बुटवल–भारत सरकारले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा रातारात मूल्य बढेको छ। कम मूल्यमा किनेर स्टकमा रहेको प्याज चर्को भाउमा बिक्री भइरहेको छ।
गत बुधबार बुटवल उपमहानगरपालिकाले गरेको अनुगमनमा प्याजमा कालोबजारी भएको पाइएको थियो।
व्यापारीहरुले ४५ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँसम्म बेचिरहेको पाइएपछि कारबाही गरिएको थियो। त्यसै गरी भैरहवामा पनि प्याज गोदाममा छापा मारिएको थियो।
तर अनुगमनपछि पनि प्याजको कालोबजारी रोकिएको छैन। उपभोक्ताहरुले महंगो मूल्यमै किन्नु परेको छ। जिल्लाका धेरैजसो पसलमा प्रतिकिलो ११० रुपैयाँदेखि १३० रुपैयाँसम्ममा प्याज बिक्री भइरहेको उपभोक्ता बताउँछन्।
बुटवलकी उपप्रमुख तथा उपमहानगरको अनुगमन समितिकी संयोजक गुमादेवी आचार्यले अनुगमनलाई निरन्तरता दिने बताइन्।
‘जानकारी दिएर अनुगमन गर्ने होइन, छड्के अनुगमन गर्ने हो, कुनै पनि बेला पसलहरुमा छापा मार्न सक्छौं’–उनले भनिन्–‘बढी मूल्य लिएर कालोबजारी गरेको देखिए तुरुन्त कारबाही गर्छौ।’
प्याज लगायत अन्य खाद्यपदार्थ र उपभोग्य वस्तुको अनुगमन गर्ने उनको भनाइ छ। एक्कासी मुल्य बढ्नुमा किराना, थोक व्यवसायी र गोदामहरुले एक अर्कालाई दोष लगाएको पाइन्छ।
लुम्बिनी फलफूल तथा तरकारी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि थोक बजार केन्द्रमा कारोबार हुन छोडेको बताए।
‘हामीकहाँ प्याज आएकै छैन, बेचेका छैनौं, भैरहवातिर स्टक भएको पनि साथीहरुले डराएर मगाएका छैनन्’–उनले भने–‘खुद्रा पसलहरुले कसरी बेच्छन थाहा भएन, उनीहरुले महंगोमा बेचे भनेपनि थोक बिक्रेताको नाम आउँछ।’
पछिल्लो समय आफूहरु कहाँबाट नभई सीमा क्षेत्रबाट साइकलमा ओसारिएकाहरुबाट बजारमा प्याज आएको भुसालले बताए।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले कालोबजारीको दोष खुद्रा व्यापारीलाई दिनु सरासर गलत भएको बताए।
‘मण्डीबाटै महंगोमा किन्न बाध्य छौं, जतिमा किन्यो त्यसमा पाँच दश रुपैयाँ नाफा राखेर बेच्ने हो’–उनले भने–‘कालोबजारी गर्नको लागि स्टक राख्ने क्षमता पनि हामीमा हुँदैन, कसरी कालोबजारी गर्छाैं र ?’
न्यौपानेले ठूला व्यापारीले गल्ती गर्ने र दोष साना व्यापारीमा आएको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मूख्य सीमानाका बाहेक अन्यत्रबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने बताए।
‘भन्सार गरेर आउने बाहेक अरु अबैध किसिमबाट आउन क्रमलाई हामी रोक्छौं’–उनले भने ‘त्यसको लागि सुरक्षाकर्मीहरुलाई परिचालन गर्छाै।’
प्रमुख जिल्ला अधिकारीले घिमिरेले प्याजको कालोबजारी रोक्न सबै क्षेत्रमा अनुगमन जारी राख्ने बताए।
‘सबै नगरपालिकाहरुसँग हाम्रो कुरा भइरहेको छ’–उनले भने ‘केही ठाउँमा अनुगमन पनि भएको छ, यसलाई निरन्तरता दिन्छौं।’ कसैले महंगोमा बेचेको थाहा पाएमा तुरुन्त कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरले बताए।