बुटवल- नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशले उपभोगनै नगरेको ट्रंक लाइनको महशुल मागेर व्यापारीहरुलाई त्रास देखाएको आरोप लगाएको छ। गत असार ११ गते सुचना निकालेर ट्रंक लाईनको बक्यौता रकम तथा सो उपरको जरिवाना २०७८ आषाढ मसान्त भित्र बुझाउन भनेकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको महासंघ लुम्बिनीले जनाएको छ । विद्युत प्राधिकरणले २०७२ भाद्र देखि २०७६ मंसिर सम्म ट्रंक लाईन खपत गरेको भनि महशुल भुक्तानी गर्न विल जारी गरेकाले उधोगीहरु समस्यामा परेको महासंघले जारि गरेको विज्ञप्तीमा उल्लेख छ।
विद्युत महशुल विनियमावली २०७३ को विनियम ५ (५) वमोजिम, दैनिक २० वा सो भन्दा वढि घण्टा विद्युत उपभोग निवेदन दिई स्वीकृति भएको उधोगले मात्र ट्रंक लाइन सरहको महशुल वुझाउनु पर्ने व्यवस्था भएको व्यवसायीको भनाई छ। उद्योगहरुले माथि उल्लेखित कुनै किसिमको माग, स्वीकृती र खपत नगरेको र ट्रंक लाइन सम्वन्धी छलफल र सहमति नै नभएको बताएका छन्।
विधुत प्राधिकरणको कर्मचारीको गल्तिको कारण समस्या सिर्जित भएको भन्दै डेलिगेशन र ज्ञापनपत्र वुझाउदैमा गइरहेको तर लामोसमय सम्मपनि समाधान नभएकोले उद्योग बाणिज्य महासंघ लुम्बिनीको विज्ञप्तीमा उल्लेख छ । उसले समस्याको सार्थक निष्कर्ष को लागी आवहान समेत गरेको छ।
प्राधिकरणले महसुल, व्याज तथा जरिवाना लाई सच्याएर साविककै विल महसुललाई कायमगरि उधोग मैत्री वातावरणलाई नखल्बलाउन महासंघका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले माग गरेका छन्। उनले उधोगीहरुलाई तालाचावी वुझाएर उधोग वन्द गर्ने सम्मको अवस्था निम्तिन सक्ने भन्दै त्यस्तो अवस्था आउन नदिन आग्रह गरे।