बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु गर्न आवश्यक पर्ने कार्यविधि अझै प्रकाशित हुन सकेको छैन । व्यवसायिक उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्यन प्राधिकरणले बनाइरहेको कार्यविधिमा छिमेकी मुलुक भारतको सहमती नपाएपछि कार्यविधि प्रकाशित हुन नपाएको हो ।
प्राधिकरणले बनाएको कार्यविधिमाथि भारत सहमत जनाउन आनाकानी गर्दै नेपाली आकाशमात्रै प्रयोग हुने गरी कार्यविधि बनाउन भारतीय पक्षले प्राधिकरणलाई सुझाव दिएको छ ।
गत एक बर्षदेखि प्राधिकरणले कार्यविधि बनाइरहेको छ । सीमानाका नजिकै विमानस्थल रहेकाले विमानस्थलमा जहाजले उडान भर्दा या अवतरण गर्दा भारतको आकाश पनि प्रयोग हुने भएकाले उसको सहमतीमा नै वयवसायिक उडान तथा अवतरण कार्यविधि बनाउनुपर्ने हुन्छ, तर भारतले आफ्नो आकाश प्रयोग गर्न सहमती दिएको छैन ।
यसअघि पनि भैरहवा विमानस्थलका लागि आवश्यक हुने नेपालगञ्जदेखि पश्चिमको कुनै एक हवाइ प्रवेश बिन्दु दिन भारत असहमत देखिएको थियो ।
भैरहवा विमानस्थलका लागि हवाइ विन्दु दिन आनाकानी गरेपछि अब सरकारले नै कुटनीतिक तहमा छलफल गरेर सहमति गरेपछि मात्र कार्यविधि प्रकाशित हुने भएको प्राधिकरणले जनाएको छ ।
त्यसैले विमानस्थलमा व्यवसायिक उडान तथा अवतरण कार्यविधि बनाउने काम प्रशासनिकबाट कुटनीतिक छलफलमा पुगेको छ । केही दिनअघि भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि विमानस्थलको विषय उठान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्रोतले बताएको छ ।
कुटनीतिक सहमतिपछि कार्यविधि प्रकाशित हुने मन्त्रालयको भनाइ छ । अहिले भैरहवा विमानस्थलको भौतिक निर्माण काम ९४ प्रतिशतभन्दा धेरै सकिएको छ ।