गुल्मी । डोकोमा बोकेर बजार पुग्नु परेन । उत्पादन बिक्री नभएर कुहिने अवस्था पनि रहेन । हातहातमै कारोवार । कृषकको घरघरमा हर्न बजाउँदै आउँछ नगरको गाडी । ‘एक मुठा वा एक डोका जति भएपनि बेच्यो पैसा बुझ्यो,’ रेसुंगा नगरपालिकाका ११ की मिना पाण्डेय भनिन,‘नगरले किसानलाई उर्जा भरेको छ ।’
कोरोनाको कारण बन्द हाट बजार संचालन भएपछि नगर फेरि कृषकको घरघरमै पुगेर कृषि उपज संकलन गरिरहेको छ । उत्पादनमा अनुदान, उचित मुल्य र बजारको पूर्ण ग्यारेण्टी भएपछि उत्पादनमा कुनै समस्या नभएकाले आफुहरु उत्साहित भएको पाण्डेयले बताइन् ।
कोरोना संक्रमणको कारण बन्द भएको तम्घासको हाट बजार ९ महिनापछि सञ्चालनमा आएको हो । गत बर्ष रेसुंगा नगरपालिकाले एक करोड ३३ लाखको लागतमा नयाँ संरचना निर्माणसहित हाट बजार संचालन ग¥यो । नगरपालिका आफैले प्रत्येक कृषकको घरमै गएर कृषि उपज संकलन गर्ने र हाट बजारमा ल्याएर बिक्री गर्ने गथ्र्यो । तर, कोरोनाको संक्रमणसंगैे जोखिम बढेपछि हाटबजार बन्द गरिएको थियो । लामो समय बन्द भएको हाटबजार संचालनमा आएपछि कृषक र उपभोत्ता दुवै खुसी छन् । नगरपालिकाले पुरानै मोडलमा गाउँगाउँबाट तरकारी संकलन गरेर हाटबजारमा बिक्री वितरणको काम गरिरहेको मेयर डिल्लीराज भुसालले बताए ।
रेसुङ्गा नगरपालिकाले कृषकको कृषि उत्पादन बजारीकरणमा पुर्ण ग्यारेण्टी गरेको छ । यो कामले कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन् । किसानले जति उत्पादन गरेपनि नगरपालिकाले उचित मुल्यमा खरिद गर्ने र हातमै रकम दिने गरेको छ । तत्काल सड्ने बाहेक मुख्य कृषि उपजहरुमा एक क्विन्टलभन्दा बढि उत्पादन गरे कृषकलाई प्रति किलो दुई रुपैयाँ अनुदानको व्यावस्था पनि नगरपालिकाले गरेको नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए ।
नगरपालिकाले बजारको ग्यारेण्टी गरेसंगै साना कृषकलाई समेत फाइदा भएको छ । घरमै गाडी आउने भएकाले किसानले घरमा खपत हुने बाहेकको थोरै धेरै जति पनि कृषि उपज बिक्री गर्ने गरेका छन् । हाट बजारमा गाउँमा उत्पादन भएका आलु, गोपी, साग, मुला, गाजर, अदुवा, गिठादेखि कोदो र कोदोको पिठो समेत बिक्री भइरहेको छ । प्रत्येक दिन संकलन केन्द्रबाट बजार मुल्यभन्दा वस्तु अनुसार १० देखि ३० प्रतिशत सम्म सुपथ मुल्यमा कृषि सामग्री उपभोक्तालाई बिक्री वितरण गरिरहेको नगरपालिकाका पन्थीले जानकारी दिए । उनले नगरका पकेट क्षेत्र, मुसिकोट, धुर्कोट र अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृषि उपज संकलन भइरहेको बताए ।
संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शितभण्डारको समेत व्यावस्था गरिएको छ । नगर तथा बाहिरबाट आएका किसानहरुको कृषि उत्पादनलाई खरिद गरेर तत्काल बिक्री गर्न नसके शित भण्डारमा स्टोर गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले कृषिजन्य बस्तुहरुमा बिचौलियाको अन्त्य र कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले नगरपालिकाले संचालन गरेको आधुनिक कृषि उपज संकलन केन्द्र तथा हाट बजारले कृषक र उपभोक्ता दुवैलाई निकै फाइदा पुगेको बताए । आर्थिक समृद्धिको आधार कृषि भएकाले नगर किसानको पक्षमा उभिएकाले कृषि कर्म गर्नेहरुमा नयाँ उर्जा थपिएको छ ।