गुल्मी–ड्यामको अर्थ पानी रोक्ने हो। रेसुङ्गा पोखरी नजिक खोल्सामा अहिले दुई वटा पर्खाल लगाइएको छ। झट्ट देख्दा ड्याम भन्न मिल्दैन। करिव एक/डेढ सय मिटरको दुरीमा दुई वटा पर्खाल निर्माण भएका छन्।
पहिलो कुरा ड्याममा आफै पानी अडिदैन। अहिलेको अवस्थामा पानी अडिए पनि ड्यामले थेग्ने संभावना कम छ। त्यो खोला पर्थटकीय तथा धार्मिक स्थल पोखरीदेखि नजिक र ऐतिहासिक धार्मिक स्थल यज्ञशाला निस्कने ठाउँमा पर्छ।
खोला छेकेर ताल निर्माण गरे पर्यटकीय दृष्टिकोणले सुन्दर र वन सिंचित पनि गर्ने उदेश्य रेसुङ्गा संरक्षण समितिको थियो।
गत वर्ष गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गाको पोखरी नजिक ड्याम निर्माण गर्न प्रदेश ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट २० लाख बिनियोजन भयो। डिभिजन वन कार्यालय गुल्मीका अनुसार करिव १६ लाख बराबरको काम भएर भुक्तानी भएको छ। तर ड्यामको आलोचित बन्दै गएको छ।
पर्यटकीय ताल भनेरै मन्त्रीसंग आफुहरुले बजेट माग गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले बताए।
उनले आफ्नो स्वार्थ पुरा गर्न डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको बेहाल बनाएको आरोप लगाए। उनले वन र संरक्षणसमिति बिच छलफल एउटा तर काम अर्कै गराइएको बताए।
सुरुमै झार माथि पर्खाल लगाएको बिषयलाई पटक–पटक वनमा ध्यानाकर्षण गराए पनि सुधारको पहल नभएको, पोखरीमा सिडी निर्माण नगर्न आग्रह गरे पनि निर्माण गरिएको भुसालले बताए। उनले आफुहरुका ५० हजारका ढुङ्गा समेत ड्याम निर्माणमा प्रयोग गरेर अन्तिममा उपभोक्ता समितिले पैसानै नदिएको बताए।
प्रमुख काम ड्याम निर्माण हो। त्यो बाहेक अरु काममा पनि रकम खर्च गरिएको पाइएको छ। रेसुङ्गा पोखरीको पश्चिम मोडमा दुई तह सिडी निर्माण गरिएको छ। सिडीसहित गेट निर्माणको डिजाइन सोही ठाउँमा पहिले नै भएको छ।
रेसुङ्गा नगरपालिकाका सव इन्जिनियर चक्र केसीले पोखरीको गेटमा अहिले बनाइएका सिडीको कुनै अर्थ नभएको बताए।
उनले प्रमुख काम ड्याम निर्माणलाई कम प्राथमिकता दिएर आफुहरुले पहिलेनै डिजाइन गरेको ठाउँमा सिडी निर्माण गर्नु लज्जास्पद बिषय भएको बताए।
डिभिजन वन कार्यालयले सुरुमा रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिसंग कामको सम्झौता गर्यो। उपभोक्ता समितिले स्थानीय राजन काउछालाई काम दियो। काउछाले फेरि दिपेश अर्याललाई ठेक्का दिए। तर भने अनुसारको काम भएन।
जसका कारण अन्तिममा जीत बहादुर गुरुङ्ग मार्फत काम सम्पन्न गरेको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कुवंरले जानकारी दिए। उनले पनि ड्यामको बिषयमा प्राविधिक कमजोरी रहेको बताए।
आफुले पनि ड्याममा पानी संकलनको बिषय वन कार्यालयलाई बताए पनि स्टिमेटनै त्यस्तै बनाएकाले सोही अनुसारको काम गरेको कुवंरले बताए।
कुवंरका अनुसार पहिले तीन वटा ड्यामको काम गर्ने भने पनि पछि दुई वटा मात्रै गरिएको छ।
करिव पाँच लाख बराबरको जनश्रमदान गर्ने समझौता भएको छ। तर जनश्रमदान गरिएको छैन्। उनले पछि सम्झौता बाहेर पोखरी नजिक सिडी र मैरी निर्माण लगायत मर्मतको काम गरिएको बताए।
ड्याम निर्माणको भुक्तानीको बिषयमा डिभिजन वन कार्यालय र उपभोक्ता समितिका दुई खाले दावी देखिएका छन्। डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जनश्रमदानसहित करिव २४ लाखमा कामको आधारमा अहिले पन्ध्र÷सोह्र लाख बराबरको भुक्तानी गरिएको बताए।
ड्यामको अपव्याख्या गरेर गलत प्रचार गरिएको भए पनि सम्झौता अनुसारको काम र भुक्तानी भएको दावी सापकोटाको छ। निर्माण गरिएको ड्याममा पानी नअडिएको बिषय स्विकार गर्दै अहिलेनै पानी भरिने खालको नबनाइएको सापकोटाले बताए।
उनका अनुसार दुई/तीन बर्षपछि पात र वालुवाले बुझिएर आफै ताल बन्ने भएकाले अहिले ड्यामले ठुलो बाढी आए रोक्ने र सानो पानीलाई शुद्धिकरण गर्ने काम मात्रै गरिरहेको छ।
निर्माणको काम पाएको रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कुवंरले भने आफुहरुले तीन किस्तामा करिव १२ लाख मात्रै भुक्तानी गरेको दावी गरेका छन्।
उनले आफुहरुसंग भुक्तानी गरेका बैक स्टेटमेण्टहरु सुरक्षित भएको बताउँदै गलत आरोपको खण्डन गरे।