लुम्बिनी-कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भईरहेको बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबर्द्धनको लागि स्थानियबासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन्।
सामाजिक दुरी कायम गर्दै लुम्बिनी विकास कोषको सभाहलमा आईतबार आयोजित छलफलमा लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। उक्त छलफलमा सहभागीहरुले कोरोना भाइरसका कारण उत्पन्न संकटले लुम्बिनीमा पारेको असरबारे चिन्ता व्यक्त गरेका छन्।
प्रदेश सांसद फकरुद्दिन खानले स्थानीयको सहकार्य मार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए। उनले लुम्बिनी विकास कोषले स्थानीयलाई पनि साथसाथै लिएर अघि बढ्नुपर्ने बताए।
विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकाष दीर्घकालीन विकासको लक्ष्य सहित अगाडि बढेको बताए। उनले विकासमा स्थानीयको साथ जरुरी रहेको बताए।
लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीयवासी, पर्यटन व्यवसायीसँग लुम्बिनी विकास कोष सधैं सहकार्य गरेर हिड्न तयार भएको बताए।
उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौं । सबैको सहयोग र सहकार्य मार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ।'
छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यले लुम्बिनी विकास कोषले पर्यटन प्रबर्द्धनमा गर्ने हरेक गतिविधिमा स्थानीयले सक्रियतापुर्वक साथ दिने बताए। उनले भने, ‘ईतिहासमै पहिलो पटक स्थानिय बासिन्दा समेत रहेका व्यक्ति कोषको पदाधिकारी र जिम्मेवारीमा हुनुहुन्छ, यस्तो बेला स्थानीयसँग घनिष्ठता बढाएर काम गरेमा विकास कोषको योजना दीर्घकालिन हुन्छ। ”
अग्रज पत्रकार हेम बिस्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला लुम्बिनीमा त्यसको परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताउँदैं कोषको सहकार्य जरुरी रहेको बताए।
लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायीहरु सधैं हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताए।
छलफलमा लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी संघका पिन्टु बानियाँ, उद्योग व्यापार संगठन लुम्बिनीका अध्यक्ष कृष्ण बहादुर गुरुङ, मायादेवी आमा समुहका मन्जु ढकाल, बौद्ध युवा समूह लुम्बिनीका धिरज गुप्ता, सिद्धार्थ होटल संघका एकरामुद्धिन खान, ट्याक्सी व्यवसायी संघका लुम्बिनी अनिल कुमार, सिद्धार्थ माला पसल व्यवसायी समूहका अरबिन्द बानिया, लुम्बिनी रेष्टुरेन्ट व्यवसायी संघका हरि भन्डारीको सहभागिता रहेको थियो ।