रुपन्देही–बिहान ४ बजे उठेपछि रुपन्देही सैनामैना नगरपालिका ६ बैकुण्ठपुरका गोविन्द प्रसाद कँडेलको दिनचर्या घर, गोठ र खेतबारीमा नै बित्छ। गुल्मीकोे चारपाला अम्मर अर्बाथोकमा जन्मिएका कँडेल ५२ वर्ष पुगे। उनले कक्षा १ देखि ८ सम्मको पढाई दरबार माविमा पूरा गरेका थिए।
कक्षा ८ उत्तीर्ण गरेपछि २०४२ सालमा पाल्पा आए। पाल्पाको भैरवस्थान माविमा कक्षा ९ मा भर्ना भए। उनले आफ्नो पढाइलाई अगाडि बढाउदैँ थिए। कक्षा १० मा पनि भर्ना भए। तर, बीचमै पढाइ छाडेर भारत जाने निधो गरे।
उनी २०४४ सालमा भारतको बनारस गए। बनारस गएर उनले कक्षा १० पास गरे। ११ पढ्दै गर्दा बीचमै छोडेर फेरि कँडेल नेपाल फर्किए। त्यसपछि उनले चारपाला घरमा नै केही वर्ष बिताए।
करिब २०५३ सालतिर परिवारमा तराई झर्नेबारे छलफल भयो।
सोही क्रममा उनी परिवारसँगै सैनामैना रामापुर आए। उनले जिविकोपार्जनका लागि के गर्ने भन्ने सोंच बनाउँदै थिए। कँडेललाई विदेश जान पनि मन थिएन। नेपालमै केही गरुँ भन्ने थियो। यही क्रममा उनको इच्छा व्यवसायतर्फ केन्द्रित भयो।
उनले कलौनीमा कँडेल टिभी सेन्टरको व्यवसाय पनि सुरु गरे। करिब १० वर्ष सम्म व्यवसायलाई निरन्तरता दिए। उनले ग्राहकको मन पनि जित्दै थिए। व्यवसायी भनेर परिचित हुँदै थिए। दुखःसुख गर्दै अनेकन सपना बुनिरहेका थिए, कँडेल।
आर्थिक रुपमा आम्दानी पनि राम्रो नै थियो। द्वन्द्वकालको समय थियो। परिस्थिति सहज थिएन। दिन प्रतिदिन पसलमा चन्दा माग्न आउन थाले, कहिले दिउँसो, कहिले राति। अनेकन समस्या र झन्झट् देखा पर्न थाले। त्यसपछि उनले व्यवसायलाई चटक्कै माया मारे, र व्यवसाय गर्न छोडे।
कँडेललाई अब फेरि के गर्ने भन्ने समस्याले पिरोल्न थाल्यो। २०६२ सालतिर भिजिट भिसामा दुवइ गए। रोजगारका लागि विदेश नजाने सोंच बनाएका कँडेललाई विदेशी भूमिमा जानुपर्ने बाध्यता बन्यो। उनले दुवईमा काम गर्न थाले–शौचालयमा राखिने सिटहरु बनाउने कम्पनीमा।कम्पनीमा एक महिना बिदा पाउथे। जसले गर्दा एक–एक वर्षमा नेपाल आउने जाने गर्न थाले।
यसरी नै उनको जीवन निरन्तर चलिरहेको थियो। २०७१ सालतिर उनी स्वदेश फर्किए। दुवईबाट फर्किएसँगै सैनामैना ६ स्थित बैकुण्ठपुरमा सपरिवार स्थायी रुपमा बस्न थाले। त्यसपछि भने उनलाई विदेश जान मन लागेन। दुवईमा काम गर्दा उनले बहुउपयोगी वृक्ष शीतलचिनीको बारेमा सुनेका थिए।
छिमेकी देश भारतको केरला प्रान्तमा बिक्री गरेको पनि देखे। उनीहरुले सित्तलचिनीको महत्व र यसलाई पर्ने मूल्यको बारेमा पनि बुझाए। नेपालमा यसको प्रशस्त सम्भावना रहेको समेत उनीहरुले कँडेललाई सुनाएका थिए।
स्वदेश फर्केपछि कँडेलले शीतलचिनीको व्यवसायिक खेतीका बारेमा बुझ्न थाले। कँडेलको सैनामैना १ बनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईसँग चिनजान थियो।
