दाङ–वीरबहादुर लोहारले दाङ-काठमाडौं बस चलाउथे। चैत ९ गते बाट उनले बस चलाउन पाएका छैनन्। कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले लकडाउन गरेपछि उनको रोजगारी खोसिन पुग्यो।
पाँच जनाको परिवार उनकै कमाईबाट चल्थ्यो। बस चलाएर मासिक ५० हजार रुपैयाँ सम्म आम्दानी हुन्थ्यो। तर, बितेको पाँच महिनामा एक रुपैयाँ पनि आम्दानी भएको छैन। उल्टै ऋण थपिएको छ।
लमहीमा कोठा भाडा लिएर उनको परिवार बसेको छ। 'कोठा भाडा समेत तिर्न सकेको छैन। साँझ विहानको छाकको लागी दाल, चामल किन्न साहुसँग ऋण काडेको छु’-विरबहादुरले दुःख बिसाउँदै भने–‘गाडी चलाउन नपाउँदा घरमै थन्किएर बस्नु परेको छ। जानेको काम त्यही थियो।’
वीरबहादुरले गएको तीजमा श्रीमतीलाई नयाँ कपडा किनिदिन सकेनन्। चार्डपर्व पनि खल्लो हुदै गएका छन्। ‘रहर गरेर के गर्नु, कमाई छैन, पाँच महिना सम्म खाली हात बस्नु परेको छ। श्रीमतीलाई तीजमा नयाँ कपडा समेत किनिदिन सकिन। दशैं आउँदै छ। छोराछोरीले रहर गर्लान्। के भनेर टार्ने’-उनले भने–‘न गाडीसाहुले एक पटक फोन गर्नु भएको छ। न सरकारले हेरेको छ।’
लकडाउन भएको महिना दिनपछि वडा कार्यालयले राहत वितरण गर्यो। तर, लोहारको परिवारले राहत पाएन। ‘गाडी चालक हो भनेर राहत दिएनन्। घरमा चुलो बल्ने अवस्था थिएन। तर, राहत दिइएन’-लुहारकी श्रीमती सरितादेवी लोहारले भनिन्–‘आफ्नो के अवस्था छ, अरुलाई के थाहा, दाल, चामल किनेको ऋण पसलमा गाभिदै गएको छ ।’
तेजप्रसाद अधिकारी (राजु) ना ५ ख २३९८ नम्बरको गाडीधनी हुन्। पाँच महिना भयो गाडी पार्किङमा थन्किएको छ। गाडी चलाउन नपाउदा अन्यत्रबाट लिएको ऋण थपिदै गएको उनले बताए।
‘गाडी चलाउन नपाउदा ग्यारेजमा थन्किएको छ। बसमा खिया लाग्यो। टायर गाडिन थाल्यो’-तेजप्रसादले भने–‘यो लकडाउनले सबैभन्दा मार त यातायात क्षेत्रमा पर्यो। सरकारले गाडी चलाउन भनेपनि हामी यही अवस्थामा चलाउनसक्दैनौं, एक डेढ लाख रुपैयाँ मर्मतमै सकिन्छ, यो पैसा कहाँबाट जुटाउनु।’
उनले लामोसमय गाडी नचलाइ राख्दा जाम हुने बताए। ‘गाडी त कवाड हुन थालिसक्यो, लेदर जाम भयो। मोविल फेर्न पर्छ। गाडी पूरै मर्मत नगरेसम्म चलाउन सकिने अवस्था छैन’-अधिकारीले भने–‘सरकारले बैंकमा ऋण भएका व्यवसायीको किस्ता सार्नुपर्छ र तत्काल मर्मतको लागि सहुलियत ऋण लिने व्यवस्था मिलाउनुपर्छ।’
लमही निवासी कुमार भट्टराईले बस नामसारी गरेको केही दिनमै लकडाउन भयो। बैंकबाट ऋण लिएर बस किनेको पैसा भुक्तानी गरेका भट्टराईले मासिक ४४ हजार भन्दाबढी रुपैयाँ किस्ता बुझाउनु पर्छ। गाडी नचलेकाले किस्ता बापतको रकम बुझाउन सकेका छैनन्।
‘ऋणको भारी थपिदै गएको छ, यो महामारीले गर्दा त्यसको सबैभन्दा पीडा हामीले सहनु परेको छ’-भट्टराईले भने–‘गाडी साहुलाई पनि मर्का छ, त्यसमा पनि गाडीमा आश्रित भएका चालक, सहचालकहरुको अवस्था दयनीय छ।’
कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न रोकेपछि दाङमा मात्रै झण्डै ८ हजार यातायात मजदुर बेरोजगार भएको नेपाल स्वतन्त्र यातायात संगठन दाङका अध्यक्ष केशव भण्डारीले बताए।
लामो र छोटो दुरीमा चल्ने सवारी साधनमा कार्यरत चालक, सहचालक र परिचालकहरु बेरोजगार भएको र उनीहरुको व्यवस्थापनमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेकोमा उनी आक्रोश पोख्छन्।
‘मजदुरको घरको चुल्हो बल्न धौ धौ छ, अहिलेको अवस्थामा मजदुरलाई निकै सकस छ’-भण्डारीले भने–‘दैनिक काम गरेर घर परिवार चलाउँदै आएकाहरुको अवस्था के होला ? हिजो रोगदेखि डराउनु पर्ने अवस्था थियो। अहिले भोकदेखि डराउनु पर्ने अवस्था आयो।’ देशभर ११ लाख यातायात क्षेत्रमा आश्रित श्रमिकको रोजगारी गुमेको भण्डारीले बताए। सरकारले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई सम्बोधन गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिए।