बुटवल-रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माणका लागि तयारी शुरु भएको छ।
पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा त्यसका लागि कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै विभिन्न शैलीका डिजाइनहरु पोष्ट गरेका छन्। मन्त्री भट्टराईले सोमबार राष्ट्रिय गौरवका आयोजनाको कार्यालय पुगेर विमानस्थलका डिजाईनहरुको अवलोकन गर्दै काम तीब्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए।
उनले भनेको यो दोश्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ। भवन बनाउने स्थानमा मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ।
'यो भवन अहिले संरचना बनिरहेको भन्दा पश्चिमपट्टि बन्ने हो, त्यसका लागि मन्त्रालयको टोली आएर माटो परीक्षण गरेर आइतबार फर्किएको छ,-विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले लुम्बिनी टाइम्ससँग भने-यसको डिजाइनदेखि अरु काम मन्त्रालयबाटै भइरहेको छ।'
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग अन्तिम चरणमा पुगेको छ। अब विमानस्थलमा केही उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन्। हालको अवधिमा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख अधिकारीले चीनबाट कामदार ल्याएर बाँकी काम पूरा गर्नका लागि प्रयास भैरहेको बताए। उनका अनुसार अधिकांश उपकरण आइसकेको भएपनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ। विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ। ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ।
गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति देखिएको छ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।
मन्त्री भट्टराईले सुझावका लागि सामाजिक सञ्जालमा राखेका नमूनाहरु