म सागर ढकाल हुँ। म फेब्रुअरीमा योग सिक्न भारतको बेंगलोर गएको थिएँ। त्यहाँ मेरा साथीहरु थिए। उनीहरु सँगै थिएँ। कोभिड १९ को महामारीले लकडाउन भएपछि हामीहरु उतै रोकियौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हामीहरु नेपाल फर्किन चाहन्थ्यौं। जे जस्तो भए पनि आफ्नो घर आउन पाए सुरक्षित भइन्थ्यो कि भन्ने लागेको थियो। मेरो साथीको एउटा सानो बच्च पनि थियो। बच्चाकै कारणले हामीहरु जोखिम मोल्न सकिरहेका थिएनौं। हामीहरु सामान्य ढंगले नै दैनिकी चलाएका थियौं। मेरो साथीलाई एक्कासी ज्वरो आयो। घाँटी दुख्ने, १०३–१०४ डिग्रीसम्म ज्वरो आएपछि कोरोना भाइरसको संक्रमण भयो कि भनेर डरायौं । सामान्य उपचार गरायौं।
हामीहरु बसिरहेकै घरको नजिकै २ जनाको कोरोना भाइरस संक्रमणले गलाएपछि मृत्यु भएको थियो। यसैले पनि हामी अझ बढी त्रसित थियौं। नेपाल आउनका लागि हिडेकाहरुको मृत्यु भएको खबर पनि थाहा पाएका थियौं। नेपालमा रहेका क्वारेन्टिनहरुको दुरावस्था र व्यवस्थापन पनि हेरेका थियौं। तर, नेपाल आउनुको विकल्प थिएन।
त्यो अवस्थामा सिरियस बिरामी भएर अस्पताल जानुप¥यो भने हामी त्यहाँको स्थानीय भाषा पनि बुझ्दैनथ्यौं। हामी त अलपत्र पर्न सक्थ्यौं। उपचार नपाएरै मर्न पनि सकिन्थ्यो। नेपालमा पनि त्यो भन्दा राम्रो अवस्था त थिएन तर आफ्नै घर पुगौं भन्ने कुरा मनमा खेलिरहेको थियो। हामी जसरी भए पनि घर पुग्नुपर्छ भनेर त्यहाँबाट हिड्यौं।
म, साथी, साथीकी श्रीमती र छोरीसहित ४ जना बेंगलोरबाट दिल्ली, दिल्लीबाट गोरखपुर आयौं। यतिन्जेल पनि मेरो साथीलाई हनहनी ज्वरो आइरहेको थियो।
असार २६ मा गोरखपुरबाट एम्बुलेन्समा बुटवल आइपुग्यौं। बुटवल आइसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक गयौं। हामी कहाँदेखि आएको, त्यसबीचका सम्पर्क, जोखिमजस्ता सबै कुराहरु बतायौं।
हामीले हाम्रो सबै विवरण, स्वास्थ्य अवस्था र कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आधारहरु बतायौं। हामीहरु हाम्रो स्वाब लिइयोस् र परीक्षण गरियोस् भन्ने चाहन्थ्यौं, किनभने हामी संक्रमित भएको भए अरुमा नफैलियोस् भन्ने हाम्रो चाहना थियो, यही सोंचेर आफै अस्पताल पुगेका थियौं।
कोरोना भाइरसको संक्रमण हुनसक्ने शंकाहरु बताएपनि अस्पतालले वास्ता गरेन। फिभर क्लिनिकमा रहेका चिकित्सक परीक्षण गर्न राजी भएनन्।
हामीहरु संक्रमण भएको भए फैलिनसक्छ र अरु संक्रमित भए हामीमा सर्नसक्छ भनेर मास्क, पन्जा लगाएर पूरा सुरक्षित हुने गरी अस्पताल गएका थियौं। तर त्यहाँ जाँच गर्न बस्नुभएका चिकित्सकहरुले पन्जा नलगाई बस्नुभएको थियो, कुनै सुरक्षाको उपाय अपनाउनुभएको थिएन, हामी त्यो अवस्था देखेर पनि अचम्म पर्यौं।
हाम्रो स्वास्थ्यजाँच भएन। हामी घर फर्कियौं। नजिकको मेडिकलमा जाँच गरायौं । मेडिकलका स्वास्थ्यकर्मीले रगत परीक्षण गर्नुपर्ने बताए। रगत परीक्षणमा टाइफाईड भएको खुल्यो।
रगत परीक्षणमा टाइफाइड भएको खुलेपछि हामी अब त कोरोना छैन भन्नेमा ढुक्कजस्तै भयौं, त्यसपछि हामी बुटवलका केही ठाउँमा गयौं, सुरक्षितसाथ केही कामहरु ग¥यौं।
यत्तिकैमा साथीलाई काठमाडौं जानुपर्ने भयो। त्यसपछि फेरि लुम्बिनी प्रादेशिक अस्पताल पुग्यौं। हामीले शुल्क तिरेरै परीक्षण गर्छौं भनेर गएका थियौं, शुल्क तिरेर साथीको पीसीआर परीक्षण ग¥यौं । परीक्षणमा रिपोर्ट पोजेटिभ आयो।
