काठमाडौं-असारको दोश्रो हप्तादेखि विभिन्न कम्पनीका आइपीओ खुल्दैछन्। नेपाल धितोपत्र बोर्डले यही असार ११ गतेदेखि आइपीओ बिक्रीमा ल्याउने गरी विवरण पत्र सार्वजनिक गरिसकेको छ।
गत जेठ ३० गते मात्रै जीवन विकास लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो। पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण पनि बढ्दो छ। प्राथमिक बजारमा अहिले १८ लाखभन्दा धेरै लगानीकर्ताले आवेदन दिन थालेका छन्। यस्तो अवस्थामा आईपीओ बिक्री गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन्।
पछिल्लो डेढ वर्षदेखि धेरै कम्पनीहरु आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन्। बोर्डको अनुसार अहिले १८ वटा कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न आवेदन दिएका छन्। यी कम्पनीहरुले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेका हुन।
अहिले कतिपय साधारण लगानीकर्ताको प्रश्न यही हुन्छ कि अब नयाँ आईपीओ कहिले आँउछ ? र कति कित्ता पर्छ ? गत एक वर्षमा नै डिम्याट खोल्ने लगानीकर्ताको संख्या झण्डै दोब्बर भएको छ। यसरी प्राथामिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा आईपीओ बिक्री गर्ने कम्पनीहरु समेत बढेका छन्।
अहिले आईपीओको पाइपलाइनमा करिब ४ वर्ष अघि नै आवेदन दिएको मैलुङ खोला जलविद्युत समेत रहेको छ। उसले २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएको थियो।
यसैगरी, हिमालयन हाइड्रोवपावरले पनि २०७६ कार्तिक २७ गते नै आईपीओ जारी गर्न आवेदन दिएको थियो भने विन्दबासिनी हाइड्रोपावरले समेत २०७६ माघ १ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियो।
आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।
अहिले आईपीओ जारी गर्न अनुमति माग्ने अधिकाँश कम्पनीहरु हाइड्रोपावर क्षेत्रका रहेका छन्। १८ वटा कम्पनीमा १३ वटा हाइड्रोपावर रहेका छन् भने दुई माइक्रोफाइनान्स, दुई इन्स्योरेन्स र एक अन्य क्षेत्रको कम्पनी रहेको छ।
यी १८ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा नै आईपीओ जारी गर्न आवेदन दिएका छन्। लकडाउनले रोकिएको आईपीओ निष्काशन लकडाउन खुकुलो भएसँगै कम्पनीहरुले पुनः आईपीओ बिक्रीमा ल्याउन थालिसकेका छन्।
लकडाउनको कारण पछिल्लो समय धितोपत्र बोर्डबाट अनुमति पाएका कम्पनीहरुले समेत आईपीओ बिक्रीमा ल्याउन पाएका थिएनन्। नेपाल धितोपत्र बोर्डले गत जेठ ३० गते मात्रै जीवन विकास लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो। उसले यहि असार ११ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने गरी विवरणपत्र सार्वजानिक गरिसकेको छ।
पछिल्लो धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट समेत आईपीओ जारी गर्न पाउने व्यवस्था गरेपछि उत्पादनमुलक क्षेत्रका ठूला कम्पनीहरु समेत शेयर बजारप्रति आकर्षित भएका छन्। सर्वाेत्तम सिमेन्टले आईपीओ जारी गर्नको लागि केहि समय अघिदेखि नै तयारी थालिसकेको छ।