गुल्मी–गुल्मीको रेसुंगा विमानस्थलको अहिले अन्तिम चरणका कामहरु भइरहेका छन्। बिमानस्थलको अवको महत्वपूर्ण संरचना धावन मार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजाली हो।
त्यसमध्ये धावन मार्ग निर्माणको काम गत बर्ष नै सञ्चालन भएको थियो। बुधबार टर्मिनल भवन, कन्ट्रोल टावरको शिलन्यास भएको छ।
रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलन्यास गरेका हुन्। टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्ड्यन प्राधिकरण एरोड्रो इन्जिनियरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जे.भीले निर्माण सम्झौता गरेको छ।
एक वर्षमा भवन र टावर निर्माण
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्सनका व्यवस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिए।
०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ। अहिलेभन्दा कोभिडको संक्रमण नबढेमा अन्तिम मिति अगाडि नै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिए।
टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास गर्दै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे।
भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा आफुहरुले कुनै अवरोध नगरेको बताउँदै अझै पनि व्यावसायीलाई काममा कुनै समस्या नहुने बताए।
धावन मार्गको काम सुस्त
महत्पवूर्ण संरचनाको काम निममित भए आगामी वर्ष विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ। टर्मिनल भवन र कन्ट्रोल टावरसहितको अर्को महत्वपूर्ण संरचना धावन मार्ग हो।
०७६ साउनमा धावन मार्गको काम रौताहा हरि हरि जे.भीले सात करोड २५ लाखमा सम्झौता गरेको छ।
तर धावन मार्ग निर्माणको कामले सोचे अनुसारको गति लिएको छैन।
सम्झौता अनुसार ०७७ कार्तिकसम्म धावन मार्ग कालो पत्रेको काम पुरा गर्नुपर्ने भएपनि ३० देखि ३५ प्रतिशत काम मात्रै भएको विमानस्थल आयोजनाका सहायक प्रमुख दिनेश परियारले जानकारी दिए।
केही मात्रामा कोभिडको असर देखिएपनि निर्माण कम्पनीले कामनै नियमित नगरेको उनको भनाई छ। त्यस्तै बिमानस्थल तारजालीको काम पनि ०७६ पुसमा मौषम हरिष निर्माण सेवाले ९१ लाखमा निर्माण सम्झौता गरेको छ।
काम नियमित भए करिव तीन महिनामा तारजालीको काम सम्पन्न हुने विमानस्थल आयोजनाका सहायक प्रमुख परियारले बताए।
पाँच बर्षमा ४५ प्रतिशत प्रगति
रेसुंगा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका थिए। शिलन्यासपछि थुप्रै वर्ष कुनै काम भएन।
औपचारिक रुपमा ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित रुपमा भएको छ। विमानस्थल शिलन्यास गर्दा पर्यटनमन्त्री भएका ज्ञवाली अहिले परराष्ट्र मन्त्री छन्। धुले परिक्षण उडान भएका पनि दुई वर्ष भन्दा बढी भइसक्यो। अहिले नियमित उडानको संरचना निर्माणको काम भइरहेको छ।
पछिल्लो समय ज्ञवालीले विमानस्थल निर्माणलाई विशेष चासो दिएकाले आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।
उनले आफुहरुको सोच अनुसारको निर्माण व्यवसायीहरुले काम नगर्ने प्रवृति भएकाले समयमै काम गर्न गाह्रो भएको पन्थले बताए।
विमानस्थल आयोजनाका सहायक प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिकरण, कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर बिमानस्थल निर्माणको काममा २१ करोड खर्च भएको छ। समग्र विमानस्थल निर्माणको हिसाबले आर्थिक तथा भौतिक रुपमा ४५ प्रतिशत काम भएको परियारले बताए।