बुटवल-बहुप्रतिक्षित र महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अघि बढेको छ। अर्थमन्त्री तथा जलश्रोत तथा सिंचाई मन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गरे।
कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने बताए।
उनले कालीगण्डकी-तिनाउ डाईभर्सन अब सपनाको विषय नरहेको भन्दै कार्यान्वयनका रूपमा अघि बढ्ने बताए। उनले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने र यसले लुम्बिनीका साथै मुलुककै मुहार बदल्ने बताए। उनले भने-'यो गेमचेन्जर प्रोजेक्ट हो।'
रुपन्देहीका बुटवल, भैरहवा, लुम्विनी सहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा यहाँको सबैभन्दा ठूलो जलस्रोत मानिने तिनाउ नदीमा पानीको सतह घट्दै गएपछि तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि मन्त्री पौडेलले यो आयोजनाको परिकल्पना गरेर काम अघि बढाएका थिए ।
बुटवलमा कार्यालय स्थापना संगै अब यो बर्षभित्र सक्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डिपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए । आगामी एक बर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजना प्रमुख कैनीको भनाई छ ।
प्रारम्भिक अध्ययन भएको लामो समय भइसक्दा पनि डिपिआर सम्पन्न हुन नसकेर अन्योलमा रहेको यो आयोजनाको कार्यालय स्थापना भएसंगै अब आयोजना अघि बढ्ने आशा पलाएको छ ।