष्ण दाई गाना लगाइदिम् ?’
मैले भने–‘नाई मलाई गीत मन पर्दैन।’
साँचो भन्नुपर्दा अस्पतालमा रहँदा मलाई परिवारको ज्यादै याद आइरहेको थियो। उनीहरु क्वारेण्टिनमा थिए। यसको कारण म आफै हो भनेर हीनताबोध भइरहेको थियो। त्यसैले संगीत र मनोरञ्जनतिर ध्यान गएकै थिएन। यहीँ कुरा चाल पाएर सुरु र रियाले मलाई मानसिक रुपमा तन्दुरुस्त राख्न संगीत सुन्न आग्रह गरेका थिए।
सुरुले फेरि भनिन्–‘कृष्ण दाई एउटा गाना त सुन्नुस्।’
उनीहरुले यसै छाड्दैनन् भन्ने लागेर एउटा शर्त राख्दै हुन्छ भने। मेरो शर्त थियो–‘गाना नै चलाउने हो भने मलाई मन पर्ने गाना हुनुपर्छ।’
उनीहरुले हुन्छ भनेपछि मैले ‘कसरी कसरी’ भन्ने बोलको गीत फर्माइस गरेँ। यो गीत मैले पहिलो पटक कहाँ सुने भन्ने त याद छैन। तर, म दिल्ली हुँदाखेरि अरुको मोबाइलबाट डाउनलोड गरेर मेरो मोबाइलमा राखेको थिए।
उनीहरुले गीत बजाइदिए । रियाले फेरि भनिन्–‘दाई नाच्नुस् न।’
उनीहरुले माइकमा मोबाइल बजाएर गीत सुनाएका थिए । आवाज निकै सानो थियो। त्यसैले मैले त्यति सानो आवाजमा नाच्न सक्दिन भनेँ।
तर, उनीहरुले यसै छाड्नेवाला थिएनन्। रियाले फेरि आग्रह गरिन्–‘दाई मेरो लागि भएपनि एक पटक नाचिदिनुहोस् न।’
उनीहरुको मन राख्न म नाँचे। म नाचेको बाहिर राखिएको सीसीटिभीमा देखिएको रहेछ। उनीहरुले त्यहीँ सिसिटीभिबाट खिचेर भिडियो बनाएका रहेछन्। सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भएको रहेछ।
यता गाउँमा भने म मरेको भनेर हल्ला फैलिइरहेको रहेछ। अस्पतालले प्लास्टिकमा बेरेर राखेको छ भनेर गाउँमा हल्ला फैलिएको थियो। तर, म नाँचेको भिडियो देखेपछि भने दाईले भन्नुभएछ–‘प्लास्टिकमा बेरेर राखेको छ भन्थे। तर, कहाँ मर्छ र मेरो भाई यति सजिलै। उ त यहाँ नाचिरहेको छ।’
यो कुरा मेरो दाईलाई भिडियो देखाएको मेरो साथीले म घरमा आएपछि मलाई सुनाएको थियो। आइसोलेसनमा त्यसपछिका दिनमा दैनिक दुईपटकसम्म नाच्न थालेँ।
डिस्चार्ज हुँदाको दिन
म आइसोलेसनमा बस्न थालेको पाँचौं दिनसम्म एक्लै थिएँ। छैठौं दिनको दिन कपिलवस्तुको तौलिहवाबाट तीन जना संक्रमित आए। एघारौं दिनसम्म पुग्दा त्यो संख्या बढेर ३६ जना पुग्यो। एघारौं दिनसम्म मेरो दुई वटा रिपोर्ट नेगेटिभ आएका थिए। तर, संक्रमितको संख्या बढेपछि फेरि भाइरस सर्नसक्ने जोखिम उत्तिकै थियो। त्यसैले मलाई छुट्टै राख्न डाक्टरहरुसँग आग्रह गरेँ। डाक्टरहरुले भोलिमात्रै मलाई अन्यत्र सार्न सक्ने आश्वासन दिए।
आइसोलेसनमा बसेको दसौं दिन तेस्रो परीक्षणका लागि मेरो स्वाब लिएका थिए। १२ औं दिनमा रिपोर्ट आयो। मलाई लगातार तीन पटकसम्म नेगेटिभ देखिएको थियो। खुसीको खबर लिएर सुरु आइन्।
उनले भनिन्–‘तपाई निको हुनुभएको छ। प्रदेश कै पहिलो संक्रमित भएकाले तपाईँको बिदाईको लागि बाहिर धेरै जना जम्मा भएका छन्। आउनुहोस् अब घर जाउँ।’
मलाई खुसी लाग्यो। कोरोनासँग बँचियो भन्ने खुसीभन्दा घर आमालाई भेट्न पाउँछु भन्ने खुसी अत्याधिक थियो। अब घर पुगेर आमालाई अस्पताल लैजान सक्थेँ। कोरोनाले त म यसै पनि मर्नेवाला थिएन। किनभने मलाई सञ्चो हुँदासम्म कुनैपनि लक्षण देखिएकै थिएन।
बेलुका सात बजे मलाई सबैले बिदाई गरे। त्यहाँ डा. सुदर्शन थापा, डा. कृष्ण थापालगायत नर्सहरु र अस्पतालका अन्य व्यक्तिहरुले फूल दिएर अस्पतालको एम्बुलेन्समा मलाई बिदाई गरे । घर आइपुग्दा रातको ९ बजेको थियो ।
(गत बुधबार कृष्णकुमार पाशवानको घरमा बसेर लुम्बिनी टाइम्स डट कमका लागि जीवराज चालिसेले गरेको कुराकानीका आधारित। उनको अनुमतिमै उनको तस्वीर र परिचय सार्वजनिक गरिएको हो।उनीसँग कुराकानी गरेर फर्केपछि कृष्ण कुमारकी आमाको सोही दिन मृत्यु भएको खबर पासवानले दिएका थिए।)