बुटवल- रुपन्देहीको नुवाकोट गढी पर्यटकिय गन्तव्यको रुपमा अघि बढेको छ। ऐतिहासिकसँगै, धार्मिक, प्राकृतिक, सांस्कृतिक महत्वको ठाउँ नुवाकोटमा पूर्वाधारहरु बनिरहेका छन्। नुवाकोटबाट मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिन्छ। नुवाकोटमा कालभैरब मन्दिर पनि रहेको छ। त्यस्तै राजा माणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको छ। नुवाकोटगढी पुग्न सडक निर्माण सम्पन्न भएपछि पर्यटकिय पूर्वाधारहरु पनि बनिरहेका छन्। नुवाकोट भ्यू टावर बनिसकेकाे छ, सांस्कृतिक डबलीऽ दरबार क्षेत्रमा पार्क निर्माण लगायतका संरचना बनिरहेका छन्।
यस्तै निजि क्षेत्रबाट पनि नुवाकोटमा ठूलो मात्रामा लगानी भइरहेको छ। नुवाकोटमा हिलसाइड भिलेज रिसोर्टदेखी केवलकार सञ्चालनको प्रक्रिया सुरु भएको छ। बुटवलको होटल न्यु इराका सञ्चालक माधव नेपाल सहित झण्डै ३० जनाको लगानीमा रिसोर्ट तथा केबलकार निर्माणको काम अघि बढिरहेको छ।
नुवाकोट विकास समितिका अध्यक्ष समेत रहेका नेपालले लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न नुवाकोटको पर्यटकिय विकासमा लागेको बताए। उनले नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकिय विकासमा ठूलो टेवा पुग्ने धारणा राखे।
सडकमार्ग हुँदै नुवाकोट जान बेलबास शान्तिचोकबाट ११ किलोमिटरको दुरी पार गर्नुपर्दछ। पैदल जानको लागि फूलबारीबाट उजिरसिंह सिडीमार्ग रहेको छ। सिडीमार्गबाट पैदल २ घण्टामा नुवाकोट पुग्न सकिन्छ।
केबलकारको आइतबार अर्थमन्त्रीले सिलन्यास गर्ने
बुटवलबाट नुवाकोट जाने केवलकारको आइतबार सिलन्यास हुँदै छ। अर्थमन्त्री विष्णु पौडेलले विहान ११ बजे केबलकारको सिलन्यास गर्ने सिद्धार्थ केबलकार प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए। बुटवल माविको माथि पट्टी सिलन्यास कार्यक्रम राखिएको छ।
नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ। केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।
‘केही काम सुरु भइसकेको छ। अब सिलन्यास गरेर औपचारीक रुपमा काम अगाडि बढाउँछौं।’ उनले भने ‘अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना छ।’ करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए। सिद्धार्थ केबलकार प्रालीमा यस ५० जनाको लगानी रहेको छ।