बुटवल–मुलुकमा लकडाउन भएको ४० दिनपछि प्रदेश ५ मा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। २०७७ वैशाख १९ गतेरुपन्देही र बाँकेमा कोरोना संक्रमित फेला परे।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ७ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसको २ दिनपछि बाँकेमा एकै पटक १५ जना संक्रमित फेला परे। अन्य जिल्लाहरुमा पनि संक्रमितहरु थपिँदै गए।
बाँके र कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्यो। हालसम्म प्रदेश ५ मा ४ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित कपिलवस्तुमा ७ सय ५६ जनामा देखियो। त्यसपछि दाङमा ६ सय ५३ र पाल्पामा ५ सय ५५ जनामा संक्रमण देखियो। सबैभन्दा कम रुकुम पूर्वमा १५ जनामा संक्रमण भयो ।
निको हुने दर ९३.४३ प्रतिशत
प्रदेश ५ मा हालसम्म देखिएका ४ हजार १ सय ४२ संक्रमितमध्ये ३ हजार ८ सय ७० जना निको भएर घर फर्किसकेका छन्। अहिले सक्रिय संक्रमित अर्थात् आइसोलेसनमा उपचाररतको संख्या २ सय ५९ रहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। कुल संक्रमितको तुलनामा निको हुने दर ९३.४३ प्रतिशत हो।
हालसम्म सबैभन्दा बढी संक्रमित देखिएको कपिलवस्तुमा निको हुने दर सबैभन्दा बढी ९८.४१ प्रतिशत छ। कपिलवस्तुका ७ सय ५६ संक्रमितमध्ये अहिले १२ जना मात्र आइसोलेसनमा उपचाररत छन्। ७ सय ४४ जना निको भएर घर फर्किसकेका छन्।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दाङ जिल्लामा १ सय ४ जना आइसोलेसनमा छन् । दाङमा संक्रमितको संख्या ६ सय ५३ रहेको छ। त्यसैगरी बाँकेमा ४ सय २ बाट घटेर २० जना मात्र सक्रिय संक्रमित रहेका छन्। हाल सक्रिय संक्रमितमध्ये रुपन्देहीमा २१ जना, प्युठानमा ८ जना, गुल्मीमा ५ र अर्घाखाँचीमा ४ जना रहेका छन्। यी जिल्ला ३ सय भन्दा बढी संक्रमित पुगेका जिल्ला हुन्।
त्यसै गरी बर्दियामा २९, नवलपरासीमा १८, रोल्पामा २०, र रुकुम पूर्वमा ७ जना संक्रमित रहेका छन्।
रित्तिदै कोरोना अस्पताल र आइसोलेसन सेन्टर
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा अहिले एक जना मात्र संक्रमित उपचाररत छन्।
अस्पतालको आइसियु कक्षमा एक जनाले उपचार गराईरहेको र साधारण आइसोलेसनका सबै बेड खाली रहेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए।
‘अहिले दाङका ५७ वर्षिय पुरुषमात्र अस्पतालमा उपचाररत हुनुहुन्छ, उहाँमा उच्च रक्तचाप र स्क्रब टाइफस पनि छ–उनले भने–अरु सबै बेड खाली छन्।’
कोरोना विशेष अस्पतालमा सामान्य आइसोलेसनतर्फ ३६ र आइसियुमा ८ वटा बेड रहेका छन्। हालसम्म अस्पतालमा ८० जना संक्रमितले उपचार गराएका छन्।
रुपन्देही र कपिलवस्तुमा संक्रमित बढेसँगै कोरोना अस्पताल पनि भरिएको थियो। त्यस पछि भैरहवाको भीम अस्पताल, बुटवल देवीनगरको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइएको थियो। त्यस पछि स्थानीय स्तरमा आइसोलेसन बनाएर संक्रमितहरु राख्न थालिएको थियो।
कोरोना अस्पतालमध्ये भैरहवाको भिम अस्पताल अहिले खाली भइसकेको छ। भीम अस्पतालले अरु नियमित सेवा पनि सुरु गरिसकेको छ। खजुरा क्यान्सर अस्पताल बाँकेमा १३ जना र दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा १६ जना उपचाररत छन्।
