गुल्मी । किसान त्यतिकै पनि प्राकृतिक विपत्ती, बिउ मलको अभाव तथा बजारमा कम मुल्य जस्ता कुराहरुबाट ठगिएकै छ । त्यसैमाथी माछा पोखरीमा बिष हाल्दिने र फर्महरुमै आगो लगाइदिने प्रवृतिबाट समेत पीडित बन्ने गरेका खबर देख्ने र सुन्ने नगरेको होइन् । पछिल्लो घटना चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका २४ बर्षीय शौभाग्य शाहाको हो । उनको गत बिहिबार फर्ममा अचानक आगोलागी हुँदा फर्ममा भएका २५ बाख्रा मरेका छन् ।
शाहा बिहिबार साँझ बाख्राहरुलाई दानापानी गरेर घर निस्किएका थिए । करिब पौने ९ बजे परिवारसंगै खाना खाएर बसिरहेका बेला एक्कासी बाख्रा फर्ममा आगो दन्किएको देखे । शौभाग्य हतार–हतारमा आगो दन्किएको फार्ममा झरे । उनी केहि बोकाहरु घाइते अवस्थामा छटपटाएको देखेर फार्मभित्र पसे । तर, एउटा पनि निकाल्ने उपाय लागेन, बरु आफै जले । ‘परिवारको आँखै अगाडी ३० मिनेटमा ८० फुटको फार्म जलेर खरानी बन्यो,’उनले भने,‘ एउटा बाख्रा पनि बचाउन सकिएन, बरु आफै जलेँ ।’
नयाँ खोर बनाएर बाख्रा सारेका एक महिना मात्रै भएका थिए । शाहाको फार्ममा प्रसस्त दानापानी खुवाएकाले निकै राम्रा बाख्राहरु थिए । शाहाको फार्ममा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा र फार्म गरेर ७० लाखभन्दा बढि लगानी गरेका थिए ।
आधा घण्टामा २५ बाख्रा मात्रै मरेनन्, बाख्रा जोगाउन खोज्दा शाहा आफु पनि घाइते भए । उनी र उनको परिवार शोकमा छन् । ७० लाख बढिको लगानी छिनमै सकियो । ौभाग्यले जुन कर्मको लागि जापान र हङकङ छोडे । अहिले त्यहि कर्म डुब्यो ।
विदेशका रहरहरु छाडेर कृषि कर्ममा लागेका शौभाग्य पशुपालनमा उदाहरणीय र अब्बल बन्ने योजनाका साथ लागेका थिए । पछिल्लो समय क्यानाडाको भिषा पनि नआएको होइन् । कोरोनाका कारण लकडाउन भएर जान पाएनन् । त्यसपछि झन् कृषिमा बढि मेहेनत गर्न थालेका थिए । यो शाहा परिवारको पहिलो घटना होइन् । उनीहरुका केहि बर्ष पहिले पनि तीन हजार माछा एक रातमा मरेका थिए । त्यसपछि कुखुरा पनि त्यस्तै गरेर मरे । शौभाग्यसहित परिवारले हिम्मत हारेनन् । उनले परदेश पस्ने सोँच बदलेनन् । अहिले शौभाग्य बिचलित छन् । मन पीडा अमिलो बनेको छ । आगोमा परेर अनुहार निलो भएको छ । आगोले क्रृण खोजेर राखेका बाख्रा र मेहेनतले बनाएको फार्म आँखै अगाडी ध्वस्त बने ।
शौभाग्य चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका वडाध्यक्ष किरण शाखाका छोरा हुन् । वडाध्यक्ष किरण शाहा पनि पौरखमा विश्वास गर्ने व्यक्ति हुन् । जापान र हङकङमा राम्रै कमाई थियो । बुबालेनै छोराको कृषि कर्ममा उत्साह भरेका थिए । बाबुछोरालेनै गाउँमा सकेको गरेका थिए । शाहा परिवारले लोभलाग्दो कृषि कर्म गरेका छन् । ‘गाउँका अरु युवालाई उत्साह भर्न नुमना फर्म बनाउँदै थियौँ,’किरणले भने,‘दैव लाग्यो ।’ सधै सवैलाई उर्जा भने किरण शाहाका आखाँमा अहिले आँसु अटाएका छैनन् ।
गाउँमा कृषि कर्मको जोँस छर्ने परिवार पीडाले शोक स्तब्ध बनेको छ । वडाध्यक्ष शाहीले षड्यन्त्रपूर्वक पेट्रोल छर्किएर आगलागी भएकाले सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरे । ‘पेट्रोलको गन्ध आउने बित्तिकै आगलागी भयो, यो षडयन्त्र हो,’उनले भने,‘समयमै छानविन होस्, मेरो नियती फेरि अर्कोले भोग्न नपरोस् ।’ यो बिषयको सत्यतथ्य छानविन गरेर दोषि उपर कारबाही नगरे केहि गर्ने सोँच गरेका युवा कृषकहरुको मनोवल घटने शाहाले बताए ।
इलाका प्रहरी कार्यालय चन्द्रकोटका इन्चार्ज मन बहादुर आलेले घटनामा संलग्नहरुको खोजी भइरहेको बताए । उनले बिहानदेखि रातिमा समेत सवै स्थानहरुमा अनुसन्धानको काम भएकाले पहिचान हुना साथ कारबाही गरिने बताए ।