भैरहवा- नयाँ नयाँ कामको सुरुवात गर्ने भैरहवाका उद्यमी युवा आशा गुरुङ प्रत्येक शनिबार विहान फुेसबुक लाइभ मार्फत अर्गानिक तरकारी बेच्न व्यस्त हुन्छन्। बैदेशीक रोजगारबाट फर्केका सिद्धार्थनगर ३ बस्ने गुरुङलाई भैरहवामा धेरैले चिन्छन्।
रोजगारको शिलशिलामा जर्मनी गएका उनी नेपाल फर्के पछि भैरहवामा होमडेलीभरि सहितको होटेल, रियल स्टेट, नर्सरी खेती, डिजे लगायतका क्षेत्रमा कामको सुरुवात गरेका छन्। दुई वर्षबाट कृषि क्षेत्रमा लागेका उनी बेमौसमी तरकारी र फलफूल उत्पादन गरिरहेका छन्। फर्मबाट उत्पादित तरकारीलाई गुरुङले प्रत्येक शनिबार बिहान ६ बजे देखि १० बजेसम्म फेसबुक लाइभमा जोडिएर उपभोक्तालाई विक्रि गरिरहेका हुन्छन्।
भैरहवाको शानु डिपार्टमेन्टल अगाडी केही सहकर्मी लिएर विगत ३ हप्ता देखि उनले तरकारी उपभोक्तालाई सिधै उपलब्ध गराइरहेका छन्। चिसोठाँउमा हुने स्ट्राबेरीलाई भैरहवामा व्यवसायिक उत्पादन गरिसकेका उनी स्याउ लगायतका २८ थरीका फलफूल खेती पनि गरेका छन् ।
‘आम उपभोक्तामा अर्गयानिक उत्पादनको माग छ, स्वच्छ ताजा तरकारी र सागपातहरु विहानै टिपेर उपलब्ध गराउदै आएको छु,’ गुरुङले भने ‘सुरु गरेको ३ वटा शनिबार मात्र भयो बिक्री दोब्बर भएको छ।’उनले नयाँ नयाँ उत्पादन भैरहवावासी माझ पस्किन लागेको भन्दै अग्र्यानिक कालो टमाटर, पहेलो र रातो चेरी, गुन्दु्रक, कोरियन किम्ची, स्ट्राबेरी र परवल उत्पादनको क्रममा रहेको जानकारी दिए।
‘हाम्रो उत्पादनलाई स्थानियले मन पराउनुभएको छ। सामाजिक संजाल मार्फत शनिबार गरिरहेको बिक्री अब साताको दुई दिन राख्ने योजना छ।’ गुरुङले भने।उनले आफ्नो लुम्बिनी अग्र्यानिक फर्म एन्ड रिसर्च सेन्टरमा ३० थरीको अर्गयानिक तरकारी उत्पादन गरेका छन्। अहिले कोरियन फर्सी, शलगम, डाठ गोभी, चुकन्दर, लेटेक्स, चाइनिज साग, काउली, ब्रोकाउली, सिमी, गाजर लगायतको १८ थरीको उत्पादन भई बिक्री भइरहेको गुरुङले लुम्बिनी टाइम्सलाई बताए।
तरकारी सँगै फर्ममा अहिले आप ६५०, स्याउ ५५०, लिची २५०, अम्बा ५००, थाइ जामुन १५०, सुन्ताला ५०० मुन्तला ५००, ड्रगन फ्रुट १५००, मौसमी ५०, अनार ५०, कागती ५५०, स्याउ बैयर २५०, नासपाती ७५ अमला २५ ब्लुबेरी २५, मलबेरी २५ रेड बेरी २५ उखु, खरबुजा लगायतका ५ हजार फलफुल खेती भइरहेको छ ।
फर्ममा करिब २ किलोमिटर वरिपरि तारबार फेन्सिङ गरी ३ विघा क्षेत्रफलमा १ करोड बढिको लगाानीमा फलफूल खेतीमात्र भइरहेको छ । ‘विरुवाको आवश्यकता अनुसार प्रत्येक ३–३ महिनामा अष्ट्रिच र गडयौला कम्पोस्ट मल हालीरहेका छौ ।’गुरुङले भने ‘३ वटा डिप वोरिङबाट इजरायली थोपा सिंचाई प्रबिधीको प्रयोगले अर्गानिक उत्पादन भएको छ।’
अर्गानिक फर्म मात्र नभई रिसर्च सेन्टर समेत रहेकोले व्यवसायिक उत्पादनमा केही ढिलाई भएको उनले बताए। पहिलो भागमा बिभिन्न प्रजातिका फलफूल, दोश्रो भागमा बिभिन्न जातका तरकारीहरू र फूल त्यसैगरी तेश्रो भागमा बाख्रा, माछा, हाँस तथा कुखुरा पालन गर्दै गुरुङले कृषि उद्यम गरिरहेका छन। साढे ६ बिगाहा बढी जमिन लिजमा लिएर फर्मलाई तीन भागमा बिभाजन गरिएको छ ।
पक्लिहवा विद्यालयको जग्गा २० वर्षका लागि लिजमा लिएर १ करोड ८० लाख लगानी भएको छ । गुरुङलाई उनका साथी रामप्रसाद खनालले पनि कृषिका परामर्श, सल्लाह एबं आधुनिक प्रबिधी तथा बजार लगायतका विषयमा सहयोग गरिरहेका छन्। कृषि फर्ममा अहिले ८ जना स्थानीयले रोजगारी समेत पाएका छन, आवश्यकता अनुसार दैनिक ज्यालामा पनि कामदारहरु राखेर काम भइरहेको गुरुङले बताए।