बुटवल-होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका आगामी नेतृत्वका लागि अर्को पक्षको प्यानल घोषणा भएको छ।
संघको यही फागनु १६ र १७ गते हुने २० औं वार्षिक साधराण सभा तथा १० औ अधिवेशनका लागि राजनैतिक रुपमा नै गठबन्धन तयार पारी दुवैपक्षले प्यानल घोषणा गरेका छन्।
यसअघि नेकपा ओली पक्षनिकट व्यवसायीको समूहले प्यानल घोषणा गरेको थियो भने बिहीबार नेकपाको दाहाल-नेपाल समूहले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा लगायतका दलनिकट व्यवसायीहरुसँग मिलेर चुनावी प्यानल तयार पारेको छ।
नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादी पार्टी लगायतका दल निकट व्यवसायीको समूहले पत्रकार सम्मेलन गरी नेकपा दाहाल-नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङ, नेपाली कांग्रेस नेता काजीमान श्रेष्ठ, बुटवल नगर सभापति खेलराज पाण्डे, जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल तथा अन्य नेताहरु हरि घिमिरे, चिरञ्जिवि पौडेल, तानबहादुर केसी लगायतका नेताहरुको ठूलो उपस्थितिमा उम्मेदवारी घोषणा भएको हो।
सो समूहले संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको नेतृत्वमा तयार पारेको प्यानलको वरिष्ठ उपाध्यक्षमा लालबहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा चिरन्जीवी पोख्रेल(बाबुराम) तथा महासचिवमा प्रेम बञ्जाडे रहने गरी उम्मेद्वारी घोषणा गरेको छ।
यसैगरी सचिवमा अर्जुन थापा, कोषाध्यक्ष चुत्रबहादुर पौडेल र सह कोषाध्यक्ष खेमराज पोख्रेल रहने गरी अन्य ११ जना सदस्यसहित उम्मेद्वारी घोषणा भएको हो।
यो प्यानललाई संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठको समेत समर्थन रहेको छ।
संघको वर्तमान अध्यक्ष समुन्द्र जि.सी.को समर्थन रहेको नेकपा ओली समूहको प्यानलका लागि रामप्रसाद गौतमको नेतृत्वमा यसअघि नै उमेद्वारी घोषणा भएको छ। जसमा वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहन पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंक पराजुली तथा सहकोषाध्यक्षमा देबु ढकाल रहने गरी चुनाबी प्यानल घोषणा भएको छ।