बुटवल-लुम्बिनी प्रदेश सरकारले विपक्षी दलका कारण बजेटमाथि छलफल हुन नपाएको बताएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अरु मन्त्रीहरुलाई समेत राखेर गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विपक्षी दलले अनेक बहानामा सरकारले ल्याएको बजेटमाथि छलफल हुन नदिएको बताए।
उनले बजेटमाथि छलफल गरेर साउनमा प्रक्रिया अघि बढाउने तयारी गरेपनि विपक्षी दलहरुको अवरोधका कारण संसद स्थगित भएको र बजेटमाथि पर्याप्त छलफल हुन नपाएको बताए।
उनले विपक्षी दलले एजेन्डामा छलफल गर्नुको सट्टा बहानाबाजी गरेको आरोप लगाए। मन्त्री चौधरीले विपक्षी दलहरुसँग छलफल भएर सदनमा बजेटमाथिको छलफल अघि बढाउने सहमति भएपनि सहमतिको पालना नगरेको आरोप लगाए।
'उहाँहरुले छलफलमा हुन्छ सदन चल्न दिन्छौं भन्नुहुन्छ, अनि सदनमा दलको एउटा नेतालाई बोल्न लगाएर बैठक चल्न दिनुहुन्छ-उनले पत्रकार सम्मेलनमा भने-यसरी सरकारले आफ्नो काम अघि बढाउन पाएन।' विपक्षीको अवरोधका कारण सदन असार २७ गतेसम्मका लागि स्थगित भएको छ।
उनले सरकारले पेश गरेको ४० अर्ब ९५ करोड ९७ लाखको बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुले छिटै नै काम थाल्ने बताए।
आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब ६० करोड ७२ लाखले बढी रहेको जनाउँदै उनले कोभिड नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन सरकारले प्राथमिकता दिएको बताए।