बुटवल । के तपाइँले आफ्ना बच्चालाई भिटामिन ए र जुकाको औषधि खुवाउनुभयो ? मुलुकभर शनिबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । यदि तपाइँको बच्चालाई शनिबार भिटामिन ए र जुकाको औषधि खुवाउनु भएन भने आइतबार खुवाउनुहोला ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुले देशभर भिटामिन ए र जुकाको औषधि खुवाएका छन् । आइतबार पनि उनीहरुले नै वडाहरुमा खुवाउँछन् ।
स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप समेत लिने छन् । ६ महिनादेखि ५ वर्षसम्मका भिटामिन ए र पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइन्छ ।
भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ । रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरूलाई झाडापखाला, श्वास प्रश्वासलगायतका संक्रमणबाट जोगाउँछ ।
भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले अघिल्लो वर्ष निकालेको तथ्यांकले देखाउँछ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँडिरहेको जनाएको छ । नगरभित्र पाँच वर्षसम्मका करिब ६ हजार बालबालिका छन् । यी सबै बालबालिकालाई दुईदिन भिटामिन र जुकाको औषधि खुवाउने नगरपालिकाको योजना छ ।
कार्यक्रमको शुभराम्भ गर्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले पायक पर्ने ठाउँमा सबैले आफ्ना बालबालिका ल्याएर भिटामिन र जुकाको औषधि खुवाउन आग्रह गरे । उनले बालबालिकालाई स्वस्थ र तन्दुरुस्त राख्न भिटामिन र जुकाको औषधि अपरिहार्य रहेको जनाउँदै सरकारी लक्ष्य प्राप्तीका लागि नगरपालिका सधैं दृढ रहेको जनाए । अधिकारीले कोही पनि बालबालिका छुट्न नहुने भन्दै चनाखो बन्न स्वयंसेविकाहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, बरिष्ठ जनस्वास्थ्य प्रशासक डा.राजेन्द्रप्रसाद गिरी, वडा नं. १२ का वडाअध्यक्ष करुन्जनकुमार श्रेष्ठ, नगरपालिका स्वास्थ्य शाखा प्रमुख न्यौपाने, बरिष्ठ अधिकृत गणेशबहादुर क्षेत्री, शाखा अधिकृतहरु शेखरनाथ पन्थी, देवप्रसाद ज्ञवाली, नगरपालिका जनस्वास्थ्य निरीक्षक विजयनाथ चौधरी, सरसफाई शाखा प्रमुख केशव पौडेलल, स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता थियो ।