बुटवल- चालु आर्थिक वर्ष २०७८/७९ मा निजी विद्युतीय सवारीलार्ई पनि लुम्बिनी प्रदेश सरकारले करको दायरामा ल्याएको छ। प्रदेश सरकारले जारी गरेको आर्थिक अध्यादेशमा विद्युतीय स्कुटर, मोटरसाइकल, कारदेखी माइक्रोवस सम्मका सवारी साधनको लागि करको व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षको आर्थिक ऐनमा अन्य सवारी साधनको करको दर उल्लेख भएपनि विद्युतीय सवारी साधनको उल्लेख थिएन । यो वर्ष पहिलो पटक विद्युतीय निजी गाडीलाई करको दायरामा ल्याइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका यातायात व्यवस्था हेर्ने अधिकृत तुल्सीराम अधिकारीले बताए। ‘अहिलेसम्म प्रदेशबाट निजी विद्युतीय सवारीबाट कर उठाइएको छैन। यो वर्षबाट राखीएको हो ।’ उनले भने ‘विद्युतीय गाडीलाई प्रोत्साहन गर्न तथा करको दायरा बढाउन आर्थिक ऐनमा समेटिएको हो।’
लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमा विद्युतीय मोटरसाइकल दर्ता भएको भएपनि अहिलेसम्म कर तिर्न परकोको थिएन । मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालयमा गत आर्थिक वर्ष २०७७/७८ मा १ सय २० वटा दुई चक्के विद्युतीय सवारी साधन दर्ता भएका छन्। त्यस मध्ये केही मोटरसाइकल र धेरै स्कुटर रहेका छन्।
तर तिनीहरुबाट अहिलेसम्म कर नउठाइएको कार्यालयका प्रमु्ख कृष्ण पन्थीले जानकारी दिए । ‘तिनीहरुको दर्ता मात्र गरिएको छ। व्यवस्था नहुँदा कर लिन पाइएन नि। अब कानुन बनेपछि लिनुपर्छ।’ उनले भने । काठमाडौँमा दर्ता भएका विद्युतीय कारको भने यहाँको यातायात व्यवस्था कार्यालयले कर उठाउने गरेको थियो । बागमतीको व्यवस्था अनुसार विद्युतीय गाडीमा २५ प्रतिसत छुट गरी कर लिने गरेको पन्थीले बताए। चार्जिङ स्टेसनको अभावले गर्दा विद्युतीय मोटरसाइकल र कार अझै उपभोक्ताको रोजाइ बन्न भने सकेको छैन ।
लुम्बिनी सरकारले जारी गरेको आर्थिक अध्यादेश अनुसार निजी विद्युतीय सवारी साधनमा करको दर तुलनात्मक रुपमा केही कम छ । विद्युतीय मोटरसाइकल र स्कुटर प्रयोग गर्दा १५ सय देखी ३ हजार रुपैया सम्म मात्र बार्षिक कर रहेको छ । तर पेट्रोलबाट चल्ने दुई चक्के सवारी साधनमा १ सय २५ सिसिसम्मको कर बार्षिक २५ सय रुपैया छ । ४ सय सिसि भन्दा बढीको मोटरसाइकलमा २० हजार रहेको छ।
विद्युतबाट चल्ने कार, जिप भ्यानको बार्षिक कर १५ हजार रुपैयादेखी ३० हजार रुपैया सम्म छ । तर इन्धनबाट सवारीले क्षमता अनुसार २० हजार देखी ५५ हजार रुपैयासम्म तिर्नुपर्दछ।
निजी विद्युतीय सवारीले तिर्नुपर्ने बार्षिक कर

इन्धनबाट चल्ने सवारीले तिर्नुपर्ने बार्षिक कर

