गुल्मी–गुल्मीको ऐतिहासिक बम्घा कोट संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा पर्दे गएको छ। रुरु क्षेत्र गाउँपालिका ६ को अग्लो टुप्पोमा बम्घा कोट पर्छ। कोटकै पेरिफेरी र बाहिर सौन्दर्य निकै मनमोहक छ।
भुरे टाकुेर राज्य पहिलेका किम्वदन्ती गाउँमा छन्। तर बम्घाकोटको अहिलेसम्म वास्तविक पुरातात्विक अध्ययन अनुसन्धान भएको छैन। स्थानीय वीर बहादुर परियार अहिले ५६ बर्षका भए। १८ बर्षको उमेरदेखि बम्घाकोटको मेला महोत्सवमा बाजा बजाउँछन्। उनले जान्नेदेखि नै कोटको अवस्था त्यस्तै छ।
‘म बुढो भएँ कोटको अवस्था फेरिएन, कोट तीन/तीन वटा टावरले घेरिएको छ्,’उनले भने,‘संरक्षण र प्रचारप्रसार छैन, विकास हुने कुरै भएन।’
कोटमा प्राचीन समयका बन्दुकको नाल, खुँडा, तरबार छन्। त्यो बेलाको दरबार छाउन प्रयोग गरिएका झिँगटीका टुक्राहरु छन्।
यी सामग्रीहरुको कारण कोटको सम्बन्ध ऐतिहासिक भएपनि सोही अनुसारको अध्ययन, अनुसन्धान र विकासमा पहल भएको छैन्।
अहलेसम्म बम्घा कोट, दरवार र त्योसंग जोडिएका संरचनाहरुको संरक्षण भएको थिएन। अहिले पनि रानीले काटेको ढुङ्गाको पश्चिमतिरको भाग फुटेको छ। त्यो संरक्षण नहुनुको प्रमुुख कारण हो।
त्यस्तै मन्दिर निर्माणको काम पनि अधुरो नै रहेको छ। गत बर्ष कोट संरक्षणको लागि प्रदेश नं ५ बाट ५० लाख बिनियोजन भएको थियो। मन्दिर निर्माण र रानीले काटेको ढुङ्गा वरिपरी बार तथा पैदल मार्ग निर्माणको लागि बजेट बिनियोजन भएपनि सोचे अनुसार काम गर्न नसकिएको वडाध्यक्ष गिरीप्रसाद सिंजालीले जानकारी दिए।
बम्घाकोटमा बिशेष गरेर बर्खे र चैते गरेर दुई दशैमा ठुलो मेला लाग्ने गर्दछ। कोटको मुख्य मन्दिर भँगेर देवताको हो। भैरव मन्दिर र शिलादेवि गरी कोटमा जम्मा चार मन्दिर छन्।
अहिले तीनै सरकारसम्म कोटको गूरुयोजना निर्माणको लागि पहल भइरहेको सिंजालीले जानकारी दिए। रानीले काटेको अचम्मको ढुङ्गा छ। रुरु क्षेत्र गाउँपालिका ६ को बम्घा कोटको दक्षिण पश्चिममा छ।
झट्ट देख्दा ढुङ्गा काटेकै जस्तो देखिन्छ। ढुङ्गाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ। त्यसैले स्थानीयहरु त्यो ढुङ्गालाई रानीले काटेको ढुंगा भन्ने गर्छन्। बम्घाकोट पर्यटकीय विकास संरक्षण समिति अध्यक्ष नारायण प्रसाद पौडेलका अनुसार लडाइँमा बम्घाकोटका राजा लामो समय हराए।
पीडाले बिक्षिप्त मिना रानीले लामो समय तपस्या गरिन्। तपस्याबाट उठेपछि तरवारले ढुङ्गामा प्रहार गर्ने, काटिए राजाको मृत्यु र नकाटिए जिवित भएकाले खोज्ने उनको योजना थियो। रानीले तरवारले ढुङ्गा काटिएपछि राजा मारिए भनेर दरवार छोडेको किवदन्ती गाउँमा रहेको पौडेलले बताए।
दरवार छोडेपछि रानी बास बसेको स्थानलाई अहिले रानीबास भन्ने गरिएको छ। उनले संसारका १७ वटा अनौठा चट्टान मध्ये यो ढुङ्गा केही नभएको बताए। सोही ठाउँमा कुर्सी आकारको ढुङ्गा पनि छ। त्यसमा बसेर राजाले न्याय दिने र दृश्यावलोकन गर्ने गर्थे। त्यो कोटसंग जोडिएर धेरै सन्दर्भहरु रुरु क्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा छन्।
कोटको केही तल सुल डाँडा भनिन्छ। जहाँ राजाले अपराध गर्नेहरुलाई सुली चढाउँथे। अर्को ठाउँ चौतारा हो। सभा तथा स्थानीय भद्र भलादमीसंग भेटघाट र आराम गर्ने ठाउँ चौतारा थियो। भण्डार भन्ने स्थान पनि कोटकै पुर्व तल्लोपट्टी छ।
जहाँ भोज भतेर गरिन्थ्यो भन्ने आफुहरुले सुनेको स्थानीय हिरा बहादुर पल्लीले बताए। राजाले पैसा काट्ने ठाउँलाई अहिले बलेटक्सार भन्ने गरिन्छ। रानीको नामबाट नामाकरण गरिएको मिनापोखरी र रानीको हेरबिचार गर्ने रखबारे कालीको नामबाट कालीवन भनिएको सवैको जनजिब्रोमा रहेको पल्लीले बताए।