बुटवल- प्रादेशिक अर्थतन्त्रको सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। आर्थिक अनुसन्धान केन्द्र, लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले प्रदेशको समृद्धि र बिकासको लागि रोजगारमुलक क्षेत्रको पहिचान गर्नुपर्ने बताएका थिए। उनीहरुले आर्थिक एबं मानविय पुजीलाई परिचालनमा ठोस कार्य योजना बनाई प्रदेश सरकार अगाडी बढ्नुपर्ने बताएका थिए।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रादेशिक अर्थतन्त्रमा लुम्बिनी प्रदेशको आर्थिक विकासका गतिविधी अन्य प्रदेशको तुलनामा अगाडि बढेको बताए। उनले प्रदेशका गौरवका योजनाहरु विश्वव्यापी कोभिड १९ को महामारीमा पनि सञ्चालन गर्न सफल रहेको उल्लेख गरे।
कार्यक्रममा कार्यपत्र आर्थिक अनुसन्धान केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्ष हुमराज भुसालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी प्रा. डा. बाबुराम ज्ञवाली, प्रा. डा. रामचन्द्र आचार्य, प्रा. डा. भोजराज कडेरिया, डा. खिमानन्द न्यौपाने, प्रा. नुरजंग के. सी., बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, बरिष्ठ लेखक ऋषि आजाद, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, एम्स कलेजका प्रमुख दिपक ढकाल, बुटवल क्याम्पसका सहायक क्याम्पस प्रमुख लिलाबल्लभ ढकाल, सहायक क्याम्पस प्रमुख कुमारी लक्ष्मी शर्मा लगायतले टिप्पणी गरेका थिए ।
उनीहरुले प्रादेशिक अर्थतन्त्रलाई सबल, सफल र समृद्ध बनाउनको लागी कृषिको आधुनिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार तथा आन्तरिक पर्यटनमा विशेष जोड दिनु पर्ने बताएका थिए। कार्यक्रममा बिभिन्न क्षेत्रबाट गरि चालिस भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो।