बुटवल - कोरोनाको महामारीका कारण जारी निषेधाज्ञामा सडकहरु सुनसान छन् । बुटवल बर्दघाट सडकमा पनि फाट्ट् फूट्ट केही आकस्मीक गाडीहरु मात्र चलिहरहेका छन्। सुनसान अवस्थामा पूर्वपश्चिम राजमार्ग विस्तारको केही काम भइरहेको छ । विशेष गरि अहिले राजमार्गमा पर्ने पुल निर्माणको काम चलिरहेको छ ।
बस्ती क्षेत्रमा ६ लेन र बाँकी ठाउँमा ४ लेनमा बनाउने योजना अन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नरायणगढ सडक विस्तारको काम अघि बढेको छ । कोरोना महामारीले विस्तारको काम प्रभावित भएपनि पुल निर्माणको काम भने चलिरहेको छ।

सुरुमा अहिले २० मिटर भन्दा साना पूल भत्काएर नयाँ ४ लेनको पुल बनाउने काम भइरहेको छ । नारयणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत दाउन्ने पश्चिम खण्डमा २१ वटा पुलहरु भत्काएर नयाँ पुल बनाउने काम अघि बढेको छ ।
त्यस मध्ये अहिले निषेधाज्ञाको समयमा १० वटा पुलको काम भइरहेको सडक आयोजना अन्तर्गत दाउन्ने बुटवल खण्डका आयोजना प्रमुख प्रमुख प्रदीप शाक्यले बताए। ‘सडकको काम त त्यती गरेका छैनौ। पुल स्टक्चरको काम भइरहेको छ । सिमित कामदार लगाएर काम भइरहेको छ ।’ उनले भने ‘कामदारहरुले माक्स लगाएर सकभर दुरी कायम गरेर काम गरिरहेका छन्।’ कामदारलाई केही स्वास्थ्य समस्या देखिन्छ की भनेर आफूहरु सचेत रहेको तर अहिलेसम्म कसैमा पनि लक्षण नदेखिएको शाक्यले बताए।
निषेधाज्ञा अघि सडक निर्माणको लागि बुटवल बर्दघाट सडक खण्डमा पाँच सय जति कामदार खटिएका थिए । अहिले साढे २ सय हाराहारीले काम गरिरहेका छन्। सडक विस्तार अन्तर्गत यही असार मसान्तसम्म १० वटा पुल सक्ने लक्ष्य राखिए पनि महामारीका कारण सबै नसकिने शाक्यले बताए । ‘यही आर्थिक वर्ष भित्रै १० वटा सकिन्छ कि भन्ने थियो । अब पाँचवटा मात्र सकिने भयो ।’ उनले भने।
साना पुल बाहेक दाउन्ने पश्चिमका २ सय ४७ कल्भर्टहरुलाई ४ लेनको बनाउने काम पनि अघि बढेको छ। त्यसै गरी २० मिटर भन्दा लामा राजमार्गका मुख्य पुललाई भने यथावत राखिने छ । त्यसको दक्षिण तर्फबाट अर्को दुइ लेनको फुटपाथ सहितको पुल बनाउने योजना छ । त्यस मध्ये केही पुलको फाउण्डेसनको काम भइरहेको छ । दाउन्ने पश्चिम खण्डमा २० मिटर भन्दा लामा ९ वटा पुल रहेको छ । पुल बाहेक सडक विस्तारको केही काम भएका छन्। धेरै जसो स्थानमा सडक क्षेत्रमा पर्ने रुखहरु काटेर बाँकी काम अघि बढेको छ।

बुटवल नारायणगढ सडक विस्तारको लागि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिलन्यास गरेका थिए।
सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । दाउन्ने पुर्वको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र दाउन्ने पश्चिम वुटबलसम्मको साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ। ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने उल्लेख छ । तर कोरोना महामारी लकडाउनको लगायतका कारण काममा ढिलाइ भएपछि म्याद थपिने सम्भावना छ।