बुटवल- बुटवल उद्योग बाणिज्य संघको २४ सौं अधिवेसनको चुनावी प्रक्रिया अन्तर्गत मंगलबार उमेदवार मनोनयन दर्ता भएको छ। अन्य चुनाव भन्दा व्यवसायिक संस्थाको उमेद्वार बन्न धेरै रकम खर्च गर्नुपर्ने हुन्छ। संघको अध्यक्षको लागि उज्वल कशजु र हरि अर्यालले ५० हजार रुपैया तिरेर उमेद्वारी दर्ता गराएका छन्। संघको कार्यसमिति बैठकले नै अध्यक्षको लागि उमेद्वारी शुल्क तोकेको हो।
त्यसै गरी संघको पदाधिकारीको उमेद्वार बन्न ३० हजार रुपैया तोकिएको छ। त्यसै गरी एशोसिएट सदस्यको लागि २० हजार र कार्यसमिति सदस्यको लागि १५ हजार रुपैया लाग्ने छ। कार्यसमितिको निर्णय अनुसार फिर्ता नहुने गरी उपरोक्त बमोजिमको उमेद्वारी शुल्क बुझाएको रसिद मनोनयन पत्रका साथ दाखिल गर्नुपर्ने सुचनामा उल्लेख छ।
३ वर्ष अघि भएको २३ औं अधिवेसनमा अध्यक्षको लागि उमेद्वारी शुल्क ३० हजार तोकिएको थियो । अहिले २० हजार रुपैया बढाइएको हो। संघका अध्यक्ष खिमबहादुर हमालले कार्यसमितिले नै निर्णय गरेर चुनावी शुल्क तोकिएको बताए। ‘कार्यसमितिले नै निर्णय गरेर शुल्क तोकेका हौं। निर्वाचन खर्च कटाएर बचेको रकम संघकै खातामा जम्मा हुने छ।’ उनले भने । उमेद्वार बन्ने व्यवसायीहरुकै क्षमता अनुसार शुल्क तोकीएको हमालले बताए।
संघको नयाँ नेतृत्वको लागि फागुन १३ गते विहिवार मतदान हुने छ।