गुल्मी–संरचना निर्माण गर्न हतारो गर्ने तर व्यावस्थापनमा चासो कम दिने प्रवृतिको पछिल्लो उदाहरण तम्घासको थ्रिडी पार्क हो। रेसुंगा नगरपालिका र प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको छ ।
बर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर पार्क बनाउने बिषयमै थुपै्र मतभेद थिए । तर पार्क निर्माण सुरु गरियो । तर पार्कको संरचना निर्माण भएको पनि बर्षदिन पुगे पनि सञ्चालन र व्यावस्थापन प्रक्रिया अन्यौलमा परेको छ ।
एक वर्षसम्म निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । सञ्चालन र व्यावस्थापनको काम केहि भएको छैन् । जसका कारण संरचना बिग्रन थालेका छन् । पार्कमा हस्तान्तरण नहुँदै नागरिकको मनलाग्दी चलेको छ ।
पार्कमा बस्नेहरुले फोहोर गर्ने, बत्ती लगायतका संरचना बिगार्ने गरेका छन् ।फोहोराबाट संकलन हुने पानीमा सडक बालबालिकामा पौडी खेल्न थालेका छन् । पार्कको गेट भाँचिएको छ । रंगरोगन समेत मेटिन थालेका छन् ।
लाँकुरी मञ्चको बर्षौदेखिको पहिचाननै गुम्ने तर लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष भएको नागरिक समाजका संयोजक पदम पाण्डेयले बताए ।
उनले विभिन्न संघसंस्था, संगठन र दलहरुले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए ।
पाण्डेयले आआफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र परेर राज्यको रकम दुरुपयोग गर्न नपाइने बताए ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज श्रेष्ठ हुन् । उनले कोभिड लगायतका कारणले पार्क हस्तान्तरण गर्न नसकिएको बताए । पार्क सञ्चालनको बिषयमा नगरप्रमुख र वडाध्यक्षबिच कुरा बाझिएका छन् ।
नगरप्रमुख डिल्लीराज भुसालले आफुले वडाध्यक्ष भरत भलामी र उपभोक्ता समिति अध्यक्ष नवराज श्रेष्ठ नै पार्क सञ्चालनको बिषयमा गम्भिर नभएको बताए । पार्कका संरचनामा क्षति पुगिरहेको बिषयमा पनि आफुलाई जानकारी भएकाले सञ्चालनमा ल्याउन पाए एक जना नगर प्रहरी खटाउने योजनामा रहेको प्रमुख भुसालले बताए ।
वडाध्यक्ष भरत भलामीले भने आफ्नो कारण पार्क सञ्चालनमा कुनै समस्या नभएको स्पष्ट पारे । आफ्नै वडामा पार्क निर्माण भएकाले चासो दिइरहेको बताउँदै बरु नगरप्रमुख आफैले ध्यान नदिएको जवाफ दिए ।
स्थानीयले सरकारी अड्डा, सदरमुकाम, मिडिया र नागरिक समाजको केन्द्र भएकै स्थानमा पार्कको दुर्दशा यस्तो भएपछि दुरदराजको स्थिति कस्तो होला भनेर कटाक्ष गर्ने गरेका छन् । ‘पार्कमै पनि राजनैतिक रंग भरिएको छ,’ लाँकुरीमञ्चका एक व्यावसायीले भने,‘रेसुंगा नगरमा अहिले बनाउने र गिराउने खेल भइरहेका छन् ।’