बुटवल- बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेशुंगा डेभलपमेन्ट बैंकले काठमाण्डौको ५ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ। काठमाण्डौका कलंकी, गोंगबु, महाराजगञ्ज, न्युरोड र नयाँबानेश्वरमा शाइन रेशुंगाको शाखा खुलेको हो। आइतबार साँझ एक कार्यक्रम माझ बैंकका अध्यक्ष थानेश्वर पौडेलले डिजिटल प्रविधिबाट पाँचवटै शाखाको शुभारम्भ गरेका हुन्।
बैंकको शुभारम्भ गर्दै पौडेलले सानो लगानीबाट सुरु भएको बैंक आज राष्ट्रिय स्तरको बैंक भएको बताए। उनले बैंक प्रति विश्वसनियता कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष पौडेलले काठमाण्डौमा ५ ठाउँबाट सेवा सुभारम्भ भएसँगै शाइन रेसुंगासँग ८० वटा शाखा भएको जानकारी दिए।
२०६५ फागुन ११ गते ३ जिल्ला कार्यक्षेत्र सहित बुटवलमा शाइन डेभलपमेन्ट बैंकको स्थापना भएको थियो। गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुंगा डेभलपमेन्ट बैंकसँग २०६९ सालमा मर्जर भएपछि शाइन रेशुंगा डेपलपमेन्ट बैंक भएको हो।
६ करोड चुक्ता पूजिबाट सञ्चालनमा आएको बैंकको अहिले चार अरब भन्दा बढी पूंजीकोष, चार लाख ग्राहक संख्या, ३३ अरब बढी निक्षेप, ३१ अरब बढी कर्जा लगानी र ८ सय कर्मचारी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।