भट्टराईले आफ्ना भाई हरि प्रसाद भट्टराईसँग चिनजान गराए। उनलाई शीतलचिनीबारे राम्रो ज्ञान थियो। कँडेलले भट्टराईसँग यसबारे जानकारी लिए। उनले साझेदारीमा शीतलचिनीको व्यवसायिक खेती गर्ने योजना नै बनाए। कँडेल भन्छन्–‘साझेदारीमा शीतलचिनीको खेती गर्न दुवै जना तयार भयौँ। २०७२ सालमा बैकुण्ठपुरमा ३ विघा र प्राकृतिक चिकित्सालयमा ८ विघा जग्गा लिजमा लियौँ।’
त्यसपश्चात भारतको तामिलनाडुबाट ४ हजार रुपैयाँ प्रतिकिलोमा ५० किलो बीउ ल्याएर शीतलचिनी उत्पादनको सुरुवात गरेको कँडेलले सुनाए। उक्त बीउबाट ५० हजार बिरुवा उम्रिए। एक महिनामा नर्सरी (बिरुवा) तयार पनि भयो। दुबै ठाउँमा बिरुवा लगाए। ६ महिनामा पात र हागाँहरु काटे।
प्रशोधनका लागि उनीहरुसँग प्रर्याप्त मेशिन भने थिएन। त्यसैले कपिलवस्तुको गोरुसिङ्गेदेखि ३ किलोमिटर पश्चिम बुड्ढी भन्ने ठाउँमा लगेर प्रशोधन गरे। प्राकृतिक चिकित्सालयबाट साढे दुई लाख बराबरको शीतलचिनी बेचे। तर, बैकुण्ठपुरमा लगाएको बिरुवाबाट भने राम्रो हुन सकेन। त्यसपछि भने गोविन्दले बैकुण्ठपुरको जग्गामा एक्लै शीतलचिनी लगाउन थाले।
यसको माग बढ्दै गएपछि आफुले जग्गा लिजमा लिएर खेती गर्न थालेको कँडेल बताउँछन्। खोज्दै जाने क्रममा २०७४ सालमा छपियामा १४ विघा जग्गा लिजमा लिए। त्यो पनि ३ जनाको साझेदारीमा थियो। जसमा हाल काठमाडौँ बस्ने भक्त बहादुर बलायर र धादिङका सन्तोष थिए। कँडेल भन्छन्–‘१३ हजार बिरुवा रोपिएकोमा हाल १० हजार बराबर बिरुवा छन्। आम्दानी राम्रो छ। प्रशोधन पनि बैकुण्ठपुरमै हुन्छ।’
त्यस्तै साझेदारीमा नै २०७५ मा शुद्धोधन गाउँपालिका वडा नं.१ शिशै माविको ८ विघा जग्गा पनि लिजमा लिएर शीतलचिनी, कागती र मेवा लगाएको उनले सुनाए।
आफै एक्लैले पनि जग्गा लिजमा लिएर शीतलचिनी लगाएको कँडेलले बताए। उनले वडा नं. ६ को भरतपुरमा १ विघा ३ कट्ठा जग्गामा र वडा नं. ९ को चङ्खेपुरमा १५ कट्ठा जग्गामा समेत शीतलचिनी लगाएको बताए। यहाँ करिब २० हजार बिरुवा छन्।
कँडेल भन्छन्–‘यसलाई हरेक दिन समय दिनुपर्दैन। मंसिरदेखि माघसम्म खनजोत र गोडमेल गर्छु, फागुनदेखि जेठसम्म एक–एक पटक सिँचाई गर्छु, भरतपुरमा कुलो लाग्छ, अन्य ठाउँमा भने पम्पसेट चलाएर गर्छु, राम्रो मलजल भए, वर्षमा चारपटकसम्म पातहरु काट्न पाइन्छ’–उनले थपे–‘पातहरु काट्छौँ, धुन्छौँ, ड्रायरभित्र सुकाउँछौँ र प्रशोधन गर्छौ।’
काम गर्दै गएपछि कँडेलले इनोभेटिभ बहुउद्देश्यीय कृषि फर्म पनि दर्ता गरे। उनले ३ जनालाई रोजगारी समेत दिएका छन्। जसमा २ महिला र १ पुरुष छन्। कँडेलले भरतपुरमा ४ जनालाई निशुल्क बिरुवा दिएर उनीहरुसँगबाट पनि पात समेत किन्छन्।
