बुटवल - बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि चुनावी प्रक्रिया सुरु भएको छ। शुक्रबारबाट मतदाता नामावली प्रकाशन भइ शनिवार उजुरी दाबी विरोध पछि अन्तिम नामावली प्रकाशन भएको छ। यही फागनु १३ गते संघको नयाँ नेतृत्वको लागि मतदान हुने छ। त्यस अघि १० गते उमेद्वार मनोनयनको समय तोकिएको छ।
संघको अध्यक्षको लागि बरिष्ठ उपाध्यक्ष उज्वल कसजु र बाणिज्य उपाध्यक्ष हरि अर्यालले दाबी गरेका छन्। बरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा आफ्नो दाबी स्वभाविक भएको कसजुको भनाइ छ। ‘अहिले बरिष्ठ उपाध्यक्ष छु, अब पालो त मेरै हो नि, उद्योग बाणिज्य क्षेत्रमा लागेको २१ वर्ष भयो।’ उनले भने ‘बस्तुगत समितिको उपसभापति, सभापति हुँदै ३ कार्यकाल कार्यसमिति सदस्य, एक–एक कार्यकाल कोषध्यक्ष, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएको छु। मेरो स्वभाविक दाबेदारी हो।’
कसजुले आँफू सर्वसम्मत अध्यक्ष हुने दाबी समेत गरे। ‘चुनाव हुँदैन, निर्विरोध हुन्छ। उहाँ ( हरि अर्याल)ले पनि अध्यक्षमा चाहाना गर्नुभएको छ। तर पनि हामी मिल्छौं।’ उनले भने।
तर अर्का प्रत्यासि हरि अर्यालले भने अध्यक्षको दौडबाट आफू पछि नहट्ने बताएका छन्। ‘अहिलेको परिस्कृत समाजमा परम्परागत तरिकाले भन्दा क्षमताको आधारमा नेतृत्व भन्ने हो। त्यो क्षमता ममा छ भन्ने लाग्छ।’ उनले भने ‘नछोड्ने गरी म अगाडि बढेको छु। अबका चुनौतिलाई सामना र व्यवस्थपन गर्न सक्छु भन्ने लाग्छ। साथै अरु संघसंस्थासँग समन्वय गर्न सक्ने क्षमता पनि मसँग छ।’ कार्यसमिति सदस्यसँगै महासचिव, बाणिज्य उपाध्यक्ष भएर आफूले संघलाई धेरै बुझेको अर्यालको भनाइ छ।
संघको दुइ कार्यकाल उपाध्यक्ष भइसकेका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ भने यस पटक चुनाव नलड्ने बताएका छन्। सर्वसम्मत नेतृत्वको लागि सहज होस् भनेर यसपटक आफू पदाधिकारीको कुनै पनि पदमा चुनाव नलड्ने बताए। ‘यो ३ वर्ष पदाधिकारीमा नबसेर म सहजीकरण तर्फ लागेको छु।’ उनले भने ‘मैले सर्वसम्मत नेतृत्व होस भनेर साथीहरुलाई समर्थन गरें।’ श्रेष्ठले अध्यक्षमा दुई जनाको नाम आएको भएपनि अन्तिममा नेतृत्व सर्वसम्मत हुने दाबी गरे। उनले अध्यक्ष सहित कार्यसमितिका धेरै पदमा सर्वसम्मत हुने बताए।