गुल्मी - गुल्मीको मालिका गाउँपालिकाले किसानको कृषि उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले घुम्ती हाट बजार संचालन गर्ने भएको छ। मंसिर १४ गतेबाट हरेक दिन ८ वटै वडामा हाट बजार संचालनको हुनेछ। गाउँपालिले हरेक वडामा हाटबजारको स्थान तय गरिदिएको छ। सोहि स्थानमा उपभोक्ता र कृषकबिच कृषि उत्पादन किनबेच हुनेछ। बिक्री नभएको सामग्री अर्को दिन नजिकैको वडामा लगेर बिक्री गर्ने व्यावस्था मिलाइएको गाउँपालिका प्रमुख रितबहादुर थापाले बताए।
गाउँपालिकाले प्रकासित गरेको कार्यतालिका अनुसार प्रत्येक आइतबार वडा नं २ दर्लिङ्गको दह, सोमबार वडा नं ३ ह्वाङ्दीको औरास्ने डाँडा, मंगलबार वडा नं ४ अर्खावाङको ठुलीचौर, बुधवार वडा नं ५ हिलेको सागबारी र छापको जमपोखरामा घुम्ती हाट बजार संचालन हुनेछ। त्यस्तै बिहिबार वडा नं ७ घमिरको ठाँटी, शुक्रबार वडा नं ६ अर्जैको पोखरावारी मोठ र शनिबार वडा नं १ नेटाको जैसीपोखरा तथा वडा नं ८ मरभुङ्गको सिमलटारीमा घुम्ती हाटबजार सञ्चालन गरिने छ।
घुम्ती हाटबजार गाउँपालिकालाई कार्यान्वनसंगै निरन्तरताको चुनौतिको बिषय भएपनि कृषकको सुविधाको लागि योजना अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए। हाट बजारले कृषक र उपभोताको प्रत्यक्ष उपस्थितीमा घरेलु कृषि उपज बिक्री हुने भएकाले एकतिर दुवै ठगिनु नपर्ने र अर्कोतर्फ ताजा र गुणस्तरिय बस्तुको उपयोग हुने अपेक्षा गाउँपालिकाको छ। उनले आवश्यकताको आधारमा कृषि एम्बुलेन्स समेत कृषकहरुलाई खरिद गरेर प्रदान गरिने योजना बनाएको बताए । जसका लागि गाउँपालिकाबाट १५ लाख बजेट बिनियोजन गरिएको छ। सहकारीसंगको साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीका अनुसार कृषि पशुपालनका क्षेत्रमा गाउँपालिका भित्र झण्डै तीन करोड रुपैयाँ खर्च हुँदैछ। गाउँपालिकाले बाख्रा बिकास परियोजनाका लागि एक करोड ४८ लाख रुपैयाँ बिनियोजन गरेको छ । भने भैसी प्रर्वद्धनमा ३१ लाख ३० हजार खर्च गर्ने छ। गाउँपालिकाको वडा नं ४ अर्खाबाङ र वडा नं ६ अर्जेमा भैसी प्रर्वद्धन कार्यक्रम कार्यान्वयनको चरणमा रहेको गिरीले बताए। उन्नत भैसी र चिलिम भ्याट खरिद तथा डेरी सचालन लगायतका काम दुई वडामा हुनेछन्। त्यस्तै बाख्रा विकास स्रोत केन्द्रको लागि १५ लाख रुपैयाँ पनि गाउँपालिकाबाट बिनियोजन गरिएको छ। प्रवक्ता गिरीले गाउँपालिकाको वडा नं २ दर्लिङमा बाख्राका पाठी उत्पादन कार्यक्रम लागु भएको बताए।
मालिका गाउँपालिकाले आर्थिक बर्ष ०७७÷०७८ सालको नीति तथा कार्यक्रममा रोजगार सेवा आयोग गठन गर्ने उल्लेख गरेको छ। यो आयोग मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि खाद्यान्न कार्यक्रम र श्रममूलक आयोजना संचालन तथा व्यावस्थापन गर्ने योजना रहेको गाउँपालिका उपप्रमुख देवा अर्यालले बताइन्। साथै कोरोनाको असर परेका नागरिकलाई कृषि, पशुपालन, घरेलु उद्योग र होटल लगायतका उद्यम संचालनमा सहकारी मार्फत सहुलियतमा कर्जा दिने नीति पनि गाउँपालिकाको रहेको अर्यालको भनाइ छ। करार खेती मार्फत बाँझो जमिनलाई उत्पादनशिल बनाउन कृषि योग्य जमिनको चक्लाबन्दी गरेर भु–बैंक मार्फत रोजगारी सृजना गर्ने गाउँपालिकाको नीति रहेको छ। सोहि नीति अनुसार मालिका गाउँपालिका ६ अर्जेबेसी फाँटमा चक्लाबन्दी अभियान सुरु भएको छ।