काठमाडौं । नेपालबाट अनलानमार्फत् विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने केन्द्रीय ब्याङ्कले बताएको छ। एक जनाले प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्थाका लागि पहल भइरहेको नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए।
वाणिज्य ब्याङ्कहरूको ’प्रिपेड डलर कार्ड’ लिएर सो कार्ड अनलाइन किनमेलका लागि विदेशी वेबसाइटमा प्रयोग गर्न सकिने छ।
यो व्यवस्था लागु भएपछि नेपालबाट नेटफ्लीक्स वा अमेजन प्राइमजस्ता सेवा लिन, अनलाइन गेमहरूमा खर्च गर्न वा अनलाइन किनमेल गर्न वा फेसबुकमा विज्ञापन गर्ने वा मोबाइल एप किन्ने जस्ता सुविधा लिन सकिने छ।
राष्ट्र ब्याङ्कका अनुसार यस विषयमा आन्तरिक रूपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ र त्यसमा प्राप्त भएका सुझावहरू समावेश गरेर सर्कुलर जारी गर्ने तयारी भइरहेको छ।
व्यवस्थापन समितिमा छलफल भई अघि बढाइएको विषय राष्ट्र ब्याङ्कको सञ्चालक समितिले स्वीकृत गरेपछि सर्कुलर जारी हुने छ।
“नेपाली मुद्रामा खाता हुने नेपालीहरूले पनि बढीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ,“ राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायण पोखरेलले भने।
हाल वाणिज्य ब्याङ्कहरूमार्फत् विदेशी वस्तु भुक्तानी तथा सेवाका लागि तीन हजार डलरसम्म भुक्तानी गर्न सकिने, केन्द्रीय ब्याङ्कको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सक्ने र १० हजार डलर भुक्तानी गर्नुपर्ने भए सम्बन्धित पक्ष सिधै राष्ट्र ब्याङ्कमा पुगेर स्वीकृति लिने र रकम तिर्न सक्ने व्यवस्था छ।
पौडेलका अनुसार नेपालमा होटेल र विप्रेषणसम्बन्धी सेवा दिइरहेका कम्पनी लगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३,५०० संस्थाहरूले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र ब्याङ्कसँग अनुमति लिएका छन्।
नयाँ व्यवस्था लागु भएपछि पोखरेलका अनुसार सर्वसाधारणहरूले अनलाइन माध्यमबाटै वा प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न पाउनेछन्। तर त्यसका लागि छुट्टै प्रिपेड कार्ड लिनुपर्ने हुन्छ।
उनले भनेः “म एक नेपाली नागरिक, मेरो आम्दानी नेपाली रुपैयाँमा हुन्छ भने पनि मैले अमेरिकी डलर प्रिपेड कार्ड प्रयोग गरेको छु भने वर्षभरिमा ५०० डलर ननाघ्ने गरी भुक्तानी गर्न सक्ने भएँ।’
पछिल्लो समयमा अन्तर्राष्ट्रिय रोजगारी बजारमा ‘आउटसोर्सीङ्ग’ गर्ने प्रचलन बढ्दै गएको र संसारको एउटा कुनामा बसेर अर्को कुनामा सेवा दिन सक्ने प्रविधिको विकास भएको अवस्थामा केन्द्रीय ब्याङ्क भुक्तानी सहज पारिदिने मनस्थितिमा पुगेको अधिकारीहरू बताउँछन्।
त्यस्तै सामाजिक सञ्जालका विज्ञापनजस्ता गतिविधिहरूका भुक्तानीका कुराहरूका लागि समेत सहजीकरण गर्न सकिने केन्द्रीय ब्याङ्क बुझाइ छ।
“अनलाइनमा पुस्तक खरिद गर्न समेत गाह्रो छ। विद्यार्थीहरूलाई अनलाइनमार्फत् विदेशी प्रकाशहरूले प्रकाशन गरेका किताबहरू पढ्नुपर्ने हुन्छ,’ पोखरेलले भने,‘सानातिना भुक्तानी अनलाइनबाट गर्न पाइने व्यवस्थाले सबै प्रकारका कामहरूलाई सहयोग हुन्छ।’
फेसबुक जस्ता विभिन्न माध्यमहरूमा नेपालबाट विज्ञापन भइरहेको तर त्यसको हिसाबकिताब भने नदेखिने अवस्थाको अन्त्य गर्नका लागि पनि सीमा तोकेर कारोबार गर्न दिन लागेको पौडेल बताउँछन्। बीबीसी नेपालीबाट