बुटवल-सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने गरी पुन: छलफल थालेको छ।
२०७९ सालदेखि नै निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनेगरी छलफलको शुरुवात भएपनि ३ वर्षसम्म यसको निकास निस्किएको छैन।
३ वर्षअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भनेका थिए-‘अहिलेको यहि संरचनाले विमानस्थल सुधार हुने देखिएन, अब अन्तर्राष्ट्रिय मोडलमा नेपालका विमानस्थल सञ्चालनमा लैजाने तयारी हो।’
यस्तै शैलीको कुरा २०८० भदौमा तत्कालीन पर्यटन मन्त्री सुदन किराँतीले विराटनगरमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक–प्राइभेट–पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालन गर्न सकिनेबारे छलफल भइरहेको दोहोर्याए।
किरातीले महँगोमा निर्माण भएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने सम्पूर्ण तयारी गरिसकेको त्यसबेला बताएका भएपनि अहिलेसम्म कुनै निचोड निस्किसकेको छैन।
३ वर्षअघिदेखि चर्चा भइरहेको विषयलाई बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे शनिबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गरे।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि आफू लागेको पनि उल्लेख गरे। “विमानस्थल सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको छ”, उनले भने, “सुरक्षा, अध्यागमनलगायत विषय सरकार मातहत आउने भएकाले निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ।”
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटनमन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताए।
भैरहवाको विमानस्थल सञ्चालनका लागि भैरहवा आगमनलाई बढाउने बताएका मन्त्री पाण्डेले विमानस्थल सञ्चालन पर्यटनमन्त्रीको मात्रै प्रयासले नहुने बताए।
सरकारले भैरहवा विमानस्थल निर्माणमा मुआब्जासहित ३३ अर्ब रुपैयाँ खर्च गरेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।
तत्कालिन प्रधानमन्त्री सुशील कोराइलाले २०७१ माघ १ गते शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आठ वर्षपछि निर्माण भएको थियो।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। मुआब्जासहित ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको थियो।
विमानस्थल सञ्चालनका लागि स्थानीयको जोडबल
भैरहवामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन हुन नसक्नु दुःखद भएको बताए। काठमाडौंमा उडान चापले हवाईमार्ग अवरुद्ध भइरहँदा विमानलाई भैहरवामा अवतरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमानमा अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा राखे।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले प्रष्ट पार्न आवश्यक रहेको बताए। “हामीलाई सधैं निराशामा राख्न हुँदैन, विमानस्थल चलाउन सकिँदैन भने सक्दैनौं भन्नुपर्छ”, उनले भने।
विमानस्थलका महाप्रबन्धक प्रतापबावु तिवारीले यात्रुलाई थप सुविधा नदिँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए। “श्रम, भिसा र म्यानपावरका लागि काठमाडौं धाउन परेपछि यहाँ यात्रु किन आउँछन ? पहिला यी समस्या समाधान गर्नुपर्छ”, उनले भने।
उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा नियमितता दिन नसकेको जनाए। तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए नियमित उडान गर्नुपर्नेमा उनको जोड छ।