बुटवल–रुपन्देहीको देवदहमा ठूलो लगानीमा तरकारी तथा फलफूल खेती थालिएको छ।
देवदह नगरपालिका वडा नम्बर ३ सिसपुरमा ५ विघा जग्गा भाडामा लिइ देवदह ग्रीन एग्रो रिसर्च एण्ड रिसोर्स प्रालिले व्यवसायिक तरकारी तथा फलफूल खेतीको थालनी गरेको हो। जसअनुसार अहिले ३३ हजार बिरुवा अमेरिकी जातको स्टेवरी लगाइएको छ।
अहिले एक विघा भन्दा बढी क्षेत्रमा स्टेवरी लगाइएको प्रालिका अध्यक्ष डिल्लीराज मरासिनीले बताए।
‘स्टेवरी लगाइसकेका छौं, खुल्ला ठाउँमा गाजर, फर्सी टमाटर लगायतका तरकारी लगाउँछौ’–उनले भने–‘टनेल बनाएर ग्रीन हाउस भित्र पनि थप तरकारीहरु लगाउँदै छौं, पहिलो चरणमा १० वटा ग्रीन हाउस निर्माण गरिने मरासिनीले बताए।
अहिले लगाइएको स्टेवरीले फागुनसम्म उत्पादन दिने प्रालिका कृषि विज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए।
‘अमेरिकाबाट ल्याइएको अर्थडाउन जातको स्टेवरी हो, अब २ हप्तामा फूल फूल्छ’–उनले भने –‘पुस १५ पछि फल देखिन्छ, माघ फागुन सम्म तयार हुन्छ।’
देवकोटाले नौलो प्रविधिबाट व्यवसायिक कृषि उत्पादन थालेको बताए। उनले शिक्षा र प्रविधिले गाइड गरेको कृषि पेशा उपलब्धिमुलक हुने बताए।
‘हाम्रो नेपालमा इच्छाले कृषि गरेको देखिन्छ, शिक्षाले गरेको देखिँदैन’–कृषि विज्ञ देवकोटाले भने–‘हामीले शिक्षा, विधि र प्रविधिको उपयोग गरेर प्रति इकाइ क्षेत्रमा उत्पादन बढी गराउँ भनेर लागेका छौं।’
देवदहमा ५३ जनाको समूहले लगानी गरेर एग्रो स्थापना गरेका हुन्। पहिलो चरणमा ३ करोड लगानी गरेको एग्रोका अध्यक्ष मरासिनीले बताए। उनले क्रमश आसपासका जग्गा पनि लिएर लगानी थप्दै जाने बताए।
देवदह एग्रो रिसर्च एण्ड रिसोर्स प्रालिका वरिष्ठ सल्लाहकार एवं देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले यो संस्थाले उत्पादन मात्र नभई कृषि अनुसन्धानको पनि कार्य गर्ने बताए।
‘सामूहिक रुपमा काम गर्ने विकासको थालनी गर्न यो योजना अघि बढेको हो’–उनले भने–‘आउँदो दिनमा उत्पादनमा योगदान, यान्त्रीकरणमा टेवा पुराउने कृषि अनुसन्धानको काम पनि गर्ने यो कम्पनीले गर्ने छ।’
कृषिमा आधुनिकरणको कुरा गरेपनि हालसम्म किसानहरुले समूचित लाभ लिन नसकेको भन्दै खत्रीले देवदह गीन एग्रोले कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे।