बुटवल- विहिवार हुने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित भएको छ। अर्थमन्त्री विष्णु पौडेलबाट शिलान्यास हुने भनिएको भोलीको कार्यक्रम नहुने भएको हो। अर्थमन्त्रीले समय दिन नभ्याउने भएपछि कार्यक्रम सारीएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर वस्नेतले लुम्बिनी टाइम्सलाई बताए।
एक हप्ताको लागि कार्यक्रम सारिएको मिति भने पछि छलफल गरेर तोकिने उनले जानकारी दिए। अर्थमन्त्रीले आफूसँग समय नभएकाले उद्योगमन्त्री लेखराज भट्टबाट शिलान्यास गराउन लिमिटेडलाई आग्रह गरेका थिए। तर शिलान्यसको लागि अर्थमन्त्रीलाई नै पर्खेको बस्नेतले बताए। ‘अर्थमन्त्रीज्यूकै नाममा ताम्रपत्र लेख्ने लगायतका सबै काम भइसकेको छ। फेरी अर्को तयारी गर्न तीन दिन लाग्छ।’ उनले भने ‘त्यसैले भोली कार्यक्रम नहुने भयो।’
दुई वर्ष अघि डिपिआर तयार भएको औद्योगिक क्षेत्रको विहिवार शिलान्यास गर्ने कार्यक्रम थियो। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि फेरीएको राजनीतिक माहाेलका कारण मन्त्री तथा नेताहरुको व्यस्तता बढेको छ। त्यसै कारण अर्थमन्त्रले समय उपलब्ध गराउन नसकेको अनुमान गरिएको छ।
अर्को तर्फ स्थानियले पनि शिलान्यस कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका थिए। मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउँदै स्थानीयहरुले ईआइए प्रतिवेदनमा आफूलाई समावेश नगरिएको, वर्षौदेखि भोग चलन गर्दै आएको ठाउँबाट आफूहरुलाई विस्थापन गर्न लागिएको भन्दै अबरोध गर्ने बताएका थिए ।
रुपन्देहीको मोतिपुरसँगै मुलुकका ६ ठूला औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढाइएको थियो । जस अनुसार कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरिसकेका छन्। बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण सुरु भएको छ। मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण सुरु हुने बताइएको थियो ।