जिल्ला तथा स्थानीय स्तरमा सञ्चालित धेरै आइसोलेसन सेन्टरहरु अहिले खाली भएका छन्। रुपन्देहीमा रहेका १६ वटा आइसोलेसन सेन्टरमध्ये १३ वटा आइसोलेसन सेन्टर रित्तिएका छन्। कपिलवस्तुका १५ आइसोलेसन सेन्टरमध्ये १२ वटा खाली भएका छन्। बाँकेका १३ वटा आइसोलेसनमध्ये नेपालगञ्ज आदर्शनगरको डीसीसीएमसीबाहेक सबै खाली भएका छन्। पाल्पाका २५ वटा आइसोलेसन सेन्टरमध्ये २१ वटा आइसोलेसन सेन्टर खाली छन् । प्रदेशका अन्य जिल्लाका आइसोलेसन सेन्टर पनि खाली हुँदैछन्।
क्वारेन्टिनहरु पनि रित्तिदै
कोरोना भाइरसका कारण मुलुकमा लकडाउन हुनभन्दा पहिले पनि भारत र अन्य मुलुकबाट नेपालीहरु स्वदेश आउन थालेका थिए।
लकडाउनको शुरुमै आएकाहरु क्वारेन्टिनमा बसेका थिए। लकडाउनपछि लुकिछिपी नेपाल भित्रिनेको संख्या पनि ठूलो थियो। पछि सरकारले आफै पहल गरेर भारतबाट नेपालीहरु ल्याएको थियो।
प्रदेश ५ का १२ वटा जिल्लामा १ हजार ३ सय वटा क्वारेन्टिनहरु रहेका छन्। यी क्वारेन्टिनमा करिब ४ हजार बेड छन्।
तर ती बेडहरु खाली हुँदै क्वारेन्टिन पनि रित्तिएका छन्। सबैभन्दा बढी २०७७ जेठ २० गते प्रदेशभरका क्वारेन्टिनमा ४१ हजार ८८ जना थिए। अहिले घटेर ३ हजार ८९ जना रहेका छन्। क्वारेन्टिनमा रहेकाहरुलाई आरडीटी तथा पिसिआर परिक्षण गरी घर पठाइएको थियो।
अहिले स्थानीय स्तरमा रहेका धेरै क्वारेन्टिनहरु पनि खाली भएका छन्। क्वारेन्टिनमा बसेका र संक्रमितको सम्पर्कमा आएका मध्ये हालसम्म ५१ हजार ५ सय ९४ जनाको पिसिआर र ७८ हजार ४ सय ९८ जनाको आरडिटी परीक्षण भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।
जोखिम उस्तै
प्रदेश ५ मा क्वारेन्टिन र आइसोलेशन सेन्टरहरु रित्तिदै छन्। विदेशबाट आउनेहरु बसेका क्वारेन्टिन र उपचार गराईरहेका आइसोलेशन सेन्टरहरु रित्तिएपनि जोखिम भने कम भएको छैन। भारतबाट लुकिछिपी आउनेहरु आइरहेकै छन्। प्रदेश सरकारले समुदायस्तरमा नमूना संकलन गरेर परीक्षण गर्ने बताएपनि परीक्षण थालेको छैन।
यही क्रममा भारतको बेंगलोरबाट आएका एकजनामा कोरोना संक्रमण देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा शुल्क तिरेर परीक्षण गराउन गएका एकजना युवामा कोरोना संक्रमण देखिएको हो। उनी भारतबाट बिरामी भएर नेपाल आएका थिए।
आउनेबित्तिकै अस्पतालले चासो नदेखाएपछि मेडिकलमा परीक्षण गराउँदा उनलाई टाइफाईड भएको देखिएको थियो। त्यसपछि उनी बुटवलका सार्वजनिक स्थलहरुमा पनि पुगेका थिए। तर, काठमाडौं जानका लागि अस्पतालमा पीसीआर परीक्षण गराउन गएका उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनीसँगै आएका अरुलाई भने संक्रमण देखिएको छैन।
यस्तै नेपालगञ्जमा क्वारेन्टिनभन्दा बाहिरका एकजना विद्यार्थी र गैरसरकारी संस्थामा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले गरेको ‘र्यान्डम स्याम्पलिङ’ मा आएका उनीहरुमा कोरोना देखिएको हो। दुवै जना क्वारेन्टाइनमा बसेका थिएनन्। जिल्ला स्वास्थ्य कार्यालयले महेन्द्र बहुमुखी क्याम्पसमा गरेको ‘र्यान्डम स्याम्पलिङ’ मा चेक गर्न आएका उनीहरुमा कोरोना देखिएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
१८ वर्षका विद्यार्थी नेपालगञ्ज–१२ मा बस्छन् भने ४० वर्षका गैरसरकारी संस्थामा कार्यरत व्यक्ति नेपालगञ्ज–११ मा बस्छन्। यसअघि नेपालगञ्ज–१८ की २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको थियो। उनी पनि ‘र्यान्डम स्याम्पलिङ’ मा आएकी थिइन्। उनीपनि घरमै बसिरहेकी थिइन्।
बाँकेमा क्वारेन्टाइनमा नबसेका व्यक्तिको जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। घरमा बसिरहेका व्यक्तिमा कोरोना देखिँदा जोखिम बढेको छ।