बुटवल । तीन वर्षदेखि भैरहवाको विषेश आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालन नगरी जग्गा मात्रै ओगटेर बसेका ९ वटा उद्योगको विशेष आर्थिक क्षेत्र प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने भएको छ ।
५१ हजार ९ सय ७ वर्ग मिटर (करिब १०२ रोपनी) जग्गा ओगटेर बसेका ९ वटा उद्योगको अनुमति पत्र रद्द गर्ने निर्णयमा पुगेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले बताएको हो ।
७९ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका यी उद्योगहरुले सेजको कुल क्षेत्रफलको करिब ४७ प्रतिशत जग्गा ओगटेर बसेको प्राधिकरणले जानकारी दिएको छ । प्रतिवद्धता जनाएपनि उद्योगहरुमध्ये केहीले आफूले ओगटेको जग्गामा उद्योग सञ्चालन नगरी लथालिंग छाडेको र अन्यले प्राधिकरणसँग सम्झौता समेत गर्न आएका छैनन् ।
एस प्लास्टिक प्रडक्ट्स, निर इन्डष्ट्री प्राली, जय बुद्ध मेटल क्राफ्ट, आइडिएस इलेक्ट्रिक, क्रियसन्स वर्ल्डवाइड, अरिबा एग्रिकल्चर, नेसनल अर्गानिक्स, अरिहन्त एग्रो–प्रोसेसिङ र कुराकानी अनलाइनको अनुमतिपत्र रद्द गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।
उद्योग सञ्चालन गर्न उदासीन देखिएपछि प्राधिकरणले उद्योगसँग स्पष्टिकरण सोधेको थियो । जम्मा दुई वटा उद्योगले मात्रै स्पष्टिकरण दिएको प्राधिकरणका ईञ्जिनियर माधवेन्द्र चौधरीले जानकारी दिए ।
हाल सेजमा चार वटा उद्योग मात्रै सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । त्यसबाहेकका अन्य उद्योगीहरूले निर्माण कार्य गरिरहेका छन् । अनुमति लिएका उद्योगहरूले २२० रोपनी १४ आना जग्गा ओगटेका छन् । १७ उद्योगहरूले सेजमा दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६ सय २६ रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरेका छन् । भैरहवा सेज अन्तर्गत ६८ प्लटहरू छन् । जसमा ४८ प्लट भाडामा लगाइएको छ । २० प्लटहरू अझै भाडामा लगाउन बाँकी रहेको उल्लेख छ ।