गतबर्ष करीब १७ क्वीन्टल शीतलचिनी बेचेका कँडेलले यस वर्ष ३० क्वीन्टल बेच्ने लक्ष्य राखेका छन्। कँडेल भन्छन्–‘वार्षिक करिब १० देखि १५ लाख सम्म आम्दानी हुन्छ। प्रतिकिलो १ हजार रुपैँयाका दरले शीतलचिनी बेच्छु। घर खर्च राम्रो सँग चलेको छ।’
कँडेलका अनुसार हाल बाहिरी मुलुकमा यसको माग बढी छ। उत्पादनमा भने कमी छ। अन्य मुलकमा बेच्नका लागि माग अनुसार पुग्दैन। नेपालमा पर्याप्त प्रचारप्रसार र यो बालीका बारेमा कृषक र आम उपभोक्ता अझै अनविज्ञ छन्। हाल उत्पादन गरिरहेको शीतलचिनी प्रायजसो काठमाडौँ जान्छ। स्थानीय स्तरमा डाक्टर, आर्मी क्याम्प र प्रहरी चौकीमा समेत बिक्री हुन्छ।
परिश्रम, जोस र जाँगर भएका गोविन्दले माग अनुसारको बिक्रीका लागि थप जग्गा लिजमा लिएर शीतलचिनीको खेती गर्ने योजनामा छन्। सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा पात पिस्ने ग्रेन्डिङ मेशिन उपलब्ध गराएको कँडेल बताउँछन्।
पौरखी कँडेलले शीतलचिनीको उत्पादन मात्र नभएर भैँसी फर्म समेत सञ्चालन गरिरहेका छन्। फर्म सञ्चालन गरेसँगै उनले प्रदेश ५ सरकारबाट ५ लाख र सैनामैना नगरपालिकाबाट १ लाख अनुदान पनि पाए।
उनको फर्ममा हाल १३ वटा भैँसी छन्। ८ वटा भैँसीले दुध दिन्छन्। दिनमा २ सय ५० लिटर सम्म दुध बेचेको कँडेलको अनुभव छ। हाल भने ४० देखी ५० लिटर सम्म दुध बेच्छन्। कँडेलले भैँसी फर्मबाट भने सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्।
उनी भन्छन्–‘सम्बन्धित निकायले अनुदान मात्र होइन। बजार व्यवस्थापन गरिदिन सक्नुपर्दछ। तब मात्र कृषकको हित हुन्छ।’
कँडेलकी श्रीमती शान्ता पाण्डे पनि काममै व्यस्त हुन्छिन्। कँडेल परिवारको एक छोरा छन्। गोविन्द प्रसाद कँडेल पनि पृथक काम र सफलताका लागि सबेरै उठेर राति नसुतुन्जेलसम्म निरन्तर काम गरिरहन्छन्।
शीतलचिनीको महत्व
शीतलचिनी तराई तथा मध्य पहाडमा पाइन्छ। यसको जरा, बोक्रा, पात डाँठ, फूल, कोसा र बियाँ गरी सबै प्रयोग हुने बहुहितकारी वनस्पतिको रुपमा चिनिन्छ।
केही विशेषज्ञका अनुसार यो संसारकै धेरै पोषिलो बाली मध्येको एक हो मानिसको शरीरलाई चाहिने भिटामिन, खनिजतत्व, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, पोटासियम, क्याल्सियम लगायतका पदार्थ शीतलचिनीमा भरपुर मात्रामा पाइन्छ। १ सय ग्राम शीतलचिनीको सुकेको पातको धुलोमा २०५ क्यालोरी र कोसामा २६ क्यालोरी पाइन्छ।
शीतलचिनीबाट अहिले चर्को रुपमा देखा परिरहको मुटुसम्बन्धि समस्या, मधुमेहसम्बन्धि समस्या, क्यान्सर, छालासम्बन्धि समस्या र एच.आइ.भि एड्स जस्तो समस्यामा रोग प्रतिरोधक क्षमता बढाउनमा यसको प्रयोग गरिन्छ। शीतलचिनीको कोसा र पातको प्रयोगले पाचन प्रक्रियालाई बलियो पार्छ। विशेषज्ञका अनुसार एउटा शीतलचिनीको बोटबाट ३ सय किसिमको रोगहरुको उपचार गर्न सकिन्छ।