बुटवल- लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । असार १ गते आर्थिक वर्ष २०७८ / ०७९ को बजेट प्रस्तुत भएपछि आज बैठक बस्न लागेको हो । दिउसो १ बजे बस्ने बैठकमा राजस्व व्ययको अनुमान बारे सामान्य छलफल हुने छ ।
बैठकको सुरुमा आर्थिक मामिला तथा याेजना मन्त्री बैजनाथ चौधरीले बजेटको आय व्ययको बारेमा आफ्नो मन्तव्य राख्ने छन् । त्यस पछि प्रदेशसभामा सामान्य छलफल हुने प्रदेश सभाका सूचना अधिकारी दिनेस अधिकारीले जानकारी दिए। 'मन्त्रीज्युले आफ्नो मन्तव्य सहित सुरु गर्नुहुन्छ। कति आए हुन्छ, कति खर्च हुन्छ भन्ने बारे बताउनुहुन्छ ।’ उनले भने ‘त्यसमा दलिय आधारमा सांसदहरुले आफ्नो धारणा राख्नुहुन्छ । उठेका प्रश्नको मन्त्रीज्युले जवाफ दिनुहुन्छ। यो सामान्य छलफल हो पारित गर्न पर्दैन ।’
आय व्ययको छलफल भएपछि आजै विनियोजन विध्येक पेश हुन्छ । विनियोजन विध्येक पेश भएपछि मन्त्रालयगत छलफल सुरु हुने छ । आज विनियोजन विध्येक पेश भएपछि त्यसमा ९ गतेबाट मन्त्रालयगत छलफल सुरु हुने प्रदेश सभाका सुचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए । ‘रातो किताब अलि ढिला आयो। २ दिन सांसदहरुलाई अध्ययन गर्न दिएर ९ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने कार्यव्यवस्था परामर्श बैठकमा सहमती भएको छ।’