बुटवल- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तर्फ एक जिल्ला एक श्रोत केन्द्रको अवधारणा ल्याएको छ ।
जस अनुसार प्रत्येक जिल्लामा फरक–फरक कृषि उत्पादनका श्रोत केन्द्र स्थापना हुने छन्। श्रोत केन्द्र स्थापना तथा सञ्चालनको लागि ५ करोड रुपैया विनियोजन गरिएको छ ।
तर श्रोत केन्द्र स्थापनाको योजनामा जिल्लाहरुलाई विभेद गरिएको छ । बजेट वक्तव्यमा मुख्यमन्त्रीको जिल्ला दाङमा दुई वटा श्रोत केन्द्र स्थापना हुने उल्लेख छ । दाङमा भैंसी र मौरीको श्रोत केन्द्र स्थापना हुने छ। गुल्मी र प्युठान जिल्ला बजेटको यो शीर्षकमा उल्लेख छैन ।
बाँकी अन्य जिल्लाहरुमा नवलपरासी पश्चिममा पुष्प, रुपन्देहीमा गाई, अर्घाखाँचीमा बाख्रा, कपिलबस्तुमा बागवानी, पाल्पामा फलफूल रोल्पामा तरकारी, बाँकेमा बाख्रा, बर्दियामा बंगुर र पूर्वी रुकुममा भेंडाको श्रोतकेन्द्रको लागि बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य मार्फत बताएका छन्।
भुमि व्यवस्था तथा कृषि मन्त्रालयका सन्देश धितालले आवश्यक्ता र बजेटको उपलब्धता अनुसार बाँकी जिल्लामा पनि श्रोत केन्द्र स्थापना हुने बताए ।
श्रोत केन्द्रले किसानहरुलाई बीउ, नस्लको सेवा दिनुका साथै प्रविधिक सेवा पनि प्रदान गर्ने उनले बताए । श्रोत केन्द्र सामुदायिक र सरकारी दुबै तरिकाले स्थापना हुने छन्।