बुटवल-रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन नेपाल एयरलाईन्सले सरकारसामु प्रस्ताव गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग यसका लागि प्रस्ताव गरेको नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए।
यसअघि गौतमबुद्ध विमानस्थल व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने बताएपनि नेपाल एयरलाइन्सले यसको प्रस्ताव गरेपछि मन्त्रालय र एयरलाइन्सबीच छलफल भएको छ।
विमानस्थल सञ्चालनको काम नागरिक उड्डयन प्राधिकरणबाटै हुने भएपछि ग्राउण्ड ह्याण्डलिङको काम एयरलाइन्सलाई दिन प्रस्ताव गरेको घिमिरेले बताए।
'तत्काल प्राधिकरणले नै विमानस्थल सञ्चालन गर्ने अवस्थामा ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई दिन प्रस्ताव गरेका हौं'-उनले भने।
कोरोना महामारीका कारण तत्काल निजी क्षेत्रबाट सञ्चालन हुननसक्ने भएपछि सरकारले प्राधिकरणबाटै सञ्चालनको तयारी गरेको हो।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग अन्तिम चरणमा पुगेको छ। अब विमानस्थलमा केही उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन्। हालको अवधिमा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले चीनबाट कामदार ल्याएर बाँकी काम पूरा गर्नका लागि प्रयास भैरहेको बताए। उनका अनुसार अधिकांश उपकरण आइसकेको भएपनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ। विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ। ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ।
गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति देखिएको छ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।