काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार मूल्य बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ ।
आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी आज तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ रहेको थियो ।
यसअघि सोमवार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔँस २०४७ डलर हाराहारीमा पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।