बुटवल–पछिल्लो पटक थपिएको म्याद अनुसार भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमाणको काम आउँदो डिसेम्बर अन्तमा सकिनुपर्ने हो।
तर अब यो मितिमा विमानस्थल निर्माणको काम नसकिने निश्चित जस्तै छ। विमानस्थलको भौतिक पूर्वाधारको काम लगभग सकिएपनि उपकरण जडानको काम बाँकी छ।
अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले प्राविधिकहरु नआउँदा मुख्य उपकरण जडानका काम हुन नसकेको बताए।
‘यहाँबाट हुन सक्ने केही उपकरण जडानको काम त भइरहेको छ’–उनले भने–‘तर धावनमार्गको लाइट र टर्मिनल फिटिङको मुख्य उपकरणको काम चिनबाट प्राविधिकहरु नआउँदा हुन सकेको छैन।’
३५ जना चिनियाँ प्राविधिकहरु ल्याउनको लागि प्रक्रिया अघि बढिसकेको र भिसा पनि उपलब्ध गराइसकेको अधिकारीले बताए।
चीनमा अहिले कोरोना संक्रमण विरुद्धको भ्याक्सिनको तेस्रो चरणको परिक्षण भइरहेको छ।
चिनियाँ प्राविधिकहरुले कोरोना विरुद्धको भ्याक्सिन पर्खेकाले आउन ढिलाइ भएको आयोजना प्रमुख अधिकारीले बताए।
‘नेपालको अहिले कोभिडको अवस्थाको बारेमा त्यहाँका प्राविधिकहरु पनि जानकार हुनुहुन्छ, त्यसले गर्दा ढिलाइ भइरहेको छ’–उनले भने–‘तर पनि भ्याक्सिन लिएर मात्र आउने भन्ने कुरा भइरहेको छ।’
चीनको सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लिएर मात्र मुलुक बाहिर जान भनेको छ।
चीनबाट प्राविधिकहरु आएमा उपकरण जडानको काम सक्न ४५ दिनदेखि २ महिनासम्मको समय लाग्छ।
अहिले नै प्राविधिकहरु आएपनि डिसेम्बर अन्तसम्म विमानस्थलको निर्माणको काम सकिने सम्भावना निकै कम छ।
कोरोना संक्रमण विरुद्धको भ्याक्सिन पर्खेकाले अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम कहिले सकिन्छ अनिश्चित बनेको छ।
सन् २०१५ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलन्यास गरेका थिए।
चीनको नर्थ वेष्ट सिभिल एभिएसनसँग भएको ठेक्का अनुसार सन् २०१७ को अन्तसम्म अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनुपर्ने हो।
विभिन्न कारणले पटक पटक म्याद थप गरी २०२० को अन्तसम्म पुर्याइएको हो।
विमानस्थल निर्माणको ९३ प्रतिशत काम सकिइसकेको आयोजनाले जनाएको छ। उपकरण जडान लगायतका बाँकी ७ प्रतिशत काम मात्र बाँकी छ।
बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासको लागि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल महत्वपूर्ण छ।
यो विमानस्थल बनेमा यस क्षेत्रको पर्यटकीय विकासले छलाङ मार्ने आशा सरोकारवाला र यस क्षेत्रका व्यवसायीको छ।
ठूलो संख्यमा पर्यटक आगमन हुने आशाका कारण लुम्बिनी क्षेत्रमा ठूला होटलहरु पनि निर्माण भएका छन्।
रुपन्देही र आसपासका जिल्लामा होटलहरु थपिइरहेका छन्। तर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ढिलाइ हुँदा व्यवसायीहरु निराश बनेका छन्।