बुटवल- कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका मायादेवी गाउँपालिकाकै थप ३ जनामा संक्रमण देखिएको हो । उनीहरू मायादेवी गाउँपालिकाकै बासिन्दा भएपनि वडा खुलेको छैन ।
उनीहरूमध्ये २ जना १८ वर्ष र १ जना १७ वर्षका हुन् । क्वारेन्टाइनमा रहेकाहरूको स्वाब परीक्षणका क्रममा थप ३ जनामा संक्रमण पुष्टि भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । थप संक्रमण पुष्टि भएकाहरूलाई बुटवलस्थित कोरोना विशेष अस्पताल पठाउने उनले बताए ।
यसअघि उनीहरूसँगै आएका १६ र २२ वर्षे युवामा संक्रमण देखिएको थियो ।
क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ पौडेलले बताए । उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकिछिपी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए ।
वैशाख २४ गते कपिलवस्तुका ६५ जनाको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।