बुटवल-लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ। बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लुम्बिनी टाईम्सलाई जानकारी दिए।
यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए। उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईनेछ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मन्त्रिपरिषदमा पेश गरेको ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्विनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको मन्त्री चौधरीले बताए।
गएको असार १ गते लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारको तर्फबाट आर्थिक बर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
*यसअघि सरकारले अध्यादेश जारी भइसकेको जनाएपनि प्रदेश प्रमुखको कार्यालयले पत्र प्राप्त नभएको र अध्यादेश जारी भइनसकेको जनाएपछि सोहीबमोजिम सच्याइएको छ। -सम्पादक