यतिन्जेलसम्ममा कोरोना भाइरस संक्रमण छैन भन्दै ढुक्क भएका हामी एकाएक तनाबमा पर्यौं।
तत्काल हामी जहाँ जहाँ गएका थियौं, सबैलाई आइसोलेशन बस्न भन्यौं, साथीको रिपोर्ट पोजेटिभ आएपछि अब त ट्रेसिङमा आउँछन् होला भनेका थियौं, तर कोही पनि आएनन्।
ट्रेसिङमा नआएपछि हामी आफै अस्पतालमा गयौं। अस्पताल गएर आफुसँगैका साथीलाई कोरोना संक्रमण भएकाले पीसीआर परीक्षण गराउनुपर्ने बतायौं। अस्पतालको फिभर क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले घर जान आग्रह गरे।
उहाँहरुले घर गएर बस्नुस् भन्नुभयो, हाम्रो परीक्षण गर्न चाहनुभएन, हाम्रो त कुरा सुन्नै चाहनुभएन, वेवास्ता गर्नुभयो, हामीलाई कोरोना संक्रमण भएको भए अरुलाई पनि फैलिन सक्छ भनेर जानकारी दिएर सुरक्षित उपायको खोजी गर्ने ठाउँमा गएको त गाली पनि गर्नुभयो।
त्यहीँ करीब १ घण्टा धर्ना दिएर बस्यौं। त्यसपछि मेरो, साथीको श्रीमती र बच्चाको स्वाब लिइयो । धन्न मेरो रिपोर्ट नेगेटिभ आयो। साथीको श्रीमती र बच्चाको रिपोर्ट आउन बाँकी छ।
हामी हाम्रा लागि मात्रै सुरक्षित बनाइदिनुस् भन्न गएका थिएनौं, हामी कोरोना भाइरसको हटस्पटबाट आएका हौं, हाम्रा कारणले अरुलाई समस्या नपरोस्, यहाँ कोरोना नफैलियोस् भनेरै अस्पताल गएका थियौं, तर हामीलाई त हेपेर गाली गर्ने काम भयो। कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिममा रहेकाहरुको पीसीआर परीक्षण बढाउनुपर्यो भनेर आवाज उठिरहेको छ। तर सरकारले सुनिरहेको छैन।
सरकारी अस्पतालहरु हेपाहा व्यवहार गर्छन्। मैले धेरै छलफल गरेँ, कुराहरु गरेँ, अनिमात्रै मेरो परीक्षण गर्न अस्पतालका स्वास्थ्यकर्मी राजी भए। हामीकहाँ त कुरा गर्न नसक्ने, कहाँ पुगेर को सँग भन्नुपर्ने हो बताउन नसक्ने मानिसहरु पनि छन्। तिनीहरुको कुरा सरकारले नसुने कसले सुन्छ ? मेरो कुरा यत्ति हो कि सरकारले पीसीआर परीक्षण बढाएर नेपालीलाई हामीहरु सुरक्षित छौं भन्ने गराउन सक्नुपर्छ।
(लुम्बिनी टाइम्ससँगको कुराकानीमा आधारित)
लुम्बिनी प्रादेशिक अस्पतालको भनाई : वास्तविक विवरण लिएर सचेत गराउँछौं
सरकारीस्तरबाटै पीसीआर परीक्षणमा आलटाल गरिरहेका घटनाहरु बाहिर आउँदा यो घटनाक्रमबारे लुम्बिनी प्रादेशिक अस्पतालको प्रशासन बेखबर जस्तै छ। फिभर क्लिनिकमा खटिएका स्वास्थ्यकर्मीले पनि यो घटनाको वास्तविक विवरण जानकारी नगराएको लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतम बताउँछन्।
‘शुल्क तिरेर पीसीआर परीक्षण गराउने एकजनाको रिपोर्ट पोजेटिभ आएको भन्ने जानकारी आएको थियो, उनले भने–त्यसभन्दा अरु विवरणहरुबारे जानकारी पाएको छैन।’
उनले यसबारे फिभर क्लिनिकमा रहने स्वास्थ्यकर्मीसँग जानकारी लिने र क्लिनिकमा आएका बिरामी र परीक्षण गराउन आउनेहरुको विवरण लिने व्यवस्था मिलाउने र ट्रेसिङबारे पनि चासो दिन लगाउने बताए।
उनले अस्पतालमा आउने बिरामीहरुको चाहनामा मात्रै पीसीआर परीक्षण हुन नसक्ने बताए। ‘बिरामीको अवस्था र विवरण हेरेर चिकित्सकको सिफारिशमा मात्रै परीक्षण हुन्छ, उनले भने–केही सरकारी कार्यालयहरुको अनुरोध र अत्यावश्यक भनेर आएको अवस्थामा मात्रै परीक्षण भइरहेको छ ।’
प्रादेशिक अस्पतालले असार १६ मा पीसीआर परीक्षण गर्ने मेशिन राखेदेखि सोमबारसम्ममा करीब १ सय जनाको स्वाब लिएर परीक्षण भएको उनले बताए। त्यसमध्ये शुल्क तिरेर परीक्षण गर्ने एकजनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ।