बुटवल- बुटवल उद्योग बाणिज्य संघको अध्यक्षका लागि हरि अर्यालले आफ्नो उमेद्वारी घोषणा गरेका छन्। हाल बाणिज्य उपाध्यक्ष रहेका अर्यालले आइतबार पत्रकार सम्मेलन गरी उमेद्वारी घोषणा गरेका हुन्। व्यवसायिक सुरक्षा र व्यवसाय मैत्री वातावरण निर्माणको लागि आफूले उमेद्वारी दिएको र त्यसका लागि तीनै तहका सरकारसँग पहल पैरबी गर्न र दबाब दिन आफू सक्षम रहेको उनले बताए।
अर्यालले बुटवल शहरको विचमा विस्तार हुँदै गरेको सिद्धार्थ राजमार्गको सर्भिसलेनलाई व्यवसाय मैत्री बनाउन, र निर्माणधिन कालिकापथलाई छिटो सम्पन्न दबाब दिने, बुटवलमा अव्यवस्थित सवारी पार्किङ समाधानको लागि टोल विकास सस्थादेखी नगरपालिकासँग समन्वय गरेर पहल गर्ने, राजस्व र कर कार्यालयबाट प्रदान हुने सेवालाई व्यवसायमैत्री बनाउन पहल गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल उद्योग बाणिज्य महासंघ र उद्योग बाणिज्य महासंघ प्रदेशमा बुटवल उद्योग बाणिज्य संघको उपस्थितीलाई सार्थक र ओजिलो बनाउन प्रयास गर्ने अर्यालको भनाइ छ। अर्यालसँगै संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुले पनि अध्यक्ष पदमा उमेद्वादी दिने तयारी गरेका छन्। बुटवल उद्योग बाणिज्य संघको २४ औं अधिवेसन सोमबारबाट सुरु हुँदै छ। सोमबारै उमेद्वार मनोनयन दर्ता हुने छ।