भैरहवा- सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि मतदान हुदैछ। नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भए पनि बाँकी सदस्यका लागि विहान ९ बजे देखि मतदान चलिरहेको छ। खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको उमेद्वारी परेको छ। त्यस्तै उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उमेद्वारी दिएका छन। एक जना महिला उद्योग सदस्य तर्फ ४ जनाको उमेद्वारी परेको छ।
अपरान्ह ४ बजे सम्म मतदान हुने छ। मतदान सम्पन्न भएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ। ऋधिवेसनले २८ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। जसमध्ये संघको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन्।
यस्तै ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, दिलीप कान्दु उद्योग उपाध्यक्षमा, विजय पाण्डे महासचिवमा, दिपेन्द्र प्रधान सचिव पदमा र गोबिन्द ज्ञवाली कोषाध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्।
महिला वाणिज्य सदस्यमा यमकला न्यौपाने, एशोसियट सदस्यमा रोहित अग्रवाल र विकास गोयन्का, बस्तुगत तर्फ कृष्ण प्रसाद घिमिरे सर्वसम्मत भएका छन । बाँकी पदमा निर्वाचन भएको हो। सिद्धार्थ उद्योग बाणिज्य संघमा १९४६ सदस्य रहेकोमा १९०४ सदस्यले मात्र यस पटक मत हाल्न पाउने छन । बस्तुगत तर्फ ७, उद्योग तर्फ ३७५, कर्पोरेट तर्फ १३९ र वाणिज्य तर्फ १३८३ जना सदस्यको मताधिकार छ ।