बुटवल-रुपन्देहीको तिलोत्तमामा लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले आधुनिक बस्ती निर्माणका लागि आवास विकास परियोजना सुरु गरेको छ। तिलोत्तमा-७ भलवारीमा करिब ६ विगाह क्षेत्रफलमा १२३ वटा अत्याधुनिक सुविधा सम्पन्न घर निर्माण गनै लागेको हो ।
२६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको शहरी विकास मापदण्ड अनुसार साढे २ तलाका भूकम्प रहित घर निर्माण गरिने प्रा.लि.का अध्यक्ष नेत्रलाल वनले जानकारी गराए ।
सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवा-बुटवल सडक खण्डको भालबारी चोकदेखि १४ सय मिटर पूर्वमा निर्माण गरिने एकृतिक वस्तिमा खेल मैदान, बाल उद्यान, जीमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेण्ट, सैलुन तथा मन्दिरसमेत निर्माण गरिने छ ।
विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने प्रा.लि.ले जनाएको छ ।
एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डिपिआर तयार पारी काम भइरहेको एकीकृत बस्तिमा पहिलो समूह अन्तरगत घरका लागि २ करोड ५० लाख तथा दोस्रो समूह अन्तरगतका घरका लागि सूचिकृत मूल्य १ करोड ७५ लाख कायम गरिएको छ । २ अर्ब बढी लागत अनुमान गरिएको परियोजनाका लागि प्रा.लि.ले सेन्चुरी कमर्शिल बैंकसँग सहकार्य गरी घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने छ ।
हालसम्म निर्माण गर्न लागिएको आधुनिक बस्तिका लागि १५ वटा घरको बुकिङ भइसकेको उनले बताए। परियोजना अन्तरगत बन्ने घरहरुको निर्माण कार्य सकिएर विक्रि भइसकेपछि सार्वजनिक स्थान तथा बस्तिका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचनाहरु सोही बस्तिलाई हस्तान्तरण गरिने अध्यक्ष वनले बताए ।
३ वर्षभित्रमा परियोजना सम्पन्न गर्नेगरी काम गरिरहेको प्रा.लि.ले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तिमा ६ महिना भित्र उपलब्ध गराउने बताएको छ ।