काठमाडौं-शेरबहादुर देउवा नेतृत्वको सरकारले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलेको छ।
शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा ऊर्जा मन्त्रालय माओवादी केन्द्रबाट पम्फा भुसालको हातमा परेसँगै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने चर्चा सुरु भएको हो।
तत्कालीन समयमा पनि कुलमानलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइँदा माओवादीले नै ऊर्जा मन्त्रालयको नेतृत्व लिएको थियो।
हालका अर्थमन्त्री जनार्दन शर्मा तत्कालीन समयमा ऊर्जामन्त्री थिए। उनैले घिसिङलाई प्राधिकरणमा नियुक्ति दिएका थिए।
कुलमानले जिम्मेवारी सम्हालेसँगै दिनहुँ भोग्नुपरेको लोडसेडिङ नाटकीय रुपमा अन्त्य भयो। राम्रो कार्यकुशलता निर्वाह गरेकै कारण यसको जस लिन तत्कालीन ऊर्जा मन्त्रीसम्मले पाएका थिए।
घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा नेपालमा दैनिक १४ घण्टाको लोडसेडिङ हुन्थ्यो। लोडसेडिङ हटाएर सबैको प्रशंसा पाएका उनै घिसिङलाई अहिले पुनः प्राधिकरणको नेतृत्व दिइने चर्चा केही दिनयता चलेको छ।
ऊर्जा मन्त्रालयकै एक अधिकारीका अनुसार कुलमान घिसिङलाई जसरी पनि प्राधिकरणमा ल्याउने तयारी भइरहेको छ।
कुलमानलाई प्राधिकरणको जिम्मेवारीमा ल्याउने त भनिएको छ तर प्राधिकरणमा अहिले कार्यकारी निर्देशक रहेका हितेन्द्र देव शाक्यबारे के हुने भन्ने प्रश्न पनि उठेको छ।
सामान्य हिसाबले हेर्दा शाक्यको कार्यकाल अझै ३ वर्ष बाँकी छ। उनलाई हटाउँदा फेरि अर्को विवाद हुनसक्छ। मन्त्री भुसाल पहिले शाक्यलाई अन्य कुनै जिम्मेवारी दिने तयारीमा जुटेको स्रोतको दाबी छ।