काठमाडाैँ- यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौँ उपत्यका, रुपन्देही सहित निषेधाज्ञा लगाएका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएको छ । तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरूले असन्तुष्टि जनाएका हुन् ।
कोरोना संक्रमणको अवस्था भयावह हो भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे ।
हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारीसाधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारीसाधन चलाउन दिनुपर्ने उनले बताए ।
महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वतस्फूर्त अवज्ञा हुने चेतावनी दिए । अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशायी भएको भन्दै व्यवसायीहरूले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् ।